इरान संकटले विश्व हवाई सेवामा पछिल्ला वर्षकै सबैभन्दा ठूलो अवरोध निम्त्याएको छ। इरानमाथि भएको आक्रमण र त्यसको प्रत्युत्तरस्वरूप गरिएको कारबाहीपछि मध्यपूर्वका प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलहरू बन्द गरिँदा विश्व उड्डयन क्षेत्र गम्भीर रूपमा प्रभावित भएको हो।
विश्वकै सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय यात्रु आवागमन केन्द्र मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थल आक्रमणपछि बन्द गरिएको छ। दैनिक एक हजारभन्दा बढी उडान सञ्चालन हुने उक्त विमानस्थल इरानले अरब खाडी राष्ट्रहरूमा गरेको प्रत्याक्रमणका क्रममा क्षतिग्रस्त भएको जनाइएको छ।
यसैगरी,अबु धाबी अन्तर्राष्ट्रिय विमानस्थल र कुवेत अन्तर्राष्ट्रिय विमानस्थल पनि प्रभावित भएका छन्। दुबई, दोहा र अबुधाबी जस्ता क्षेत्रीय हवाई प्रवेशद्वारहरू बन्द गरिएसँगै मध्यपूर्वका धेरै देशहरूले आफ्नो हवाई मार्ग (आकाश क्षेत्र) अस्थायी रूपमा बन्द गरेका छन्।
उडान निगरानी नक्साअनुसार इरान, इराक, कुवेत, इजरायल र बहराइनमाथिको आकाश प्रायः सुनसान देखिएको छ। युरोप र मध्यपूर्वका विभिन्न विमान सेवा कम्पनीहरूले व्यापक रूपमा उडान रद्द तथा मार्ग परिवर्तनको घोषणा गरेका छन्।
दुबई र छिमेकी दोहा पूर्व–पश्चिम हवाई यात्राको मुख्य संगम बिन्दु हुन्, जहाँबाट युरोप र एसियाबीचका लामो दूरीका उडानहरू सञ्चालन हुन्छन्। यी विमानस्थलहरू लामो समयसम्म बन्द रहेमा त्यसको असर केवल खाडी क्षेत्रमा मात्र सीमित नरही विश्वव्यापी हवाई सेवामा पर्ने देखिएको छ। विमान कम्पनीहरूले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने वा सेवा नै रद्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ।