इरान, अमेरिका र इजरायलबीचको युद्ध अब समुद्री क्षेत्रमा समेत फैलिएको छ। तेल बोकेका जहाजहरूमा आक्रमण, ओमानको बन्दरगाहमा आगलागी र हर्मुज जलडमरू नजिक जहाजहरूमा प्रहार भएपछि विश्व ऊर्जा आपूर्तिमा ठूलो जोखिम देखिएको छ।
इरान, अमेरिका र इजरायलबीच जारी युद्धको प्रभाव अब समुद्री मार्गसम्म फैलिएको छ। तेल ढुवानी गर्ने ट्यांकरहरूमा आक्रमण, ओमानको एक बन्दरगाहमा आगलागी र हर्मुज जलडमरू नजिक जहाजहरूमा प्रहार भएपछि विश्व तेल आपूर्तिमा ठूलो असर पर्ने चिन्ता बढेको छ।
इराकी जलक्षेत्रमा रहेका दुई विदेशी तेल ट्यांकरमाथि इरानी आक्रमण भएपछि ती जहाजमा आगलागी भएको छ। उक्त घटनामा कम्तीमा एक जनाको मृत्यु भएको छ भने ३८ जना चालक दलका सदस्यहरूलाई उद्धार गरिएको बताइएको छ।
त्यसैगरी ओमानको एक बन्दरगाहस्थित इन्धन भण्डारण केन्द्रमा ठूलो आगलागी भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोअनुसार इरानी ड्रोनले बन्दरगाहको इन्धन ट्यांकीमा प्रहार गरेको देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसैबीच बहराइनले पनि बिहीबार बिहान देशको उत्तरी क्षेत्रमा रहेका इन्धन ट्यांकीहरू इरानी आक्रमणको निशानामा परेको जनाएको छ।
यता हर्मुज जलडमरू नजिक तीनवटा जहाजमा प्रक्षेप्य प्रहार भएको बेलायतको समुद्री सुरक्षा एजेन्सीले जनाएको छ। विश्वको करिब पाँचौं भाग कच्चा तेल ढुवानी हुने यो जलमार्गमा भएको आक्रमणले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा थप तनाव सिर्जना गरेको छ। साथै संयुक्त अरब इमिरेट्सको तट नजिक रहेको एक कन्टेनर जहाजमा पनि अज्ञात प्रक्षेप्य प्रहार हुँदा जहाजमा सानो आगलागी भएको बताइएको छ।
यसैबीच जी–७ राष्ट्रका प्रतिनिधिहरूले बुधबार बैठक गरी सुरक्षा अवस्था अनुकूल भए जहाजहरूलाई सैन्य सुरक्षा प्रदान गर्ने सम्भावनाबारे छलफल गरेका छन्।
यता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले लडाकु समूह हिज्बुल्लाहसँग मिलेर इजरायलमाथि संयुक्त आक्रमण गरेको जनाएको छ। आईआरजीसीका अनुसार बुधबार पाँच घण्टासम्म चलेको आक्रमणमा इजरायलका ५० भन्दा बढी स्थानलाई निशाना बनाइएको थियो।
त्यसपछि इजरायलले लेबनानभरि हिज्बुल्लाहका संरचनामाथि व्यापक हवाई आक्रमण गरेको जनाएको छ। इजरायली सेनाका अनुसार राजधानी बेरुतसहित विभिन्न स्थानमा रहेका हिज्बुल्लाहका पूर्वाधारहरूलाई लक्ष्य गरी आक्रमण गरिएको हो।
इरानका छिमेकी खाडी राष्ट्रहरूले पनि बिहीबार बिहान इरानी ड्रोन र क्षेप्यास्त्रका नयाँ आक्रमणहरूलाई अवरोध गरेका छन्। संयुक्त अरब इमिरेट्सको व्यापारिक केन्द्र दुबईमा एक ड्रोन खस्दा क्रिक हार्बर नजिकको भवनमा क्षति पुगेको बताइएको छ।
युद्धका कारण विश्व तेल आपूर्ति प्रभावित हुन सक्ने जोखिम बढेपछि अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्य राष्ट्रहरूले बुधबार विश्व बजारमा ४० करोड ब्यारेल आपतकालीन तेल भण्डार छोड्ने निर्णय गरेका छन्। यो इतिहासकै सबैभन्दा ठूलो आपतकालीन तेल भण्डार जारी गर्ने निर्णय मानिएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकाको रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल बजारमा छोड्न अनुमति दिएका छन्, जुन आगामी सातादेखि सुरु हुने बताइएको छ।