वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रभित्र रहेका सबै प्रकारका रोजगारदाताहरूलाई अनिवार्य रूपमा सूचीकृत हुन आग्रह गरेको छ। महानगरपालिकाको रोजगार सेवा केन्द्रले सूचना जारी गर्दै आगामी चैत २४ गतेभित्र रोजगारदाताको सूचीमा दर्ता तथा अद्यावधिक गरिसक्न अनुरोध गरेको हो।
महानगरपालिकाका अनुसार रोजगारको हक सम्बन्धी ऐन, २०७५ को दफा १३, सोही ऐनको नियमावली २०७५ को नियम ९ तथा एकीकृत श्रम तथा रोजगार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८० को दफा ६ बमोजिम उक्त प्रक्रिया अघि बढाइएको हो।
सूचनाअनुसार सरकारी कार्यालय तथा निकाय, गैरसरकारी संस्था, सहकारी संस्था, निजी क्षेत्रका उद्योग–प्रतिष्ठान तथा संगठित संस्था र निजी स्तरमा रोजगारीका अवसर उपलब्ध गराउने व्यक्तिहरूले तोकिएको ढाँचामा आफ्नो विवरण पेश गर्नुपर्नेछ।
महानगरपालिकाले योग्य रोजगारदाताहरूलाई आवश्यक विवरणसहित तोकिएको समयसीमाभित्र रोजगार सेवा केन्द्रमा दर्ता हुन आग्रह गरेको छ। तोकिएको म्यादभित्र दर्ता नभएमा सेवामा असहजता आउन सक्ने समेत जनाएको छ।
थप जानकारीका लागि रोजगार सेवा केन्द्रका प्रतिनिधि सुरजकुमार गुप्तासँग ९८४५२५८६३९ मा सम्पर्क गर्न सकिने महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णद्वारा जारी सूचनामा उल्लेख छ।
रोजगारको हक सम्बन्धी ऐनअनुसार बेरोजगार व्यक्तिलाई रोजगारी उपलब्ध गराउने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सार्वजनिक संस्थान, उद्योग तथा निजी क्षेत्रका अवसर प्रदायकहरू सबैलाई ‘रोजगारदाता’को परिभाषाभित्र समेटिएको छ।
