दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको इन्धन ट्यांकीमा आगलागी भएपछि आइतबार बिहान विमानस्थलका उडानहरू अस्थायी रूपमा स्थगित गरिएको छ।
दुबई नागरिक उड्डयन प्राधिकरणले यात्रु तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै सावधानीस्वरूप उडान रोकिएको जनाएको छ। दुबई मिडिया कार्यालयका अनुसार ड्रोनसँग सम्बन्धित घटनापछि उक्त आगलागी भएको हो।
विमानस्थलमा उपस्थित एक यात्रु राज धोलाकियाले सीएनएनसँग कुरा गर्दै आफू टोरन्टो जाने उडानका लागि न्युयोर्क हुँदै घर फर्किने तयारीमा रहेका बेला तीन वटा गेट रहेको पूरै तलाबाट यात्रुहरूलाई बाहिर निकालिएको बताए।
उनका अनुसार त्यतिबेला सयौँ यात्रु आराम गरिरहेका, सुतिरहेका वा हिँडिरहेका थिए। “सबैलाई नजिकको सिँढी प्रयोग गरेर तल जान भनियो,” उनले भने।
उनले एस्केलेटरमा अत्यधिक भीड लागेको र लिफ्टसमेत प्रयोग गरिएको बताए। बाहिर बनाइएको जम्मा हुने स्थानमा करिब एक हजार यात्रु भेला भएको अनुमान उनले गरेका छन्।
बस्ने ठाउँ अभाव भएपछि धेरै यात्रु भुइँमै बसेका थिए। उता उडान सूचना बोर्डमा अझै पनि केही उडानहरू ‘गेट क्लोज्ड’, ‘फाइनल कल’ र ‘बोर्डिङ’ अवस्थामा देखिएको उनले बताए। उनका अनुसार केही यात्रुहरू रनवेमा रहेका विमानभित्रै प्रतीक्षामा रहेको हुन सक्ने अनुमान गरिएको छ।
यात्रुहरूलाई आफ्नो उडानसम्बन्धी पछिल्लो जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरिएको छ।
यसैबीच एमिरेट्स एयरलाइन्सले सामाजिक सञ्जाल एक्समार्फत यात्रुहरूलाई तत्काल विमानस्थल नआउन आग्रह गरेको छ। कम्पनीले यात्रु र चालक दलको सुरक्षा नै आफ्नो सबैभन्दा ठूलो प्राथमिकता भएको जनाएको छ।
अधिकारीहरूका अनुसार ड्रोनको ठक्करका कारण लागेको आगो अहिले नियन्त्रणमा आइसकेको छ र घटनामा कुनै पनि व्यक्ति घाइते भएका छैनन्।
केही उडानहरू भने दुबईकै अर्को प्रमुख विमानस्थल अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थल तर्फ मोडिएको जनाइएको छ।
घटनाबारे थप जानकारीका लागि दुबई एयरपोर्ट्ससँग पनि सम्पर्क गरिएको बताइएको छ।