परराष्ट्र मन्त्रालयले हाल मध्यपूर्वका विभिन्न देशमा १७ लाख २९ हजार २८८ नेपाली वैधानिक रूपमा कार्यरत वा बसोबास गरिरहेका छन् भनी जानकारी गराएको छ। मन्त्रालयले तनावग्रस्त मध्यपूर्व क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा उच्च प्राथमिकतामा राख्दै आपतकालीन उद्धारका लागि पूर्वतयारी सुरु गरेको छ।
मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखा प्रमुख एवं सहसचिव रामकाजी खड्काले सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (युएई) मा करिब ७ लाख रहेको बताए। त्यसैगरी, साउदी अरबमा ३ लाख ८४ हजार ८६५, कतारमा ३ लाख ५७ हजार ९१३ र कुवेतमा १ लाख ७५ हजार नेपाली छन्। इराकमा ३० हजार, बहराइनमा २८ हजार, ओमानमा २५ हजार, साइप्रसमा १७ हजार, इजरायलमा करिब ६ हजार ५०० र लेबनानमा १ हजार ५०० नेपाली रहेको मन्त्रालयले जनाएको छ।
इरानमा १० नेपाली रहेका छन्, जसमा ४ जना फर्किने क्रममा रहेको र ६ जना त्यहाँ रहेका छन्। मन्त्रालयले यो तथ्यांक दूतावासबाट प्राप्त वैधानिक नेपालीको मात्र भएको र अवैध रूपमा गएकाहरू समावेश नभएको स्पष्ट पारेको छ।
सरकारले तत्काल सूचना आदानप्रदान र आपतकालीन उद्धार सहज बनाउन मल्टी स्टेकहोल्डर इमर्जेन्सी रेस्क्यु टिम गठन गरेको छ। साथै, नेपालीहरूले आफ्नो विवरण अनलाइन रजिस्ट्रेसन प्लेटफर्म र एपमार्फत भर्न सक्ने व्यवस्था निर्माण भइरहेको छ। चौबिसै घण्टा उपलब्ध हुने हटलाइन सेवा समेत सञ्चालन गरिने तयारी छ।
तनावका कारण हवाई उडान प्रभावित भएका, ट्रान्जिटमा रोकिएका वा भिसा लागेर पनि उड्न नसकेकाहरूको व्यवस्थापनका लागि पर्यटन मन्त्रालय, एयरलाइन्स र वैदेशिक रोजगार व्यवसायीसँग समन्वय भइरहेको छ। सरकारले जोखिमपूर्ण देशमा जान ‘श्रम स्वीकृति’ र ‘एनओसी’ रोक्ने विषयमा पनि छलफल अघि बढाएको छ।
मध्यपूर्वमा तनाव अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानको जवाफी हमलासँगै बढेको हो।