मध्यपूर्वमा चर्किएको द्वन्द्वका कारण विश्वको झण्डै २० प्रतिशत तेल ओसारपसार हुने होर्मुज जलडमरुअवरुद्ध बन्दा दक्षिण कोरियातर्फ जाँदै गरेका कम्तीमा सात तेल ट्यांकर समुद्रमै अड्किएका छन्, जसले ऊर्जा आपूर्तिमा गम्भीर संकट निम्त्याउने संकेत देखिएको छ।
दक्षिण कोरियाली सांसद किम यङ बेको कार्यालयले बिहीबार सिएनएनसँगको कुराकानीमा लाखौँ ब्यारेल कच्चा तेल बोकेका जहाजहरू जलडमरु क्षेत्र पार गर्न नसकी रोकिएको जानकारी दिएको हो।
सांसद किमले संसद्का सदस्यहरू तथा प्रमुख औद्योगिक समूहहरू सामसङ इलेक्ट्रोनिक्स, ह्युन्डाई मोटर, एलजी, एचडी ह्युन्डाई आयल बैंक, एसके समूह, जीएस क्यालटेक्स र हान्वा ओसनसहितको आकस्मिक बैठकपछि सरकारलाई ऊर्जा सुरक्षाका लागि तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन्।
इरानले होर्मुज जलडमरु हुँदै आवतजावत गर्ने जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएपछि अवस्था थप तनावपूर्ण बनेको छ। उक्त जलडमरु विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिन्छ।
दक्षिण कोरियाको कच्चा तेल आयातको ७० प्रतिशतभन्दा बढी र ग्यास आयातको करिब २० प्रतिशत हिस्सा मध्यपूर्वबाट आउने तथ्याङ्क कोरिया अन्तर्राष्ट्रिय व्यापार संघले सार्वजनिक गरेको छ। आपूर्ति अवरुद्ध भए उद्योग, उत्पादन र समग्र अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने चिन्ता व्यक्त गरिएको छ।
यसैबीच, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउँदै कच्चा तेल तथा ग्यासको आपूर्ति स्थिर राख्न आपत्कालीन उपाय शीघ्र कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
“विश्वमा बढ्दो अनिश्चितताका कारण ऊर्जा आपूर्ति तथा आयात–निर्यातमा अवरोध सिर्जना भई उद्योग र समग्र अर्थतन्त्रमा ठूलो कठिनाइ आउन सक्छ,” राष्ट्रपति लीले बताएका छन्।