पर्सियन गल्फ क्षेत्रका विभिन्न देशमा आइतबार बिहान फेरि ड्रोन र क्षेप्यास्त्र आक्रमणको नयाँ लहर देखिएको छ। कुवेत, साउदी अरेबिया, बहराइन र संयुक्त अरब इमिरेट्सले आ–आफ्नो क्षेत्रमा भएका आक्रमणहरूलाई रोक्ने प्रयास गरेको बताएका छन्।
कुवेती सेनाका अनुसार आइतबार स्थानीय समय अनुसार बिहान कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन भण्डारण क्षेत्रमा “शत्रुतापूर्ण ड्रोनहरूको लहर” ले आक्रमण गरेको थियो। हवाई प्रतिरक्षा प्रणालीले ती ड्रोनहरूलाई अवरोध गर्दा खसेका छर्रा र भग्नावशेषका कारण केही नागरिक पूर्वाधारमा क्षति पुगेको राज्य सञ्चारमाध्यमले जनाएको छ। सेनाले केही ब्यालिस्टिक क्षेप्यास्त्र पनि अवरोध गरेको बताइएको छ।
सरकारी सञ्चारमाध्यमका अनुसार कुवेतको सार्वजनिक सामाजिक सुरक्षा संस्थाको भवन पनि ड्रोन आक्रमणमा परेको छ। करिब २२ तले उक्त भवनमा आगलागी भएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। यद्यपि घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ।
त्यस्तै आइतबार बिहान कुवेतका दुई सीमा सुरक्षा कर्मचारी “राष्ट्रिय कर्तव्य निर्वाह गर्ने क्रममा” मारिएको राज्य सञ्चारमाध्यमले जनाएको छ। उनीहरूको मृत्यु विमानस्थल र सरकारी भवनमा भएको आक्रमणसँग सम्बन्धित हो वा होइन भन्ने स्पष्ट भएको छैन।
यसैबीच साउदी अरेबियाको रक्षा मन्त्रालयले पनि आइतबार बिहानै ड्रोन आक्रमण भएको जनाएको छ। मन्त्रालयका अनुसार हवाई प्रतिरक्षा प्रणालीले कम्तीमा २१ वटा ड्रोनलाई अवरोध गरेको छ।
बहराइनमा पनि आगलागीको घटना भएको छ। आन्तरिक मन्त्रालयले मिनासलमान बन्दरगाहस्थित एक सुविधामा लागेको आगोलाई “इरानी आक्रमण” को परिणाम भएको आरोप लगाएको छ। आपतकालीन सेवाहरू आगो निभाउने प्रयासमा रहेको बताइएको छ।
संयुक्त अरब इमिरेट्सको राष्ट्रिय आपतकालीन संकट तथा विपद् व्यवस्थापन प्राधिकरणले भने देशको हवाई प्रतिरक्षा प्रणाली “क्षेप्यास्त्रको सम्भावित खतरा” विरुद्ध सक्रिय रहेको जनाएको छ।
यी सबै आक्रमणहरू इरानका राष्ट्रपति मसुद पेजेश्कियनले शनिबार गल्फ राष्ट्रहरूसँग माफी मागेपछि भएका हुन्। उनले पछिल्लो सातादेखि क्षेत्रका अमेरिकी सैन्य अड्डामा गरिएका ड्रोन र क्षेप्यास्त्र आक्रमणबारे क्षमा माग्दै इरानले आफ्ना छिमेकी देशमाथि आक्रमण नगर्ने बताएका थिए।
तर राष्ट्रपति कार्यालयले पछि स्पष्ट पार्दै क्षेत्रीय देशहरूले यदि अमेरिकाको इरानमाथिको सम्भावित आक्रमणमा सहयोग नगरे भने इरानले पनि उनीहरूमाथि आक्रमण नगर्ने अभिव्यक्ति दिएको जनाएको छ।