अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बिहान इरानमाथि अमेरिकी कारबाहीको कारण सार्वजनिक गर्दै एक ८ मिनेट लामो भिडिओ सन्देश जारी गरेका छन्। ट्रम्पले सन्देशमा इरानको “निर्दयी र हिंसात्मक” व्यवहारले अमेरिका मात्र नभई विदेशस्थित अमेरिकी आधारहरू र मित्रराष्ट्रहरूलाई प्रत्यक्ष जोखिममा पारेको बताएका छन्।
ट्रम्पका अनुसार, इरानले विगत ४७ वर्षदेखि अमेरिकीलाई मृत्यु भन्ने नारा लगाउँदै आएका छन् र यस अवधिमा धेरै अमेरिकीको हत्या गरिसकेको छ। उनले १९८३ मा बेरुतस्थित मरीन ब्यारेकमा बम विस्फोट, सन् २००० मा यूएसएस कोलमाथिको आक्रमण, र इराकमा सयौं अमेरिकी सैनिकको हत्या इरान समर्थित समूहहरूले गरिसकेको स्मरण गराएका छन्।
उनले इरानले मध्यपूर्वमा आफ्ना आतंकवादी समूहहरूलाई हतियार, तालिम र वित्तीय सहयोग दिँदै आएको उल्लेख गर्दै भने, “लेबनानदेखि यमन र सिरियादेखि इराकसम्म इरानी शासनले पृथ्वीलाई रक्तरञ्जित बनाएको छ।” ट्रम्पले सन् २०२३ को अक्टोबर ७ मा इरान समर्थित हमासको इसराइलमाथि हमला, जसमा ४६ अमेरिकी नागरिकसहित एक हजारभन्दा बढी निर्दोषको मृत्यु भएको, उदाहरणसमेत प्रस्तुत गरेका छन्।
ट्रम्पले स्पष्ट पारे, “इरानले परमाणु हतियार बनाउन पाउँदैन। यदि त्यसो भयो भने कति खतरनाक हुन्थ्यो भन्ने कल्पना गर्नुहोस्।” उनले इरानी क्षेप्यास्त्र उद्योग, नौसेना र आतंकवादी समूहहरूलाई पूर्ण रूपमा ध्वस्त पार्ने अमेरिका प्रतिबद्ध रहेको बताए।
साथै, अमेरिकी सेनाको शक्ति विश्वकै सबैभन्दा उच्च बनाइएको र युद्धका जोखिमका बाबजुद “यो भविष्यको सुरक्षाका लागि गरिरहेको” ट्रम्पले बताए। उनले इरानी सैनिक र प्रहरीलाई हतियार छाड्न आग्रह गर्दै भने, “हतियार छाड्नुभयो भने पूर्ण उन्मुक्ति, नगरे अन्यथा निश्चित मृत्यु।”
अन्तमा ट्रम्पले इरानी जनतालाई घरभित्र सुरक्षित बस्न अनुरोध गर्दै भने, “घरबाहिर ननिस्कनुहोस्, अत्यन्त खतरनाक अवस्था छ। जब हाम्रो कारबाही समाप्त हुन्छ, तपाईंहरूले आफ्नै सरकारको नियन्त्रण लिनुहोस्। अब तपाईंहरूको प्रतिक्रिया के हुन्छ, हेरौं। अमेरिका तपाईंहरूको साथमा छ।”