नेपालमा कृषि सहकारीहरू ग्रामीण अर्थतन्त्र सुदृढ गर्ने महत्वपूर्ण आधारका रूपमा विकसित हुँदै गएका छन् । विशेषगरी साना किसानलाई लक्षित गर्दै स्थापना भएका सहकारीहरूले वित्तीय पहुँच, सीप विकास र आयआर्जनमा उल्लेखनीय योगदान पु¥याउँदै आएका छन् । यिनैमध्ये एक उदाहरण हो–बाराको जीतपुरसिमरामा सञ्चालित साना किसान कृषि सहकारी संस्था । जसले विपन्न र कृषक समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ । विगत ६ वर्षदेखि संस्थाको नेतृत्व सम्हाल्दै आएकी अध्यक्ष कमलाकुमारी रिमालले सहकारीलाई सशक्त बनाउँदै किसानको आर्थिक सशक्तीकरणमा सक्रिय योगदान दिइरहेकी छन् । सहकारीको अवस्था, उद्देश्य, उपलब्धि, चुनौती र नेतृत्व अनुभवबारे उनीसँग गरिएको कुराकानी ः
साना किसान कृषि सहकारी संस्थाको अवस्था कस्तो छ ?
२०७३ सालमा स्थापना भएको साना किसान कृषि सहकारी ४७ जना सदस्य र ४ हजार ७ सय कूल पूँजीबाट सुरूवात गरिएको संस्था हो । स्थापनाका केही वर्ष संस्था राम्रो सञ्चालन हुन नसके पनि विगत ६ वर्षदेखि संस्था राम्रो चलिरहेको छ । १८ सय ५० सदस्य थिए । एक सहकारी एक सदस्यको अवधारणा आएपछि सदस्य संख्या घटेर हाल संस्थामा लगभग १७ सय सदस्य छन् । हाल यो संस्थाको शेयर १ करोड ५३ लाख, निक्षेप ५ करोड ५० लाख रुपैयाँ र लगानी १९ करोड रुपैयाँ छ । संस्थाको कूल पूँजी २१ करोड भएको छ । साना किसान कृषि सहकारी संस्थामा सबैतिर महिलाहरू नै देखेको छु । महिलामात्र संस्थामा भएर नहुने रहेछ । पुरुष र महिला एक अर्कामा पूरक हुनुपर्छ । पुरुष सदस्य पनि संस्थामा चाहिन्छ भन्ने सोच र समितिको निर्णयले पुरुष सदस्यहरू पनि राखेका छौं । साना किसान कृषि सहकारी संस्थामा १० प्रतिशत पुरुषलाई पनि समेटेका छौं ।
साना किसान कृषि सहकारी संस्थाको स्थापनाको उद्देश्य के थियो ?
साना किसान कृषि सहकारी संस्था भनेको किसानको सुख दुःख, सीप र किसानको छरिएर रहेको पैसालाई संकलन गर्ने उद्देश्य हो । किसानलाई लक्षित गरेर र दलित परिवारहरूलाई केन्द्रित गरेर थोरै पैसाले गरीबहरूलाई बाख्रापालन, बंगुरपालन, भंैसीपालन गर्न लगानी गर्ने र आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले सहकारीको स्थापना गरिएको हो । किसानले सहकारीबाट ७ प्रतिशत व्याजदरमा लिएको कर्जाले दुधजन्य र मासुजन्य पशुपालन गरेर विपन्न वर्गका किसानले जीवनस्तरलाई उठाएका छन् । विपन्न वर्गको आर्थिक र समाजिक पक्षमा उन्नति होओस् भन्ने अवधारणले सहकारीको स्थापना गरेका हौं ।
सहकारी संस्थाको लक्ष्य प्राप्ति गर्न कत्तिको सफल हुनुभएको छ ?
सिमरा बजारमा लघुवित्त, नेपाल राष्ट्र बैंकबाट क वर्ग, ख वर्गमा इजाजत प्राप्त बंैकहरूको बीचमा पनि यो संस्था स्थापित हुन सकेको छ । सञ्चालक, कर्मचारीको योगदान, शेयरसदस्यहरूको ठूलो सहयोग र योगदानले नै संस्था अघि बढेको हो ।
सहकारीका चुनौतीलाई कसरी सहजीकरण गर्नुभयो ?
कोरोनाको समयमा संस्थामा केही सदस्यहरूले लिएको ऋण नेपाल सरकारले नै मधेश प्रदेश कृषि मन्त्रालय जनकपुरबाट शेयर सदस्यहरूको ब्याज फिर्ता गर्न निर्देशन आएको थियो । सहकारीको कमजोर स्थिति भएको शेयर सदस्यहरूको सिफारिस गरेर पठाएका थियौं । प्रदेश सरकारबाट आएको व्याज कृषि ज्ञानकेन्द्र कलैयाबाट वितरण भएको थियो । धेरै सहकारीको बीचमा ठूलो चुनौती थियो । सञ्चालक समितिले आफ्नो संस्थाको शेयर सदस्य भएपछि शेयर सदस्यलाई कसरी प्रशिक्षण दिने, कारोबारलाई कसरी सञ्चालन गर्ने भन्ने चुनौती थियो । संस्थाले दिने सुविधा दिएका छौं । अन्य संस्थाबाट ल्याएको कर्जा सदस्यहरूलाई प्रवाह गर्दा तिर्नु पर्छ । सावा दिन नसक्दा पनि ब्याजमात्र दिने र पछि बिस्तारै सावा तिर्न जानकारी गराउँछौं । सहकारी संस्थाभित्र १२ वटा अन्तर समूह छ । हरेक महिनाको १७ गतेदेखि २६ गतेभित्र क्षेत्रगत रुपमा शेयर सदस्यहरूलाई भेट्छौं । संस्थाको कुरा शेयर गर्ने र शेयर सदस्यका सल्लाहलाई सुन्छौं । शेयर सदस्यहरूबाट आएको सुझावलाई संस्थामा ल्याएर निर्णय गर्छौं । शेयर सदस्यहरूले कारोबारलाई बुझिदिएको भएर १२ प्रतिशत बोनस २ प्रतिशत संरक्षित पूँजीकोष फिर्ता गर्न सकेका छौं ।
तपाईंको सहकारी अन्य सहकारीभन्दा के फरक छ ?
साना किसान सहकारी एउटै मोडलले चलेको छ । एउटै छाता संगठन नेपाल कृषि केन्द्रीय संघ छ । केन्द्रीय संघको निर्देशनमा नेपालभरि एउटै नीति तयार भएको छ । सबैले पालना पनि गर्नु पर्छ । यो संस्थामा व्यक्तिगत सदस्य हुँदैन । ५ जनादेखि १० जना सम्मको समूह बन्छ । प्रत्येक समूहको १÷१ जना गरेर २५ वटा समूहको अन्तरसमूह हुन्छ । समूहले १ रुपैयादेखि २५ लाखसम्म ऋण चाहिए पनि समूहले निर्णय गरेर अन्तर समूहमा जान्छ । अन्तरसमूहले निर्णय गरेर संस्थामा आएपछि प्रक्रिया शुरू भएर ऋण लगानी हुन्छ । क्षेत्रगत समितिको जिम्मेवारीमा विना धितो ४ लाख रुपैयाँसम्म ऋण शेयर सदस्यहरूलाई प्रवाह गर्छौं । ४ लाखमाथिको ऋणलाई धितो राखेर दिन्छौं । दुधजन्य र मासुजन्य पशुपालनका लागि ऋण दिन्छौं । ४ प्रतिशतमा कर्जा लिएर ७ प्रतिशतमा ऋण दिन्छौं । समूहमा जति जना छन्, प्रत्येकको मासिक ५ सयको दरले बचत गर्नु पर्छ । व्यक्तिगत बचत ऋण खाने नखाने सबै सदस्यले ५ सय बचत गर्नु पर्छ । समूह बचत गरेको पैसा ५० हजार भएपछि त्यहि समूहका सदस्यहरूले ६÷६ महिनामा पालोपालो समूहको निर्णयअनुसार ऋण लगानी गर्छौं । समूह बचतमा १० प्रतिशत व्याज लिन्छौं । त्यो ब्याज उनीहरूको समूहमा नै जान्छ । दुधजन्य र मासुजन्य पशुपालनका लागि ७ प्रतिशत र खेतीपातिलाई १० प्रतिशतमा ऋण लगानी गर्छौं । घरजग्गा खरिद गर्न, वैदेशिक रोजगारी र घर निर्माण गर्न १४ प्रतिशत ऋण लगानी गर्छौं ।
सहकारीमा नेतृत्व गरिरहँदा चुनौती कत्तिको छ ?
यो संस्थाको नेतृत्व गर्नुपूर्व १० हजार सदस्य भएको अर्को सहकारी संस्थामा एक कार्यकाल सञ्चालक सदस्य र दुई कार्यकाल उपाध्यक्ष भएका काम गरेकी छु । त्यो बेलामा महिलालाई खुट्टा तान्ने प्रवृति थियो । पुरुषहरू धेरै हाबी भएको पाइन्थ्यो । पहिलाको सहकारीमा काम गर्दा पुरुषहरूले दिएको चुनौतीहरूलाई पार गरेर यो संस्थाको नेतृत्व गरेको हो । संस्था जितपुर–सिमरा उपमहानगरपालिकाको २४ वडामा सञ्चालित छ । जाडो र गर्मी जे भए पनि सबै अन्तरसमूहहरूमा बिहान ८ बजे म आफै पुग्छु ।
अन्त्यमा केही सुझाव दिन चाहनुहुन्छ ?
महिलाहरूले सामाजिक नेतृत्व लिनु पर्छ । महिलाले लिएको नेतृत्व हरेक ठाउँमा सफल भएको छ । महिला छुच्चो भए पनि जे काम गरे पनि सफल बनाउन खोज्छन् । समाजमा हिँडिरहँदा चुनौती आउँछन् । चुनौती भनेको नै हाम्रो लागि अवसर हो । चुनौती नआइकन अवसर आउँदैनन्, अवसर नआई चुनौती आउँदैनन् । महिला अघि बढे पनि खुट्टा तान्ने प्रवृति हुन्छ । खुट्टा ताने पनि आफू गल्ती नगरी अनुशासित भई अगाडि बढेर समाजलाई अगाडि बढाउनु छ भने निराश नभई मनोबल दह्रो गरेर अगाडि बढ्नु पर्दछ ।