आजको युगमा सवै भन्दा बडि परिवर्तन भएको छ भने त्यो हो प्रविधि ! आज सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक संजाल हाम्रो प्रमुख सूचना स्रोतका रूपमा स्थापित हुँदै गएको छ। केही बर्ष मात्रै पहिले दुखद होस् वा सुखद खबर सुन्नको निमित्त महिनौसम्म हुलाकी पर्खाइमा बस्ने हाम्रो पुस्ता आज केही सेकेन्डमै समाचार सम्पूर्ण विश्वमा फैलिन सक्ने बनेको छ ! यो माध्यमले सूचनाको पहुँचलाई लोकतान्त्रिक बनाएको छ। तर यही सहजता र गतिसँगै सामाजिक संजालमा आधारित पत्रकारीताले तथ्यपरकता गुमाउँदै गएको गम्भीर आशंका पनि उत्पन्न गरेको छ।
हिजोको दिनमा परम्परागत पत्रकारीता थियो, समाचार प्रकाशन अघि स्रोतको पुष्टि, तथ्य जाँच र सम्पादकीय समीक्षा अनिवार्य मानिन्थ्यो। तर सामाजिक संजालको पत्रकारीतामा यी आधारभूत मापदण्डहरूलाई बेवास्ता गर्ने प्रवृत्ति बढ्दो छ। “पहिलो हुने” र “भाइरल हुने” प्रतिस्पर्धाले धेरैजसो सामग्री तथ्य पुष्टि नगरी सार्वजनिक गरिन्छ, जसले गलत सूचना र अफवाह फैलिन सहयोग मात्रै पु¥याएको छैन तथ्य खोज छानबिन नै नगरी अफवाहको पछि पछि कुदाएको छ।
आजकल क्लिक, लाइक र सेयरको दबाबले समाचारका शीर्षकहरू सनसनीपूर्ण बन्न थालेका छन्। शीर्षक र सामग्रीबीच असन्तुलन देखिनु त अब सामान्य बन्दै गएको छ। कतिपय अवस्थामा व्यक्तिगत धारणा, अपूरो सूचना वा सामाजिक सञ्जालमै फैलिएका हल्लालाई नै समाचारका रूपमा प्रस्तुत गरिँदा पाठक भ्रमित हुने अवस्था सिर्जना भएको छ। यसले सञ्चारमाध्यमप्रति जनविश्वास कमजोर बनाउँदै लगेको छ।
नागरिक पत्रकारिताको अवधारणा सामाजिक संजालमार्फत सशक्त बनेको छ, जुन अभिव्यक्ति स्वतन्त्रताको दृष्टिले सकारात्मक पक्ष हो। तर पत्रकारिता केवल सूचना प्रवाह मात्र होइन, सत्य, सन्तुलन र जिम्मेवारीको अभ्यास पनि हो। यी मूल्यहरू कमजोर हुँदा समाज गलत सूचना, सामाजिक द्वन्द्व र नीतिगत भ्रमको शिकार बन्न सक्छ।
यस सन्दर्भमा पाठक तथा सामाजिक संजाल प्रयोगकर्ताको भूमिका पनि महत्वपूर्ण हुन्छ। हरेक भाइरल सामग्रीलाई सत्य मानेर सेयर गर्नु अघि यसको स्रोत, सन्दर्भ र विश्वसनीयता जाँच्ने संस्कार विकास गर्न आवश्यक छ। साथै, सञ्चारकर्मी र सञ्चारमाध्यमले पनि सामाजिक संजालमा सामग्री प्रस्तुत गर्दा पेशागत आचारसंहिता र नैतिक जिम्मेवारीलाई आत्मसात् गर्नुपर्छ। यसो गरिएन भने आउने दिनमा हामी तथ्यहिन मात्रै होइन सत्य के हो टाढा नै रहनेछौ ! उसो त सामाजिक संजाल आफैंमा समस्या पक्कै होइन, समस्या यसको गैरजिम्मेवार प्रयोगको कारण उत्पन्न सत्य हो। गति र लोकप्रियतासँगै सत्य र तथ्यलाई प्राथमिकता दिन सके सामाजिक संजाल आधुनिक पत्रकारीताको प्रभावकारी माध्यम बन्न सक्छ। त्यसका लागि सञ्चारमाध्यमले तथ्य जाँचलाई अनिवार्य बनाउने, पत्रकारलाई डिजिटल आचारसंहिताप्रति प्रतिबद्ध गराउने र पाठकलाई सचेत बनाउने प्रयास आवश्यक छ। यसो गर्न अब ढिलाइ गरियो भने भाइरल समाचारको भीडमा तथ्यपरक पत्रकारीता अझै ओझेलमा पर्ने खतरा कायमै रहनेछ
स्तरीय र खोजमुखी बनाउन सकिन्छ,
पत्रकारीतालाई स्तरीय र खोजमुखी बनाउनु भनेको केवल सञ्चार क्षेत्रको सुधार होइन, यो मुलुकको समग्र विकास र सुशासनको आधार हो। जब पत्रकारीता सत्य, अनुसन्धान र जनहितप्रति प्रतिबद्ध हुन्छ, तब मात्र यसले मुलुकलाई सही दिशामा ल्याउन सक्छ।पत्रकारीता लोकतन्त्रको मेरुदण्ड हो। यसको गुणस्तर, विश्वसनीयता र खोजी क्षमताले नै कुनै पनि मुलुकको सुशासन, पारदर्शिता र जवाफदेहितालाई बलियो बनाउँछ । त्यसैले पत्रकारीतालाई केवल सूचना प्रवाहको साधन नभई मुलुक निर्माणको प्रभावकारी औजारका रूपमा विकास गर्न आवश्यक छ ।
खोजी पत्रकारीतामा लगानी छिटो समाचारभन्दा गहिरो खोज र अनुसन्धानलाई प्राथमिकता दिनुपर्छ। भ्रष्टाचार, सार्वजनिक खर्च, नीति कार्यान्वयन, सामाजिक अन्याय जस्ता विषयमा तथ्यमा आधारित खोजी रिपोर्टिङले राज्य संयन्त्रलाई जवाफदेही बनाउँछ। तथ्य जाँच र स्रोतको मजबुती हरेक समाचार प्रकाशन अघि तथ्य जाँच अनिवार्य बनाइनुपर्छ। एकभन्दा बढी विश्वसनीय स्रोत प्रयोग गर्ने, कागजात र तथ्यांकमा आधारित रिपोर्टिङ गर्ने संस्कारले पत्रकारीताको स्तर बढाउँछ ! पत्रकारको क्षमता अभिवृद्धि पत्रकारहरूलाई नियमित तालिम, डिजिटल सीप, डाटा पत्रकारिता र अनुसन्धानात्मक लेखनमा दक्ष बनाउनु आवश्यक छ। सक्षम पत्रकार बिना स्तरीय पत्रकारीता सम्भव हुँदैन।राजनीतिक, आर्थिक वा व्यक्तिगत दबाबबाट मुक्त सम्पादकीय प्रणाली हुनुपर्छ। आचारसंहिता कडाइका साथ पालना गरिँदा पत्रकारीताले जनविश्वास आर्जन गर्छ। पाठक र समाजको भूमिका पनि उत्तिकै हुन्छ !
सचेत पाठकले मात्र राम्रो पत्रकारीता जन्माउँछ। अफवाह र गलत समाचार अस्वीकार गर्ने, गुणस्तरीय सामग्रीलाई समर्थन गर्ने संस्कार समाजमा विकास गर्नुपर्छ साथै नीति र संरचनागत सुधार ।