डा.उदयनारायण सिंह (सूचना अधिकारी)
नारायणी अस्पताल, वीरगञ्जगरीब मुलुकमा हजारौं संक्रमित
अहिले पनि क्षयरोग ठूलो सरुवा रोगको रूपमा देखा परेको छ र विशेष गरी गरीब मुलुकहरूमा हजारौं मानिस संक्रमित भइरहेका छन् । नेपाल पनि क्षयरोगबाट अछुतो छैन र नयाँ संक्रमितहरूको संख्या निरन्तर बढ्दै गएको छ । यस रोग नियन्त्रण र उन्मूलनका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य संगठन, विभिन्न देशका सरकारहरू, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र राष्ट्रिय क्षयरोग केन्द्रले सक्रिय कदम चाल्न आवश्यक छ । क्षयरोगको बढ्दो समस्याको पछाडि मुख्य कारण गरीबी, पोषणमा कमी र यसले निम्त्याएको रोग प्रतिरोधात्मक क्षमतामा कमी हो । धेरै परिवारहरू अझै एकै घरमा बस्ने परम्परा अपनाइरहेका छन्, जसले सरुवा रोग फैलिन सजिलो बनाउँछ । क्षयरोग सरुवा रोग भएकाले यसमा समयमै उपचार नगरे रोग फैलिन सक्ने खतरा रहन्छ । विश्वव्यापी रूपमा एचआईभी र मधुमेहको बढ्दो प्रभावले ड्रगरेसिस्टेन्ट टीबीको समस्या पनि बढाएको छ । यस्तो टीबीको उपचार कठिन र ज्यान जाने जोखिम उच्च हुन्छ । त्यसैले जनचेतना अत्यन्तै आवश्यक छ । यदि लक्षण देखिएसँगै छिटो र सही उपचार गरियो भने पूर्ण रूपमा डटस थेरापीमार्फत रोग निवारण सम्भव छ । उपचार निशुल्क उपलब्ध छ। फोक्सोहरू क्षतिग्रस्त भएमा जटिलता बढ्ने र ज्यान जाने जोखिम बढी हुन्छ । त्यसैले प्रभावकारी जनचेतना, व्यवस्थित योजना र समयमै उपचार अनिवार्य छ ।
डा. परवेज आलम अन्सारी
नेशनल मेडिकल कलेजकुपोषित र एचआईभी संक्रमित जोखिममा
क्षयरोग अझै पनि गम्भीर जनस्वास्थ्य चुनौती बनेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष लाखौं मानिस यस रोगबाट प्रभावित भइरहेका छन् । नेपालमा पनि प्रत्येक वर्ष ठूलो संख्यामा नयाँ बिरामीहरू पत्ता लाग्दै आएका छन् । विशेषगरी श्रमिक वर्ग, कुपोषित व्यक्ति र एचआईभी संक्रमितहरू बढी जोखिममा रहेका छन् । बहुऔषधि प्रतिरोधी क्षयरोगको बढ्दो दर स्वास्थ्य क्षेत्रमा ठूलो चुनौती बनेको छ, किनभने यसको उपचार लामो, महँगो र जटिल हुन्छ । नेपाल सरकारले राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमअन्तर्गत निःशुल्क परीक्षण, औषधि र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । जीनएक्सपर्टजस्ता आधुनिक प्रविधिको प्रयोगले छिटो र सही निदानमा सहयोग पु¥याएको छ र रणनीतिले उपचार सफलता दर बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । तर, दुर्गम क्षेत्रहरूमा सेवा पहुँच अझै सीमित छ । जनचेतनामा सुधार देखिए पनि अझै पर्याप्त छैन । धेरै मानिसहरू लामो समयसम्म खोकी लागे पनि परीक्षण गर्न ढिलाइ गर्छन् । टीबी सर्ने तरिका, लक्षणहरू जस्तै दुई हप्ताभन्दा बढी खोकी, राति पसिना आउनु, तौल घट्नु र पूर्णउपचारको आवश्यकतासम्बन्धी जानकारी कम हुनु चुनौतीको रूपमा रहेको छ । सामाजिक लाज र डरका कारण बिरामीहरूले आफ्नो अवस्था लुकाउने प्रवृत्ति पनि देखिन्छ । यस समस्यालाई न्यूनीकरण गर्न समुदायस्तरमा नियमित सचेतना अभियान, विद्यालय तथा मिडियामार्फत स्वास्थ्य शिक्षा, र जोखिम समूहमा लक्षित स्क्रिनिङ कार्यक्रम आवश्यक छन् । समयमै पहिचान, नियमित औषधि सेवन र सामाजिक सहयोगमार्फत मात्र क्षयरोग उन्मूलनतर्फ अघि बढ्न सम्भव छ ।
सरिता रम्तेल
क्षयरोग पूर्णस्पमा नियन्त्रण आएको छैन
नेपालमा क्षयरोगको जोखिम भएको मानिन्छ । हरेक वर्ष हजारौं नयाँ बिरामी भेटिन्छन् । गरिबी, भीडभाड, पोषणको कम र प्रतिरक्षा क्षमता कमजोर भएका व्यक्तिमा बढी देखिन्छ । एचआईभी र एड्स भएका व्यक्तिमा क्षयरोगको जोखिम बढी हुन्छ । सरकारले डटस् कार्यक्रममार्फत निःशुल्क उपचार उपलब्ध गराएको छ । क्षयरोगका बिरामीहरूले समयमै उपचार गर्न हिच्किचाउने गर्छन् । ग्रामीण क्षेत्रमा जानकारी फैलाउने प्रयास भइरहेका छ । उपचार निःशुल्क छ । क्षयरोग अझैसम्म पूर्णरुपमा नियन्त्रणमा आएको छैन ।
डा. रविरन्जन साह (कन्सल्टेन्ट फिजिसियन)
जय पोलिक्लिनिक एण्ड डाईगनोसिस सेन्टर
क्षयरोग अझै पनि प्रमुख जनस्वास्थ्य चुनौती
नेपालमा क्षयरोग अझै पनि प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा रहेको छ । पछिल्लो तथ्याङ्कअनुसार, प्रत्येक वर्ष करिब ६८ हजारदेखि ७० हजार नयाँ क्षयरोगीहरू थपिने अनुमान गरिएको छ । वि.सं. २०८२÷८३ सम्मको रणनीतिअनुसार, नेपालले सन् २०५० सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य राखेको छ । कुल बिरामीहरूमध्ये मधेश, बागमती र लुम्बिनी प्रदेशमा रोगको भार बढी देखिएको छ । सरकारले क्षयरोगको निःशुल्क निदान र उपचार सेवा उपलब्ध गराउँदै आएको छ । यदि दुई हप्ताभन्दा बढी खोकी लाग्यो, साँझपख ज्वरो आयो, तौल घट्यो वा छाती दुख्यो भने नजिकको सरकारी स्वास्थ्य संस्थामा गई खकार, आवश्यकताअनुसार रगत वा एक्सरे परीक्षण गरिनु पर्छ । माइक्रोस्कोपमार्फत खकारमा कीटाणु पत्ता लगाउने पुरानो तर प्रभावकारी विधि अझै धेरै प्राथमिक स्वास्थ्य केन्द्रहरूमा प्रयोग भइरहेको छ । ‘जिन एक्सपर्ट’ प्रविधि र एआईजडित डिजिटल एक्सरेको प्रयोग पनि बढाइएको छ । औषधि प्रतिरोधी क्षयरोगका बिरामीहरूको लागि नेपालमा नयाँ छोटो अवधिको उपचार विधि लागू गरिएको छ । साधारण क्षयरोगको उपचार सफलता दर ९२% भन्दा माथि छ । समुदायमा क्षयरोग हावाबाट सर्छ र उपचार गर्दा निको हुन्छ भन्ने सामान्य ज्ञान बढेको छ । तर, कतिपय मानिसहरू अझै लक्षण देखिएपछि ढिलाइ गर्छन् । सामाजिक लाञ्छना र भेदभाव क्षयरोग उपचारको ठूलो अवरोध बनेको छ, जसले गर्दा बिरामीहरू खुलेर र समयमै उपचारमा आउन हिच्किचाउँछन् । औषधि बीचमा छोड्ने प्रवृत्ति कम गर्न ‘डट्स’ सेवा प्रभावकारी छ । तर, केही बिरामीहरूले पूर्ण कोर्ष औषधि सेवन नगर्दा क्षयरोगको जोखिम अझै उच्च रहन्छ ।
डा. प्रशान्तकुमार साह
कन्सल्टेन्ट फिजिसियनमधेशमा बढी संक्रमित छन्
क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिसबाट उत्पन्न हुन्छ । विकासशील देशहरूमा हरेक वर्ष करिब ७० हजार नयाँ केस देखिन्छन् । तर, अहिले पनि ५० प्रतिशत बिरामीहरू उपचारमा पहुँच पाएका छैनन् । तथ्यांकमा समावेश नभएकाले हाम्रोजस्तो देशमा यो रोगको अवस्था अझ गम्भीर छ । हरेक वर्ष करिब १६ हजार व्यक्तिको ज्यान क्षयरोगका कारण जाने गर्छ । क्षयरोग मुख्य रूपमा फोक्सोबाट निस्कने खकार हावाबाट अन्य व्यक्तिमा सर्छ । यो रोग बढी गरिबी, एचआईभी संक्रमण, धेरै मानिसहरू एकै ठाउँमा बस्ने अवस्था, कुपोषण र खुला सिमाना हुँदै आवतजावत गर्ने व्यक्तिहरूमा देखिन्छ । मधेश प्रदेशमा अन्य प्रदेशको तुलनामा रोगको दर बढी छ । मुख्य लक्षणहरूमा बेलुका ज्वरो आउनु, दुई हप्ताभन्दा बढी खोकी लाग्नु, खकारमा रगत आउनु, राति पसिना आउनु र तौल घट्नु पर्छ । यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त जाँच गर्न आवश्यक छ । नेपाल सरकारले डट्स सेवा मार्फत निःशुल्क औषधी उपलब्ध गराइरहेको छ र समयमै औषधी सेवन गर्दा पूर्ण रूपमा निको हुन सकिन्छ । क्षयरोग शरीरका सबै अंगमा फैलिन सक्छ । जसमा मस्तिष्क, आँखा, फोक्सो, पेट, हड्डी, मुटु र जोर्नीहरू समावेश छन् । पहिचान भएपछि फोक्सोको टीबी भएका व्यक्तिले मास्क लगाउने, खोकी वा हाच्छ्युँ गर्दा रुमालले मुख छोप्ने र बच्चामा बीसीजी खोप लगाउनेजस्ता सावधानी अपनाउनु पर्छ । प्रोटिनयुक्त पौष्टिक खानपानले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।