पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति तथा राज्य सञ्चालनमा युवापुस्ताको बढ्दो सहभागितालाई सकारात्मक र उत्साहजनक बताएका छन्।
नयाँ वर्ष २०८३ को अवसरमा सोमबार जारी गरेको शुभकामना सन्देशमा उनले शिक्षित, देशको अवस्था बुझेका र आधुनिक प्रविधिमा दक्ष युवाहरूको आगमनले राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
उनले भने, “राजनीति र राज्य सञ्चालनका गतिविधिमा युवापुस्ताको संलग्नता बढ्दै जानु उत्साहको विषय हो। पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही युवाहरूको सहभागिताले राष्ट्रलाई फलदायी दिशातर्फ अगाडि बढाउन मद्दत पुग्नेछ भन्ने हाम्रो विश्वास छ।”
यसै क्रममा उनले पछिल्ला केही वर्षमा देशको विकास अपेक्षाअनुसार हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन्।
उनले भने, “विगतका केही वर्षमा अपेक्षित विकास हुन नसकेको र देश झन् पछाडि गएको भन्ने आम नेपालीको भावना रहेको छ। राजनीति, राज्य प्रणाली र शासन प्रशासनमा धेरै परिवर्तन भए पनि ती परिवर्तनहरू केवल औपचारिक मात्रै बने।”
पूर्वराजा ज्ञानेन्द्र शाहले थपे, “हामी निरन्तर प्रयोग, अभ्यास र विकल्पको खोजीमै अल्झियौं। फलस्वरूप हाम्रो देश प्रयोगशालाजस्तै बनेको छ, तर राष्ट्रको समृद्धिमा हामी पछि परेका छौं।”