परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा पश्चिम एसियामा रहेका ५४ हजार ७ सय ८६ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्। क्षेत्रीय युद्ध तनावका कारण सुरक्षा चिन्ता बढिरहेका बेला नेपालीहरूले दर्ता गराएको विवरणलाई प्राथमिकताका साथ अध्ययन गर्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
कन्सुलर सेवा विभाग का अनुसार पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको अवस्था अद्यावधिक गर्न सुरु गरिएको उक्त अनलाइन प्रणालीमा आइतबार साँझसम्म उक्त संख्यामा नेपालीले विवरण टिपाएका हुन्।
पश्चिम एसियामा हालै बढेको तनाव इरान, इजरायल र संयुक्त राज्य अमेरिका बीचको युद्धका कारण चर्किएको हो। इजरायल–अमेरिकाले इरानमाथि मिसाइल आक्रमण गरेपछि इरानले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य बेस लक्षित गर्दै प्रतिआक्रमण गर्दै आएको छ। यसले गर्दा सो क्षेत्रमा कार्यरत १७ लाख २९ हजारभन्दा बढी नेपालीको सुरक्षा विषयमा चिन्ता बढेको छ।
मन्त्रालयले ती देशमा रहेका नेपालीको सुरक्षा, हित तथा कल्याण सुनिश्चित गर्नका लागि आवश्यक परे उद्धार व्यवस्था मिलाउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार पश्चिम एसियाली मुलुकहरूमा रहेका नेपाली दूतावास तथा महावाणिज्य दूतावासहरू निरन्तर सक्रिय रहँदै समस्यामा परेका नेपालीहरूको उद्धार तथा सहायताका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेका छन्। राहदानी लगायत अत्यावश्यक सेवाका लागि सेवाग्राहीलाई फोन वा इमेलमार्फत समय मिलाएर दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
हवाई उडानहरू पूर्ण रूपमा नियमित नभए पनि केही स्थानबाट सीमित रूपमा सञ्चालन भइरहेका छन्। संयुक्त अरब इमिरेट्स मा फ्लाई दुबई र एयर अरेबियाका सीमित उडान सञ्चालनमा छन् भने दुबई विमानस्थलमा देखिएको अस्थायी अवरोधपछि उडान पुनः सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ। त्यसैगरी साउदी अरेबिया र ओमान तर्फ पनि हवाई सेवा पुनः सञ्चालनमा आएकाले इच्छुक नेपालीले त्यहाँबाट हवाई यात्रा गर्न सक्ने जनाइएको छ।
मन्त्रालयले विषम परिस्थितिमा रहेका नेपालीलाई संयमित, सचेत र सजग रहन आग्रह गर्दै कानून विपरीत हुने किसिमका फोटो, भिडियो वा अडियो सामग्री रेकर्ड गर्ने तथा आदान–प्रदान गर्ने कार्य नगर्न विशेष अनुरोध गरेको छ।
कुनै समस्या परेमा मन्त्रालयको इमरजेन्सी एक्सन रूम वा सम्बन्धित देशस्थित नेपाली नियोगहरूले उपलब्ध गराएका सम्पर्क नम्बर र इमेलमार्फत तुरुन्त सम्पर्क गर्न पनि परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ।