मध्यपूर्वी क्षेत्रमा बढ्दो तनावका कारण नेपालमा पनि अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्। अमेरिकाभर र इसराइल तथा इरानबीचको द्वन्द्वका कारण शनिबार मात्रै नेपालका १८ वटा फ्लाइट रद्द भएका छन् भने करिब ३ हजार यात्रु प्रभावित भएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार, नेपाल एयरलाइन्सका काठमाडौँ–दमाम, काठमाडौँ–दोहा र काठमाडौँ–दुबई उडान रद्द भएका थिए, जसमा करिब ५०० यात्रु थिए।
त्यस्तै, कतार एयरलाइन्सका चारवटा फ्लाइट रद्द हुँदा करिब ८०० यात्रु प्रभावित भए। फ्लाइ दुबईका चारवटा उडान रद्द हुँदा ६०० यात्रु प्रभावित भएको प्राधिकरणले जनाएको छ।
यसैगरी एयर अरबियाको शारजाह जाने दुई उडानमा ३००, हिमालय एयरलाइन्सका दमाम जाने तीन उडानमा ५०० र कुवेत जाने दुई उडानमा ३०० यात्रु प्रभावित भएका छन्। उडान रद्द भएपछि त्रिभुवन विमानस्थलमा यात्रुहरूको भीड देखिएको थियो।
विश्वकै व्यस्तमध्येको मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थल पनि इरानले ड्रोन हमला गरेपछि क्षति भएको छ र अस्थायी रूपमा बन्द रहेको छ। यसका कारण खाडीका विभिन्न मुलुकको विमानस्थल बन्द भएसँगै नेपालमा उडान प्रभावित भएको हो।
भूलले बताएअनुसार, आइतबार पनि कतार, कुवेत, दुबई, शारजाह, आबुधाबी, साउदी अरबको दमाम र रियादका फ्लाइटहरू नचल्ने सम्भावना छ। उनले भने, “यी क्षेत्रका फ्लाइटहरू आज पनि नचल्न सक्छन्। करिब १४ वटा फ्लाइट रद्द हुने सम्भावना छ।”
उनले भने, टर्किस एयरलाइन्सको उडान भने नियमित चल्नेछ र प्रभावित नभएकाले यात्रुहरूले एयरलाइन्ससँग सम्पर्क गर्न सक्ने जानकारी दिएका छन्।