आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पर्सा क्षेत्र नं. ३ बाट जनमत पार्टीको प्रत्यक्ष उम्मेदवार बनेकी मालती कुशवाहा मधेश आन्दोलनबाट राजनीतिमा उदाएकी एक संघर्षशील महिला नेतृ हुन् । शिक्षक पेशाबाट सामाजिक अभियानतर्फ मोडिएकी उनी हाल नेपाल महिलामैत्री विकासकी अध्यक्षसमेत हुन् । कुशवाहा मधेशको हक, महिला सशक्तीकरण र स्थानीय विकासका मुद्दालाई आफ्नो राजनीतिक एजेण्डाको केन्द्रमा राख्दै आएकी छिन् । पर्सा क्षेत्र नं. ३ को पछौटे विकास, बेरोजगारी, गरिबी र महिलामाथिको सामाजिक–आर्थिक विभेद अन्त्य गर्ने प्रतिबद्धतासहित उनी चुनावी मैदानमा उत्रिएकी छन् । महिलाभत्ता लागू गर्ने, रोजगारी सिर्जना गर्ने, सुकुम्बासीलाई घरजग्गाको व्यवस्था गर्ने र आधारभूत सेवासुविधा सुनिश्चित गर्ने उनको स्पष्ट योजना छ । आफूलाई इमान्दार, निडर र जनताको बीचमै रहने प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै कुशवाहा परिवर्तन र सुशासनको आवाज बनेर मतदातासामु पुगेकी छन् ।
तपाईंले राजनीतिक यात्रा कसरी शुरू भयो ?
मधेश आन्दोलनदेखि राजनीतिक यात्रा शुरू भएको हो । महिलालाई आन्दोलन गर्न निकै गाह्रो छ । मधेशको अधिकार र कुरीति हटाउन वीरगञ्जको मितेरी पुलमा दिनरात बसेर आन्दोलन गरेका छौं । घण्टाघरमा पटकपटक सडक बन्द गरेका छौं । मधेशबाट उठेको कर प्रदेशको हिसाबले खर्च गर्न पाइँदैन । सिधै केन्द्रमा पुग्छ । मधेशलाई बजेट काठमाडौंबाट दिइन्छ । पर्सा क्षेत्र नं. ३ विकासको हिसाबले निकै पछाडि छ । महिला र पुरुष सबै रोजगारी नभएको कारण दिनभर जुवातास खेल्ने, जाँड र रक्सी खाने गर्दछन् । त्यो क्षेत्रका महिलाहरू धेरै पीडित छन् ।
महिलालाई प्रत्यक्ष प्रतिस्पर्धामा टिकट पाउन केकस्ता समस्या छन् ?
पहिला भएको पार्टीमा टिकट पाउन धेरै गाह्रो थियो । झूटो बोलेर आश्वसन दिन्थे । प्रत्यक्ष निर्वाचनमा नजानुस्, समानुपातिकमा टिकट दिन्छौं भन्थे । समानुपातिकमा पनि टिकट दिएनन् । अर्को निर्वाचनमा प्रत्यक्षमा टिकट दिन्छजस्तो लाग्यो । फेरि आश्वासन पाए र निर्वाचनको लागि तयारी गर्दै थिएँ । भोलिपल्ट टिकट वितरण हुने, अघिल्लो दिन टिकट नपाएको जानकारी पाएँ । अरू पार्टीसँग गठबन्धन भएकोले टिकट नपाएको थाहा पाएँ । आफ्ना जाति, नातेदार, छरछिमेकका व्यक्तिलाई मात्र प्रत्यक्ष निर्वाचनमा टिकट दिने गर्छन् । प्रत्यक्षमा कोही महिला लड्न चाहँदैनन् । महिलाहरू आत्मनिर्भर छैनन् । महिलासँग पैसा छैन । घरपरिवारले पैसा दिँदैन । महिलालाई समाजमा जान गाह्रो हुन्छ । पुरुषहरूले त्यति साथ दिँदैनन् । महिलाहरू पुरुषमाथि निर्भर भएकाले पुरुषले जे भन्छ त्यहि मान्नुपर्छ ।
टिकट पाउन पनि खर्च गर्नु पर्छ ?
निर्वाचनमा टिकटको लागि पैसा चाहिन्छ । अन्य धेरै पार्टीले टिकट पैसामा बेचेका छन् । पार्टीहरूले टिकट बिक्री नगर्ने भए भ्रष्टहरूले टिकट पाउने थिएनन् । मलाई जनमत पार्टीले भने एक रुपैयाँ नलिई टिकट दिएको छ । म आफ्नो पार्टीप्रति गर्व गर्छु ।
तपाईंको उम्मेदवारी किन ?
यहाँको जनताको लागि विकास गर्छु । महिलाले महिला भत्ता पाइरहेको छैन । भारतमा सबै महिलाले भत्ता पाउँछन् । त्यस्तै नेपालमा पनि लागू गर्नु पर्छ । म जितेर गएँ भने महिलाभत्ता पास गराएर छाड्छु । महिलाहरू धेरै पीडित छन् । एउटा लगाउने टिका किन्ने पैसा महिलासँग छैन । बच्चालाई चकलेट किन्न पनि श्रीमान र घरपरिवारसँग माग्नु पर्छ । रोजगारी नभएर युवाहरू पीडित छन् । बेरोजगारीले ८० लाख जनता विदेशमा बाध्य छन् ।
महिलाका लागि ठोस योजना के छन् ?
महिलाभत्ता पास गराएर छाड्छु । महिलाहरूलाई जनचेतना कार्यक्रम दिएर आत्मनिर्भर बनाउँछु । महिलालाई रोजगारी दिन्छु । महिलालाई पनि पुरुषसरह सक्षम बनाउनु मेरो योजना हो ।
पर्सा क्षेत्र नं.३ लाई समृद्ध बनाउने एजेण्डा के छन् ?
गास, बास र कपासका लागि काम गर्छु । जनताको भोकलाई व्यवस्थापन गर्न मेरो पहिलो काम जनतालाई रोजगारी दिने हो । दोस्रोमा लत्तकपडा र घरको व्यवस्था गर्छु । गरीब विपन्न वर्गलाई घर बनाउने कुरा रजिस्टरमा बनिसकेको छ । तर, व्यवहारमा बनेको छैन । बनेका घरहरू पनि कमसल खालका बनेका छन् । जनमत सरकार भएमा भने गरीबको घर बन्छ । सुकुम्बासीलाई घर र जग्गाको व्यवस्था गर्छांै ।
तपाईंलाई भोट किन ?
मालती कुशहवा जनताको माँझमा बसेको महिला हो । २४ घण्टामा जुनसुकै समयमा मलाई जनताहरूले सम्झिन्छ भने म जान सक्छु । म कसैमाथि निर्भर छैन । परिवारले नजान भने पनि म जनताको सेवामा जान्छु । मेरो जीवन जनताप्रति समर्पित छु । जनताको लागि ज्यान दिन पनि तयार छु । मेरो पार्टीले कुनै दाग लगाउने कार्य गरेको छैन । मेरो पार्टी अध्यक्षले न भ्रष्टचार गरेको छ, न म भ्रष्टचार गरेको छु । मधेश र देशको लागि आवाज उठाउने र भ्रष्टचारको अन्त्य गर्ने काम जनमत पार्टी नै हो । नेकपा एमाले, कांग्रेस, रास्वपा, नेपाली कम्युनिष्ट पार्टीका पनि उम्मेदवासँग प्रतिस्पर्धा छ । मैदानमा प्रतिस्पर्धा गर्दा लाग्छ । मसँग प्रतिस्पर्धी कोही पनि छैनन् । म इमान्दार, समाजसेवी र जनताको बीचमा बस्ने भएर सबैले रुचाउँछन् । क्षेत्र नं. ३ मा एउटा बस चल्छ । मैले चुनावमा जितँे भने बसमा महिला र १८ वर्षसम्मका बालबालिकाहरूले भाडा तिर्नु पर्दैन । विद्यालय जान सुविधा हुन्छ । कर असुल्नका लागि सरकारले महानगरपालिका र नगरपालिका बनाएको छ । तर, सुविधा भने गाउँपालिकाको जत्तिको पनि छैन । मैले जितेँ भने सबै सुविधाहरू जनतालाई दिने काम गर्छु ।
तपाईंले जित्ने आधार के हो ?
महिला सुत्केरी बेथा लाग्दा बाटो नभएको कारण बाटोमा नै मर्न सक्छ । बिरामी अस्पताल लैजाने एम्बुलेन्स छैन । कुनै घरमा आगलागी भएमा वीरगञ्जबाट दमकल बोलाउनु पर्छ । पुरुष उम्मेदवारले आजसम्म नगरेका काम मैले गर्ने अठोट गरेको छु । म महिला उम्मेदवार भए पनि ३ नं. क्षेत्रको विकास र जनताको हितमा काम गर्ने विश्वास र प्रतिबद्धताको कारण मेरो जित पक्का छ ।