मध्यपूर्वमा जारी सैन्य तनाव सोमबार बिहान थप भयावह बनेको छ । इरान समर्थित सशस्त्र समूह हिजबुल्लाह पनि प्रत्यक्ष युद्धमा होमिएपछि संयुक्त अरब इमिरेट्स (UAE), कतार र बहराइन जस्ता खाडी मुलुकहरूमा रातभर विष्फोट र मिसाइल आक्रमणका आवाज सुनिएका छन् ।
मुख्य घटनाक्रमहरू:
खाडीका प्रमुख सहरमा विष्फोट: सोमबार बिहान दुबई, अबु धाबी र दोहाका आकाशमा शक्तिशाली विष्फोटका आवाज सुनिएका छन् । कतारको राजधानी दोहामा मिसाइलहरू आकाशमै विफल पारिएको (इन्टरसेप्ट) दृश्यहरू कैद गरिएका छन् भने दुबईमा जेट विमानको आवाजसँगै शृंखलावद्ध विष्फोट भएका छन् ।
लेबनानमा इजरायली हमला: इजरायली सेनाले लेबनानको राजधानी बेरुतसहित दक्षिणी क्षेत्रमा भीषण हवाई आक्रमण गरेको छ । 'हिजबुल्लाहका वरिष्ठ आतंककारी' लाई निशाना बनाइएको दाबी गर्दै इजरायलले दक्षिण लेबनानका ५२ वटा बस्ती खाली गर्न आदेश दिएको छ । बेरुतको घेबेरी क्षेत्रमा एक भवनमा भीषण आगलागी भएको भिडियो सार्वजनिक भएको छ ।
हिजबुल्लाहको प्रतिशोध: इरानका सर्वोच्च नेताको हत्याको बदला लिन हिजबुल्लाहले इजरायलको हाइफास्थित सैन्य अखडामा 'मिसाइल र ड्रोनको बथान' प्रहार गरेको छ । इजरायली वायुसेनाले केही प्रहार रोकेको दाबी गरे पनि केही मिसाइल खुला क्षेत्रमा खसेका छन् ।
कुवेत र बहराइनमा सतर्कता: कुवेतको हवाई प्रतिरक्षा प्रणालीले समुद्री मार्गबाट आएका 'शत्रुवत ड्रोन' हरूलाई आकाशमै नष्ट गरिदिएको छ । यता बहराइनमा रातभर खतराको साइरन बजाइएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
इरान र साइप्रसको अवस्था: इरानको राजधानी तेहरानमा रातभर विष्फोटका आवाजहरू सुनिइरहेका छन् । उत्तरी तेहरानको एक अस्पतालमा क्षति पुगेपछि बिरामीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । यता भूमध्यसागरीय टापु साइप्रसमा रहेको बेलायती सैन्य आधार शिविरमा पनि ड्रोन आक्रमण भएको र बेलायती रक्षा मन्त्रालयले त्यसको प्रतिकार गरेको छ ।
यो विस्तार हुँदै गएको द्वन्द्वले सम्पूर्ण मध्यपूर्वलाई अस्थिर बनाएको छ र विश्व बजारमा इन्धन तथा उडान सेवामा गम्भीर असर पर्ने देखिएको छ ।