किसानसँग कृषि र वनको अकाट्य सम्वन्ध छ, तर आम नेपाली किसानहरुको आर्थिक, सामाजिक तथा शैक्षिक एवम् स्वास्थ्यको स्थिति एकदमै नाजुक र दयनीय छ । कृषिप्रधान देश नेपालमा कृषिक्षेत्रको व्यावसायिक विकास हुन सकिरहेको छैन । यो सबैभन्दा उपेक्षित पेशा बनिरहेको छ । गरीब र अशिक्षितहरुले मात्र खेती गर्ने गर्दछन् भन्ने सोच र पुरानै तरिकाले काम गर्ने परिपाटीका कारण प्राकृतिक स्रोतसाधन सम्पन्न कृषिप्रधान देशका कृषक संसारमै निम्नस्तरका मानिसमा चिनिएका छांै । अब पढेलेखेका युवाले नवीनतम् पद्दति अपनाउँदै कृषि क्षेत्रलाई सबैभन्दा दरिलो र भरपर्दो आयआर्जनको माध्यमको रुपमा विकास गर्ने अभियानमा समाहित हुनु पर्दछ । वैज्ञानिक पद्धतिअनुरुप खेती गर्दा एउटा व्यक्तिभन्दा समूहगत रुपमा खेती गर्दा व्यावसायिकता दिन सक्ने भएकाले राम्रो उत्पादकत्व क्षमता र मनग्य मुनाफा लिन सकिने खेतीका विभिन्न प्रयोग गर्नु पर्दछ ।
जडीबुटि, खाद्यान्न, तरकारी, फलफूल र बोटबिरुवा उत्पादन महत्वपूर्ण विकल्प हुन सक्छ । स्थानीयस्तरमा साधारण किसानले उत्पादन गर्न सक्ने र स्थानीय बजारसम्म पु¥याई उचित प्रतिफल प्राप्त गर्न सक्ने अन्य खेतीको तुलनामा यी उत्तम बाटाहरु हुन् । तर पनि यसको व्यावसायीकरणको सोचमा आजसम्म कतैबाट पाइला चालिएको छैन । विज्ञहरु भन्छन्, ‘व्यावसायिक उत्पादन छैन, त्यसैले बजार छैन, नेपालमा व्यावसायिक बजार छैन, त्यसैले उत्पादन छैन ।’ यस्तो अवस्थामा प्रथम चरणमा महँगो लगानीले गर्दा यसको औद्योगिक व्यावसायीकरण साधारण किसानहरूको पहुँचभन्दा बाहिर छ । आजको विश्वबजारको माग र अवस्था अध्ययन गर्दा नेपालमा कृषि तथा वनको व्यावसायिक उद्यमको प्रचुर सम्भावना र टट्कारो आवश्यकता छ ।
कृषि तथा वन विकासका व्यावसायिक परियोजनाबाट गरीबहरूका लागि निजीक्षेत्रमा हुन सक्ने वैकल्पिक विकासे खेतीको रुपमा सर्वाधिक प्रतिफल दिगो समयसम्म प्राप्त गर्न सकिने भएकाले गरिबी निवारणका लागि कृषकको जीवनमा अतुलनीय योगदान पुग्नेछ । कृषि
क्षेत्रमा बढ्दै गएको रासायनिक मलको प्रयोग, उत्पादनमा ह्रास तथा श्रमबराबरको उत्पादन लिन गाह्रो परिरहेको अवस्थामा साधारण अन्नबाली र तरकारी खेतीबाट मात्रै किसानको जीवनस्तरमा कुनै उल्लेख्य सुधार आएको देखिँदैन । आम सर्वसाधारण किसानसँग नयाँ प्रयोग र परीक्षण गरेर हेर्ने, सम्भाव्यता खोज्ने, नयाँ क्षेत्रमा लगानी गर्न सक्ने, उत्पादित बस्तुको गुणस्तरीयता नाप्न सक्ने, गुणस्तर कायम राख्न सक्ने एवम् त्यसको उचित बजार खोज्ने र समुचित मूल्य प्राप्त गर्न सक्ने स्थिति हुँदैन । त्यसकारण कृषकको जीवनमा उल्लेखनीय उपलव्धि प्राप्त गर्न र गराउनका लागि आफ्ना उत्पादन स्थानीय बजारदेखि अन्तराष्ट्रिय बजारसम्म पु¥याएर दिगो र राम्रो आम्दानी गर्नका लागि यसको व्यावसायीकरण गर्न अनिवार्य छ ।
साधारणतया गरीब, निम्न वर्गीय, अशिक्षित, बुढाबुढी, बालबालिका र महिलाहरु नै खेतीमा संलग्न हुनुपर्ने भएकाले कृषिका नयाँ तरिका अपनाइँदैन । जोखिम मोलेर नयाँ प्रयोग गरिने गरिँदैन । कृषकमा कुन बाली बोटविरुवाले आफ्नो जमिनमा राम्रो उत्पादन दिन सक्छ भन्ने ज्ञानको अभाव रहेको छ भने ९० प्रतिशत पढेलेखेका युवा सम्बन्धित प्राविधिक एवम् विज्ञहरु प्रत्यक्ष संलग्न हँुदैनन् । नेपालका ८० प्रतिशतभन्दा बढी महिला कृषिमा कार्यरत छन् । तर, ती महिलाको अवस्था ज्यादै दयनीय छ । तसर्थ, महिलालाई बडी सुसूचित गराउँदै नयाँ अवसर र प्रयोगहरुमा सहभागी गराउँदै महिला र पुरुष सबै मिलेर खेती गर्नु व्यावहारिक हुन्छ । बेरोजगारी र आर्थिक एवम् सामाजिक असमानताका कारण बढ्दै र झाँगिदै गइरहेको द्वन्दात्मक परिस्थितिबाट देश र जनतालाई माथि उठाएर जोगाइराख्न र ती युवाको आयआर्जन तथा रोजगारीको अभावलाई पूरा गर्न व्यावसायिक खेतीको अवधारणा ज्यादै महत्वपूर्ण सावित हुनेछ । केही आर्थिक, सैद्धान्तिक र प्राविधिक ज्ञान लिनेबित्तिकै कुनै एउटा व्यावसायिक पक्षको सहयोगमा कुनै पनि क्षेत्र, जात, धर्म, वर्ग र समुदायका कृषिमा संलग्न मानिसले आफ्नो उपयुक्त खेती गर्न सक्दछन् । अभाव, गरिवी, असमानता, अव्यावहारिक र असमान शिक्षा तथा त्यसबाट उत्पन्न बेरोजगारीको अवस्थाको उपज हो । यसको निराकरणमा यो परियोजना क्षेत्र रोजगारीसहित आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य एवम् पर्यावरणीय परिवेशबाट उत्कृष्ट उदाहरण बन्नेछ ।
व्यावसायिक विकासमा प्रभाव पार्ने कृषि व्यवसायीकरणका मुख्य समस्याहरू यस प्रकार छन् । कृषियोग्य जमिन घट्दै जानु र जग्गाको खण्डीकरण हुनु प्रमुख समस्या हो । दक्ष, अर्धदक्ष तथा काम गर्ने जनशक्तिको अभाव हुँदै जानु अर्को चुनौती बनेको छ । सिँचाइको अभाव, मलखादको कमी र वन विनाश बढ्दै जानु पनि गम्भीर समस्या हुन् । आधुनिक प्रविधिको प्रयोग नहुनु र अनुसन्धानमा कमी रहनुका कारण कृषिक्षेत्र पछाडि परेको छ । उत्पादन घट्दै जानु र उत्पादनको उचित मूल्य प्राप्त नहुनु किसानका लागि ठूलो समस्या बनेको छ । रासायनिक मलखादको मूल्य र मजदूरको ज्यालामा अनपेक्षित वृद्धि भए पनि उत्पादनमा वृद्धि हुन सकेको छैन, साथै पशुपालन तथा जैविक मल उत्पादनमा कमी आएको छ । गुणस्तरीय उत्पादनको अभाव र भण्डारण सुविधाको कमी देखिन्छ । प्रशोधनशाला तथा सुलभ बजारको अभावका कारण किसान प्रत्यक्ष लाभ लिन सकिरहेका छैनन् । अन्तर्राष्ट्रिय उत्पादन र बजारसँग प्रतिस्पर्धा गर्न नसक्नु र सरकारी नीति तथा यसको प्रभावकारी कार्यान्वयनको अभाव पनि प्रमुख समस्या हुन् ।
कृषि तथा वन उत्पादनका मुख्य समस्याहरूमा वन जंगलको एकलौटी उपयोग गर्ने प्रवृत्ति प्रमुख रूपमा देखिन्छ । वन फडानी, चोरी, बुट्यान तथा वन क्षेत्रमा खोरिया खन्ने प्रवृत्ति बढ्दो छ । वन डढेलो, खडेरी, पहिरो तथा बाह्य वनस्पतिको प्रकोपले वन क्षेत्रलाई असर पु¥याएको छ । जथाभावी काठ दाउराका रूपमा रुख बिरुवाको कटानी तथा फडानी भइरहेको छ । बहुउपयोगी खेती, वृक्षारोपण र संरक्षणको अभाव छ । हावापानी र जमिनअनुकूल खेती तथा वृक्षारोपण हुन सकेको छैन । किसानमा वनसम्बन्धी चेतनाको कमी र व्यक्तिवादी दुरुपयोगको मानसिकता देखिन्छ । उपयोगी र अनुपयोगी बिरुवाबारे ज्ञानको अभाव छ । वनको दिगो संरक्षण र कृषिको पूर्वाधारमा लगानीको कमी छ । सरकारी बेवास्ता तथा उत्पादनभन्दा बढी उपभोग गर्न खोज्ने प्रवृत्ति पनि समस्याको रूपमा रहेको छ ।
व्यावसायिक विकासमा कृषिवन व्यवसायका चुनौतीहरूमा अध्ययन, अनुसन्धान, प्रयोग तथा परीक्षणको अभाव प्रमुख छ । विज्ञ र उपयुक्त जनशक्तिको कमी देखिन्छ । गुणस्तरीय बीउ र मलको अभाव तथा चर्को महँगीले उत्पादन लागत बढाएको छ । जमिन खण्डीकरण, चक्लाबन्दी नहुनु, जमिन टुक्राटुक्रा हुनु तथा भिरालो र पाखो जमिनको बढी प्रयोग हुनु चुनौतीका रूपमा छन् । प्राङ्गारिक तथा गोठेमलको कमी र गाईवस्तु पालनमा ह्रास आएको छ । कृषिवन पूर्वाधार तथा आधुनिक कृषिऔजारको अभाव छ । कृषिमा जडीबुटीको सही उपयोगसम्बन्धी ज्ञानको कमी देखिन्छ । मेहनती मजदूरको अभाव र ज्यालामा वृद्धि भएको छ । उत्पादनको व्यावसायिक लागत मूल्य प्राप्त हुन सकेको छैन । उत्पादनमा ह्रास र दैवी प्रकोपको संक्रमण बढ्दो छ । विभिन्न रोगव्याधिको संक्रमण र उपचारको अभाव छ । गुणस्तरीय उत्पादन संकलन तथा भण्डारण विधिको ज्ञान र स्रोतको कमी छ । बिचौलिया र दलालको बजार नियन्त्रण तथा मनोपोलीले किसान मारमा परेका छन् । कृषिमा गरिएको लगानी जोखिमपूर्ण बन्दै गएको छ र व्यावसायिक दक्षता तथा लगानीको कमी छ । मेलापात, पर्म तथा सामूहिक खेतीप्रतिको सकारात्मक सोच कमजोर छ । वन विकासमा अस्थिरता, वातावरणीय प्रदूषण र हावापानी परिवर्तनले चुनौती थपेका छन् । जडीबुटीको संरक्षण र प्रयोगसम्बन्धी विषयगत ज्ञानको अभाव छ । किसानमा आफ्नै स्रोत र साधन प्रयोग गर्नेभन्दा परनिर्भर हुने बानी बढेको छ । स्थानीय उत्पादनभन्दा आयातित वस्तु प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ । काम गर्ने बानी व्यवहारमा सुधार नआउनु र खेतीलाई हेय दृष्टिले हेर्नु पनि समस्या हुन् । अन्य वैकल्पिक स्रोत र साधनलाई सहभागी रूपमा प्रयोग गर्न नसक्नु अर्को चुनौती हो । जडीबुटीको दिगो विकासमा देखिएका समस्याहरूमा असहज भौगोलिक बनोट प्रमुख छ । आगलागी र चरिचरनले जडीबुटी क्षेत्रलाई असर पु¥याएको छ । अत्यधिक र अनुपयुक्त समयमा संकलन हुने गरेको छ । जथाभावी संकलन र एउटै क्षेत्रमा लगातार संकलन हुने प्रवृत्ति छ । अवैज्ञानिक संकलन विधि प्रयोग भइरहेको छ । अस्वस्थ प्रतिस्पर्धा र अपनत्वको अभाव देखिन्छ । अनुगमनको कमी छ । जडीबुटीको महत्वबारे जनचेतना न्यून छ । संकलनकर्ताले उचित पारिश्रमिक नपाउने अवस्था छ । जडीबुटी खेतीसम्बन्धी अनुसन्धान भएको छैन । जडीबुटीको परिमाण यकिन नहुनु समस्या बनेको छ । मूल्यवान जडीबुटीहरू दुर्गम क्षेत्रमा मात्र सीमित छन् । जडीबुटी भण्डारणको अभाव छ । सुकाइ र सरसफाइ प्रक्रिया प्रभावकारी छैन । बजारको अनिश्चितता तथा माग र मूल्यबीच असन्तुलन देखिन्छ । सामुदायिक वन कार्ययोजनामा जडीबुटीलाई कम महत्व दिइन्छ । नीतिगत कार्यान्वयनको अभाव पनि दिगो विकासमा बाधक बनेको छ ।