नेपालमा प्रत्येक वर्ष फागुन ७ गते मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस केवल एक औपचारिकतामात्र होइन, यो इतिहासको गर्भबाट आएको चेतनाको पुकार हो । नेपालले १०४ वर्ष लामो जहानियाँ राणाशासनको अन्त्य गर्दै वि.सं. २००७ सालमा प्रजातन्त्रको बिहानी देख्यो । त्यो परिवर्तन सहज थिएन, त्यसका पछाडि अनगिन्ती त्याग, बलिदान, जेल जीवन, निर्वासन र जनआन्दोलनका आँधीबेहरीहरू जोडिए । समयको चक्र घुम्दै जाँदा २०४६ सालको जनआन्दोलन, २०६२÷०६३ को ऐतिहासिक आन्दोलन र त्यसपछिको संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा शासन व्यवस्थाका रूप फेरिए, संविधानहरू बने, संशोधन भए र राज्य संरचनाले नयाँ आकार लियो । तर मूल प्रश्न अझै उही छ–के हामीले प्रजातन्त्रको मर्मलाई आत्मसात् गरेका छौं त ? आजको पुस्ता, विशेषगरी जेन–जी भनेर चिनिने युवावर्ग, इतिहासका ती पानाहरू प्रत्यक्ष अनुभव नगरेको पुस्ता हो । उनीहरूले राणाशासन देखेका छैनन्, पञ्चायती व्यवस्था भोगेका छैनन्, न त २०४६ वा २०६२÷०६३ का सडक संघर्षहरूमा भाग लिएका छन् । उनीहरूको प्रजातन्त्रबोध किताब, सामाजिक सञ्जाल, भाषण र समसामयिक असन्तोषका आवाजहरूबाट निर्मित हुँदै आएको छ । त्यसैले प्रजातन्त्र दिवस मनाइरहँदा केवल झण्डोत्तोलन र औपचारिक कार्यक्रमले मात्र यसको सार्थकता प्रमाणित गर्न सक्दैन; यसको अर्थ नयाँ पुस्ताले बुझ्नुपर्ने ऐतिहासिक जिम्मेवारीसँग जोडिएको छ ।
प्रजातन्त्रको आधारभूत परिभाषा सरल छ–जनताका लागि जनताबाट सञ्चालन हुने शासन व्यवस्था । तर, व्यवहारमा यो त्यति सरल छैन । लोकतन्त्र केवल निर्वाचनमा सीमित हुँदैन; यो पारदर्शिता, उत्तरदायित्व, विधिको शासन, समान अवसर, सामाजिक न्याय र सामूहिक सहभागिताको समग्र प्रणाली हो । यदि जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुँदैनन्, यदि राज्य संयन्त्रले नागरिकलाई समान अवसर दिन सक्दैन र युवाले आफ्नै देशमा भविष्य देख्न सक्दैनन् भने प्रजातन्त्रको बाह्य संरचना भए पनि यसको आत्मा कमजोर हुन थाल्छ । नेपालको राजनीतिक यात्रामा पटकपटक आशा र निराशाका लहरहरू देखिएका छन् । संविधान निर्माणको प्रक्रियामा ठूलो लगानी भयो, आन्दोलनहरूले शासन व्यवस्थालाई नयाँ रूप दिए, तर अपेक्षाअनुसार सुशासन र स्थायित्वको अनुभूति धेरै नागरिकले गर्न सकेका छैनन् । रोजगारीको अभाव, अवसरमा असमानता, क्षमताअनुसार काम नपाउने अवस्था, युवाहरूको विदेश पलायन र नेतृत्वप्रति बढ्दो अविश्वासजस्ता चुनौतीहरू प्रजातन्त्रको गुणस्तर मापन गर्ने संकेतकहरू बनेका छन् । यसलाई केवल असफलताको कथा बनाइरहनु पनि न्यायोचित हुँदैन । प्रजातन्त्रकै कारण आज नागरिकले बोल्न, लेख्न, संगठित हुन, विरोध गर्न र आफ्ना प्रतिनिधि छान्न पाउने अधिकार उपभोग गरिरहेका छन् । स्थानीय तहदेखि संघीय संसदसम्म जननिर्वाचित प्रतिनिधिहरू छन् । महिलाहरू, दलित समुदाय, सीमान्तकृत वर्ग र युवाहरूको सहभागिता अघिल्लो व्यवस्थाभन्दा बढेको छ । सूचना प्रविधि र सामाजिक सञ्जालले नागरिकलाई सशक्त बनाएको छ । यी उपलब्धिहरूलाई नजरअन्दाज गरेर प्रजातन्त्रको मूल्यांकन पूर्ण हुन सक्दैन । यही सन्दर्भमा नयाँ पुस्ताले प्रजातन्त्र दिवसलाई केवल ऐतिहासिक स्मरणका रूपमा होइन, आत्ममूल्यांकन र भविष्यको संकल्पका रूपमा लिन आवश्यक छ । प्रजातन्त्र केवल प्राप्त अधिकारको उपभोग होइन; यो जिम्मेवारीको अभ्यास पनि हो । मतदान गर्नु, सही उम्मेदवार छनोट गर्नु, नीतिगत बहसमा भाग लिनु, सामाजिक सद्भाव जोगाउनु र गलत प्रवृत्तिको विरोध गर्नु सबै प्रजातान्त्रिक संस्कारका हिस्सा हुन् । यदि युवाहरू राजनीतिबाट विमुख हुन्छन् भने निर्णय प्रक्रियामा अरूको वर्चस्व बढ्छ । युवाहरू सक्रिय, सचेत र नैतिक प्रतिबद्धतासहित अघि बढ्छन् भने शासन प्रणालीमा सकारात्मक रूपान्तरण सम्भव हुन्छ ।
इतिहासको बलिदानलाई सम्झिँदै वर्तमानका कमजोरीहरू स्वीकार गर्ने र भविष्यका सम्भावनाहरूलाई विश्वासका साथ अंगाल्नु पर्दछ । प्रजातन्त्र कुनै जादुको सूत्र होइन जसले स्वतः विकास र समृद्धि ल्याउँछ । यो एउटा प्रक्रिया हो, जसलाई निरन्तर सुधार, संवाद र सहभागिताले सुदृढ बनाइन्छ । नेतृत्वप्रति आलोचना गर्न पाइन्छ, तर विकल्पको खोजी र सुधारको प्रयास पनि समानान्तर रूपमा हुनु पर्छ । निराशा र आक्रोशलाई सकारात्मक ऊर्जा र रचनात्मक सहभागितामा रूपान्तरण गर्न सकियो भनेमात्र प्रजातन्त्र दिवसको उत्सव अर्थपूर्ण हुन्छ । प्रजातन्त्र नयाँ पुस्ताका लागि प्राप्त विरासत हो । तर, यसको संरक्षण र परिमार्जन भावी जिम्मेवारी हो । विगतका संघर्षहरूको सम्मान गर्दै वर्तमानका चुनौतीहरूलाई पहिचान र भविष्यप्रति आशावादी दृष्टिकोणसहित अघि बढ्नु साँचो प्रजातान्त्रिक चेतना हो । जब युवा पुस्ताले अधिकारसँगै कर्तव्यलाई पनि आत्मसात् गर्छ, तबमात्र प्रजातन्त्रको मर्म जीवित रहन्छ र राष्ट्रले स्थायित्व, सुशासन र समृद्धितर्फको यात्रा तय गर्न सक्छ । प्रस्तुत छ, मध्य नेपालले यसबारेमा सरोकारका पक्षसित गरेको कुराकानी:
कमलमोहन पोखरेल (पूृर्वअध्यक्ष)
पर्सा जिल्ला अदालत बार एशोसियसनसामूहिकताको सवालमा कमजोर लोकतन्त्र
मुलुकमा राणाशासनको विरुद्धमा नागरिकहरूले आन्दोलन गरेर राणाशासनलाई फालेको दिनलाई सबै नागरिकले सम्झिरहन्छौं । २००७ सालमा प्रजातन्त्र स्थापना भएदेखि लामो कालखण्ड आन्दोलन र आरोहअवरोह पार गर्दै आएका छौं । भदौं २३ र २४ गते जेनजीहरूको अगुवाइमा आन्दोलन भएपछि देश नयाँ दिशातर्फ अगाडि बढ्दै छ । फागुन २१ गते निर्वाचन हुन गइरहेको छ । युवाहरूले चुनावमार्फत् नेपाललाई विकासको मूल प्रवाहीकरणतर्फ लान सकिन्छ । विकास र शासन प्रणालीमा युवाहरूको सार्थक सहभागिता हुन्छ भन्ने सबै युवाहरूले अपेक्षा राखेका छन् । अहिले चुनावप्रति युवाहरू आकर्षित भएको पाइन्छ । विभिन्न राजनीतिक दलहरूमा नयाँ व्यक्तिहरू निर्वाचनमा आइरहेका छन् । निर्वाचनप्रति युवाहरूको छुट्टै जोश र जागर देखिन्छ ।
लोकतन्त्र सामूहिक सहभागिताको सवालमा कमजोर छ । राम्राभन्दा हाम्रा भन्ने समाजमा व्याप्त छ । मूलूकमा रोजगारीको अवस्था छैन । विकासको दृष्टिकोणले पछाडि छ । नेपालमा केही पनि छैन । रोजगारीको लागि सबै विदेशिनु पर्छ भन्ने भाष्य छ । त्यो विषयलाई निर्वाचनबाट चिर्न सकिन्छ । युवाहरूले यही देशमा नै केही गर्न सकिन्छ । देशभित्र नै धेरै अवसरहरू छन् । अवसरहरूलाई खोज्नु र समेट्नु पर्छ । मुलूकभित्र बसेर नै नेपालको विकास गर्नुपर्छ भन्ने आमयुवाहरूको भावना र चाहना देखिन्छ । वास्तावमा निर्वाचनबाट नै नेपालले अब नयाँ सरकार पाउनेछ । युवाहरूको चाहना अब बन्ने सरकारले सम्बोधन गर्दै जानेछ । नेपालका सुनौला दिनहरू आउने छन् । पछिल्लो समयमा युवाहरूमा नैराश्यता प्रकट भएर भदौंको २३ र २४ मार्फत् आयो । अहिले युवाहरूको सहभागिता र विकासप्रति भोक देखिन्छ । निर्वाचनमार्फत् अभिव्यक्त हुने चरणमा छ । नेपालमा केही हुदैँनभएको भने पनि होइन । २०६२÷०६३ को आन्दोलनपछि विकासका प्रक्रियाहरू अगाडि बढिरहेका छन् । अब युवाहरूले आफ्नै देशमा बसेर अवसरहरूको खोजी गर्ने, अवसरहरूमा समान सहभागिता हुनुपर्ने, क्षमताअनुसारको अवसर उपभोग सबैले गर्न पाउने परिपाटीको विकास होस् भन्ने सबै युवाको चाहना हो ।
ओमप्रकाश खनाल
अध्यक्ष, नेपाल पत्रकार महासंघ, पर्सानेतृत्वप्रति आशावादी हुनुको विकल्प छैन
बिस २००७ फागुन ७ गते नेपालबाट जहानियाँ राणा शासन अन्त्य भयो र प्रजातान्त्रिक शासन व्यवस्था लागू भयो । सार्वभौम अधिकार शासकको हातबाट जनताको हातमा आयो । त्यही ऐतिहासिक दिनको स्मरणमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन थालिएको हो । आजपर्यन्त यो दिवस मनाउँदै आएका छौं । तर, यो दिवस मनाउनुको सार्थकता सावित भएको छ कि छैन भन्ने प्रश्न आज पनि उत्तिकै पेचिलो छ । २००७ सालमा प्रजातन्त्र आएको दशकमै निर्दलीय पञ्चायती व्यवस्था लागू भयो, प्रजातन्त्र खोसियो । पञ्चायती व्यवस्थाले पनि प्रजातन्त्र भन्न छोडेन । जनताद्वारा जनता शासित हुने व्यवस्था नै प्रजातन्त्र हो । तर, जनताको नाममा शासकको स्वेच्छाचारी हाबी भयो । ३० वर्षपछि २०४६ सालमा जनआन्दोलनले पञ्चायती व्यवस्था अन्त्य गरी बहुदलीय व्यवस्था ल्यायो । त्यसयता २०६२÷६३ को आन्दोलनपछि राजतन्त्र अन्त्य भयो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो । शासन व्यवस्थाका शब्दावली फेरिँदैमा नागरिकका अपेक्षाले पूर्णता पाउँछन् भन्ने होइन । संघीय लोकतान्त्रिक गणतन्त्रजस्तो सर्वोत्कृष्ट शासन व्यवस्थाले पनि नागरिकलाई सुशासन र विधिको शासनको प्रत्याभूति दिलाउन सकेन । नागरिकमा नेतृत्वप्रति भुसको आगोझै फैलिएको असन्तोषले फेरि आन्दोलनको रुप लियो । आन्दोलनको नेतृत्व यस पटक राजनीतिक दलले होइन, देशका जेन–जी युवाले गरे । अहिले देश चुनावको महोलमा छ । तर, यो चुनाव विगतमा हुने गरेका मध्यावधी चुनावभन्दा फरक होइनन् भन्ने ग्यारेन्टीको आधार देखिएको छैन । तर, समस्याको निकासका लागि राजनीतिक नेतृत्वप्रति आशावादी हुनुको विकल्प छैन । युवा आन्दोलनको उद्देश्यको व्यवस्थापन पनि राजनीतिक प्रक्रियाबाटै हुने हो । संवैधानिक प्रक्रियाबाटै निकास निकालिनु पर्दछ । त्यही प्रक्रियाअन्तर्गत अहिले चुनाव भइरहेको छ । अतः कुनै पनि शासकीय प्रणाली आफैंमा साध्य होइन, साधनमात्रै हो । यसलाई कसरी जनहितमा बढीभन्दा बढी प्रयोग गर्न सकिन्छ भन्ने मूल अभिप्राय हुनु पर्दछ । आज युवाले उठाएको सुशासन र राजनीतिक स्थायित्वको मुद्दा सम्बोधनका लागि राजनीतिक इमानदारी अपनाउन सकियो भने प्रजातन्त्र दिवस मनाउनुको सापेक्ष सार्थकता हुन्छ ।
रामनारायण कुर्मी (अध्यक्ष)
पर्सा जिल्ला अदालत बार एशोसियसनजनताका लागि जनताबाटै गरिने शासन
प्रजातन्त्र जनताको लागि जनताबाट सञ्चालन गरिने शासन हो । नेपालमा २००७ सालदेखि २०७२ सम्म आउँदा सातौं संविधानबाट शासित भइरहेका छौं । २००४, २००७, २०१५, २०१९, २०४६ साल र विभिन्न कालखण्डमा संविधान संशोधन हुँदै गएको छ । सबै समयमा सर्वोकृष्ट संविधान भनियो । सबैले प्रजातन्त्रका हिमायती हौं भनेर मान्दै गए । सत्तामा पुगेपछि नेताहरूले प्रजातन्त्रको मूल मर्म नै बिर्सिँदा रहेछन् । जसका कारण प्रजातन्त्रको परिभाषा कागज र भाषणमा मात्र सीमित छ । कार्यान्वयन र व्यवहारमा आउँदा परिपालन गरेको अवस्था छैन । जनताको लागि जनताबाट चुनेको सरकारले सत्ता चलाउनु प्रजातन्त्र हो । जनताको सर्वोच्चता सबैले मान्नु पर्छ । प्रजातन्त्रको मूल ध्येय र मर्म पनि यही हो । निर्वाचनमा झनै नेताका बोली र अगाडि पनि सत्तामा बसेका कुनै पनि पार्टीहरूबाट संविधानको आआफ्नो किसिमले व्याख्या भयो । त्यो व्याख्याले युवावर्गमा नकारात्मक प्रभाव पर्दै गएको छ । नेताहरूप्रति वितृष्णा जाग्ने किसिमको माहोलको सिर्जना भएको छ ।
प्रतिमा चौरसिया (अधिवक्ता)नागरिकले प्रजातन्त्र बुझ्न आवश्यक छ
१०४ वर्षको जहानियाँ राणाशासनलाई अन्त्य गरेर प्रजातन्त्र ल्याएको हो । जनताले राम्रोसँग सुखसुविधा पाउन प्रजातन्त्र ल्याएको हो । प्रजातन्त्र आएपश्चात पनि जनताले वास्तावमा राम्रोसँग सुविधा पाउन सकेका छैनन् । धेरै युवाहरूले पनि प्रजातन्त्रको अर्थ बुझ्न सकेका छैनन् । प्रजातन्त्र भनेको जनताको शासन हो । जनताको इच्छाले रोजेको नेताले काम गर्न सकोस् । संविधान बनाउन २÷२ पटक संविधानसभाको चुनाव भएको देखिन्छ । संविधान बनाउन संविधानसभाको चुनावमा लगानी भयो । चुनावमा लगानी गरेको रकम जनताको विकासमा लगाएको भए धेरै राम्रो हुने थियो । नेपाल प्राकृतिक सम्पदाले भरिएको देश हो । तर, हामी विदेशिनुपर्ने अवस्था छ । प्रकृतिमा भएका स्रोतहरूलाई निकालेर व्यावसायिक रुपमा प्रयोग गर्न सकेमा जनता राम्रोसँग रोजगार हुने अवस्था देखिन्छ । युवाहरू विदेशिँदा परिवार पनि विखण्डन भएका घटनाहरू थुप्रैैं छन् । सामाजिक सञ्जालमा खुशी भएर रमाएका छौं । सामाजिक सञ्जालले कतिसम्म सकारात्मक र नकारात्मक असर पु¥याएको छ बुझ्न सकेको छैन । आफ्नो देशलाई आफै बनाउनुपर्ने छ । प्रत्येक नागरिकले प्रजातन्त्र भनेको के हो भन्ने बुझ्न आवश्यक छ । कुन पार्टीले के काम गरिदिए राम्रो हुन्छ ? कुन पार्टीमा स्वच्छ व्यक्ति भएका उम्मेदवार छन् ? जितेर गएका पुराना उम्मेदवारले के गरे ? नयाँ आउनेले के गर्छन् ? उनीहरूको मुख्य एजेण्डा के हो ? यस्ता कुरामा ध्यान दिइएन भने देश खतराको संघारमा उभिन्छ । प्रजातन्त्रलाई नै सखाप पार्ने अवस्था देखिएको छ ।
डिल्लीबिक्रम कार्की (अध्यक्ष)
वीरगञ्ज बचत तथा ऋण सहकारी संस्था लि.नयाँ पुस्तालाई बुझाउन जरुरी छ
नेपाली जनता र नेपालको राजा मिलेर २००७ सालमा ल्याएको प्रजातन्त्रले आजको स्थितिसम्म आइसकेको छौं । राजा र प्रजाको संयुक्त प्रयासबाट राणाहरू १०४ वर्षको जहानियाँ शासनबाट उन्मुक्ति मिलेको हो । नेपालीहरूलाई स्वतन्त्र र स्वाभिमानी भएर विश्वसामु प्रजातान्त्रिक मुलुकमा पहिचान दिलाउन राजाको भूमिका रहेको छ । हामी नेपालीले बुझ्न सकेका छैनौं । युवाहरू झनै लहैलहैमा हिँडिरहेका छन् । युवाहरूले वास्ताविकता के हो बुझ्न चाहँदैनन् र बुझिरहेका छैनन् । हामी अग्रजहरूले नयाँ पुस्तालाई बुझाउन जरुरी छ । प्रजातन्त्र कसरी प्राप्त भयो ? देश कसरी सिर्जना भयो ? देशमा प्रजातन्त्र स्थापना भएर विश्वको मानचित्रमा नेपाल भनेर चिनाउने अहम् भूमिका कसले निर्वाह ग¥यो । यस्ता विषयहरूको अध्ययन गरेर हेर्नु पर्छ । लहैलहैमा आएका र अन्यत्रबाट परिचालित भएका व्यक्तिहरूले अनेक भ्रम फैलाएर प्रजातन्त्रको विषयमा केही पनि बोल्न सक्दैनन् । नेपालीहरू यस्ता विषयहरू पछ्याइरहेका छौं । खराब दिशातर्फ उन्मुख भइरहेका छौं । विदेशीहरूको चरम हस्तक्षेपमा देश गइरहेको छ । यस्तै अवस्था रहने हो भने देश रहन पनि मुश्किल छ ।
उत्तमा प्याकुरेल (सदस्य)
नेपाली कांग्रेस, पर्साप्रजातन्त्रको मर्मलाई बुझ्न जरुरी छ
अहिलेको जेन–जी युवाहरूले प्रजातन्त्रको मर्मलाई बुझ्न जरुरी छ । राणाशासनको अन्त्य गरी प्रजातन्त्र ल्याउन पहिला नेता र जनताहरूले धेरै बलिदान दिएका छन् । धेरै जनाले ज्यान गुमाएका छन् । धेरै जनाले जेल जीवन बिताएका छन् । प्रजातन्त्र भनेको प्रजाहरूले आफ्नो मन, विचारमा भएका कुरा गर्न पाउने, हकअधिकार पाउन राणाशासनलाई फालेर बीपी कोइराला, मनमोहन अधिकारीजस्ता ठूलाठूला नेताहरू मिलेर ल्याएको प्रजातन्त्र हो । प्रजातन्त्र हामी जनताको हितको लागि हो भन्ने कुरा नयाँ पुस्ताले बुझ्नु पर्छ । प्रजातन्त्र आएको खुशीयालीमा हरेक वर्ष प्रजातन्त्र मनाइन्छ । देशमा प्रजातन्त्रको उदयपछि नेपाली जनताका छोराछोरीहरूले पढ्ने, बोल्ने र राजनीतिमा भाग लिने अवसर पाएका हुन् । नेपाली जनताले पाएको स्वतन्त्रताको अवसरलाई नयाँ पुस्ताले पनि सही सदुपयोग गर्नुपर्छ । नयाँ पुस्ताले प्रजातन्त्रको मर्म बुझेर संरक्षण र निरन्तरता दिनु पर्छ ।
निला राम (अध्यक्ष)
दलित महिला संघ, पर्साप्रजातन्त्र संकटमा पर्न सक्छ
पहिला जहानियाँ राणा शासन थियो । जनताले आफ्नो हकअधिकारको बारेमा बोल्न पाउँदैनथे । देशमा प्रजातन्त्रको उदयपछि जनताले पढ्ने र बोल्ने स्वतन्त्रताको अधिकार पाएका छन् । भने अहिले जनताले नै स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकार चलाइरहेका छन् । जनताले स्वतन्त्र रुपमा आफ्ना विचारहरू राख्न पाएका छन् । विकासका कुराहरू गर्न पाएका छन् । आजका युवा नै भोलिका देश निर्माणकर्ता पनि हुन् । उनीहरूले नै प्रजातन्त्रको मर्मलाई बुझ्न आवश्यक छ । प्रजातन्त्रको कारण जनताको हातमा अधिकार, शासन र सत्ता आइपुगेको छ । अहिलेका युवाले प्रजातन्त्रको मर्मलाई बुझ्नु जरुरी छ । प्रजातन्त्रको मूल मन्त्रलाई नबुझ्ने हो भने प्रजातन्त्र नै संकटमा पर्न सक्छ । नयाँ पुस्ताले प्रजातन्त्रलाई आत्मसाथ गर्दै अगाडि बढ्नु पर्छ ।
जुली कर्ण (अधिवक्ता) युवालाई क्षमता देखाउने अवसर दिनु पर्छ
अग्रजहरूले धेरै संघर्ष गरेर प्रजातन्त्र ल्याएका छन् । युवा पुस्ताहरूलाई पहिला गरेको बलिदान र त्यागको बारेमा जानकारी छैन । प्रजातन्त्रपश्चात पनि धेरै आन्दोलनहरू भएका छन् । यो मर्म युवा पुस्ताले बुझ्न सक्दैनन् । प्रजातन्त्र २००७ सालको इतिहासमा पढ्न पाएका छौं । २००७ सालपछि पनि धेरै आन्दोलन भए । धेरै आमाको कोख रित्तिएको थियो । धैरैले बलिदान दिएका छन् । युवा पुस्ताले प्रजातन्त्र ल्याउँदाको संघर्ष र बलिदानलाई देखेका छैनन् । प्रजातन्त्रमा पनि पद पाएका जनप्रतिनिधिहरूले जनताका लागि केही गरेका छैनन् । संघर्ष गरेर ल्याएको प्रजातन्त्रलाई सकारात्मक बाटोतर्फ लैजानु पथ्र्यो । नेताहरूले प्रजातन्त्रको सही सदुपयोग गर्न सकेनन् । अहिले पनि पढेर जागिर पाइरहेको छैन । क्षमताअनुसारको काम देशमा काम पाउन सकेको छैन । श्रमअनुसारको पारिश्रमिक राज्यबाट पाउन सकिएको छैन । भने नेपालमा किन बस्ने भन्ने सोच युवामा बढेको छ । रोजगारको लागि युवा पुस्ताहरू विदेश पलायन हुनु परेको छ । भोलिका दिनमा हाम्रा छोराछोरीहरू सबै विदेश पलायन हुने हो भने भोलिको हाम्रो देशको भविष्य के होला त ? जुन व्यक्ति तथा दलहरू राजनीतिमा लाग्नुभयो, सबै आफ्नै फाईदा र सुख सुविधाको लागि गए । अग्रजहरूले गर्न नसकेको काम अब युवा पुस्ताले गर्नु पर्छ । युवाहरूले अब अवसर पाउनु पर्छ । हामी युवाहरूले नयाँ नेपालको निर्माण गर्छाैं । प्रजातन्त्रको मर्म युवाहरूले पनि बुझ्न सक्छन् । जब उनीहरूले गरेको मेहनतबाट प्रजातन्त्र अवश्य बुझ्नेछन् । पुरानो अनुहारमात्र होइन, अव नयाँ अनुहार आउनु पर्छ । युवाहरूलाई पनि अग्रजहरूले क्षमता देखाउने अवसर दिनु पर्छ ।