लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एस’ को लायन वर्ष २०२६–२०२७ का लागि नयाँ नेतृत्व चयन भएको छ। काठमाडौंमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट डिष्ट्रिक्ट गभर्नर पदमा वीरगञ्जका समाजसेवी तथा व्यवसायी रामबिहारी पाण्डे निर्वाचित भएका छन्।
त्यसैगरी, प्रथम उप–गभर्नर पदमा हेटौंडाकी समाजसेवी तथा महिला उद्यमी अंकीता सुमार्गी र द्वितीय उप–गभर्नर पदमा काठमाडौंका समाजसेवी तथा उद्यमी महेश पोखरेल निर्वाचित भएका छन्।
नवनिर्वाचित गभर्नर पाण्डे लायन्स आन्दोलनमा विगत २९ वर्षदेखि सक्रिय रहँदै आएका अनुभवी तथा समर्पित व्यक्तित्वका रूपमा परिचित छन्। उनले आफ्नो कार्यकालमा डिष्ट्रिक्ट ३२५ ‘एस’ लाई अझ सशक्त, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यस्तै, प्रथम उप–गभर्नर सुमार्गी र द्वितीय उप–गभर्नर पोखरेलले पनि डिष्ट्रिक्टको समग्र विकास र सदस्यहरूको सक्रिय सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
नयाँ नेतृत्व चयनसँगै डिष्ट्रिक्ट ३२५ ‘एस’ मा थप ऊर्जा, उत्साह र सक्रियता आउने अपेक्षा गरिएको छ। लायन्स सदस्यहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका छन्।
गभर्नर पाण्डेले डिष्ट्रिक्टलाई नमुना डिष्ट्रिक्टको रूपमा विकास गर्ने लक्ष्यसहित सदस्यता विस्तार, नेतृत्व विकास, प्रविधिमैत्री व्यवस्थापन तथा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र मानवसेवासम्बन्धी कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने योजना अघि सारेका छन्।