आर्थिक सुधारको सुरुआतलाई ‘कास्टिङ’ मात्रै भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब अझ ठूला परिवर्तनहरू आउन बाँकी रहेको बताएका छन्।
वीरगन्जमा शुक्रबार आयोजित आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्वबजेट सम्बन्धी अन्तरक्रिया कार्यक्रममा पर्सा–बाराका उद्योगी व्यवसायीका गुनासा र सुझाव सुनेपछि उनले रास्वपाले पाएको अभूतपूर्व जनादेश आर्थिक सुधार र सुशासनका लागि भएकाले सरकार सोही दिशामा अघि बढेको बताए।
सरकार गठनलगत्तै राजस्वसम्बन्धी केही निकाय खारेज गर्दै सुधारको सुरुआत गरिएको उल्लेख गर्दै उनले यसलाई ‘कास्टिङ’ मात्र भएको र अझै ठूला काम अघि हुने बताए। पूर्वअर्थमन्त्री रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार समितिको प्रतिवेदन कार्यान्वयनमा ल्याइएको जानकारी दिँदै उनले त्यसबाट अर्थतन्त्रमा देखिएका धेरै बेथिती हट्ने विश्वास व्यक्त गरे।
उनका अनुसार वर्तमान सरकारको पहिलो प्राथमिकता सुशासन, दोस्रो मध्यम वर्गको जीवनस्तर सुधार (शिक्षा, स्वास्थ्य र वित्तीय पहुँच) र तेस्रो रोजगारी सिर्जना रहेको छ। आगामी बजेट आर्थिक रुपान्तरणसँगै निजी क्षेत्रमैत्री हुने बताउँदै उनले करको बोझ र झन्झटिला प्रक्रियाहरू हटाइने स्पष्ट पारे।
प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनअनुसार सरकार जनतालाई प्रत्यक्ष राहत दिने नीति लिएर अघि बढेको उल्लेख गर्दै वाग्लेले लगानीमैत्री वातावरण निर्माण र जनतामा आशा जगाउने आधार सुशासन नै भएको बताए।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले पर्सा–बाराका उद्योगीले भोग्दै आएका नीतिगत तथा व्यवहारिक समस्याबारे सरकारको ध्यानाकर्षण गराए। उनले उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै दोहोरो कर प्रणाली हटाउन र औद्योगिक क्षेत्र स्थापना गर्न आग्रह गरे।
सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रण तथा भन्सार प्रक्रियामा सुधार आवश्यक रहेकोमा उनले जोड दिए।
गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराल, पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त लगायत उद्योगी व्यवसायीको सहभागिता रहेको थियो।