डा. प्रशान्तकुमार साह कल्सन्टेन्ड फिजिसियन हुन् । पाटन हस्पिटल काठमाडौंबाट एमडी गरेका उनले न्यू आनन्द मेडिकल हलबाट सेवा दिइरहेका छन् । उनी आधुनिक जीवनशैली, तनाव, असन्तुलित खानपान र शारीरिक निष्क्रियताका कारण उच्च रक्तचाप आज विश्वव्यापी स्वास्थ्य समस्याको रूपमा फैलिँदै गएको बताउँछन् । यही सन्दर्भमा कन्सल्टेन्ट फिजिसियन डा. साहसँग उच्च रक्तचापको वास्तविक अवस्था, यसको कारण, जोखिम समूह, जटिलता र नियन्त्रणका उपायबारे मध्य नेपालले गरेको कुराकानी ः
उच्च रक्तचापलाई कसरी बुझ्न सकिन्छ ?
उच्च रक्तचाप भनेको मानिसको शरीरमा रगत बग्ने नली (आट्ररी)को माथिको प्रेशर १३० वा सो भन्दा बढी छ । तलको प्रेशर ८० वा सो भन्दा बढी छ भने त्यस्तो प्रेशरलाई उच्च रक्तचाप भनिन्छ । विश्वभरि हेर्दा लगभग १.३ बिलियन मानिसहरू उच्च रक्तचापबाट ग्रसित छन् । दक्षिण एशियाको वयस्क अवस्थाका मानिसहरूमा ३० देखि ३५ प्रतिशतमा उच्च रक्तचाप देखिन्छ । ५० वर्षभन्दा कम उमेरका पुरुषमा बढी र ५० वर्षभन्दा बढी उमेरका महिलामा बढी उच्च रक्तचाप देखिएको छ ।
रक्तचाप उच्च हुनुको कारण के हो ?
उच्च रक्तचाप हुनुको कारणहरू धेरै छन् । प्रेशरलाई प्राइमरी हाइपोटेन्सन र सेकेण्डरी हाइपोटेन्सन दुई भागमा बाडेर अध्ययन गर्छौं । प्राइमरी हाइपोटेन्सनको कारणहरू हुदैनन् । प्रेशरको कारक तत्वहरू पहिलो तनाव हो । मानिसलाई धेरै चिन्ता छ, निन्द्रा आउँदैन्, बेचैनी छ भने यस्तो हुन्छ । शारीरिक कसरतको कमी र असन्तुलित खानपानले गर्दा उच्च रक्तचाप हुन्छ । खानपानमा बोसोयुक्त खाना, चिनी भएको गुलियो खाना, चिल्लोयुक्त खाना र जंकफूडहरूले उच्च रक्तचापको जोखिम बढाउँदै गएको छ । धुम्रपान, मद्यपान गर्ने मानिसलाई र वतावरण प्रदूषणले गर्दा पनि उच्च रक्तचाप बढाउँदै गएको छ । सेकेण्डरी हाइपोटेन्सन थाइराइडको रोगीहरूमा, मृगौंलाको रोगीहरूमा हुन सक्छ । सेकेण्डरी हाइपोटेन्सन ५ प्रतिशत मानिसमा देखिन्छ । चिन्ता, तनाव, वंशाणुगत कारणले हुने प्राइमरी हाइपोटेन्सन ९५ प्रतिशत मानिसलाई देखिन्छ ।
उच्च रक्तचापलाई साइलेन्ट किलर किन भनिन्छ ?
लगभग ३० देखि ५० प्रतिशत मानिसमा उच्च रक्तचाप भएको थाहा हुँदैन । उच्च रक्तचापको कारणले जटिलता आएपछि मात्र चिकित्सककोमा पुग्नु हुन्छ । कसैको आँखाको नानी बिग्रेको हुन्छ । कसैको मृगौला खराब भएर पिसाबबाट प्रोटिन जाने हुन्छ । कोही मष्तिस्क घात र हार्टअट्याकको समस्या लिएर चिकित्सककहाँ पुगेको हुन्छ । त्यसैले उच्च रक्तचापलाई साइलेन्ट किलर पनि भनिन्छ ।
उच्च रक्तचापले शरीरको कुनकुन भागमा बढी असर गर्छ ?
उच्च रक्तचापले शरीरको मुख्य ३ वटा अंगलाई बढी असर गर्छ । पहिला ब्रेनमा असर पर्छ । दोस्रो हार्टमा असर गर्छ । हार्टअट्याक, हार्ट फेलर हुन्छ । तेस्रोमा मृगौलामा असर गर्छ । मृगौलामा दीर्घकालीन समस्या देखा पर्छ । यो ३ बाहेक अन्य अंगहरूलाई पनि असर गर्छ । आँखाको ज्योति गुम्छ ।
कस्तो लक्षण देखिएमा उच्च रक्तचाप भएको अनुमान गर्न सकिन्छ ?
३० देखि ५० प्रतिशत मानिसमा उच्च रक्तचापको लक्षण नदेखिन सक्छ । जसको उच्च रक्तचापको लक्षण देखिन्छ, उनीहरूमा मुख्यगरी टाउको दुख्ने, टाउको भारी हुने, आँखा धमिलो देखिने, सँगसगै रिङ्गटा लाग्ने, अलिअलि बेचैनी हुने, पिसाब छिटोछिटो लाग्ने लक्षणहरू देखिन्छ । यस्ता लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिन जानु पर्छ ।
उच्च रक्तचापबाट बच्न कस्ता उपाय अपनाउनु पर्छ ?
१८ वर्ष उमेर पुगेपछि एक पटक स्वास्थ्य चौकी गएर आफ्नो ब्लड प्रेशर जाँच गर्नु पर्छ । यदि ब्लड प्रेशर नर्मल छ भने पनि ब्लड प्रेशर जाँच गर्नुपर्ने हुन्छ । यदी ब्लड प्रेशर बढेको छ भने ६ महिनादेखि १ वर्षमा जाँच गर्नुपर्छ । उच्च रक्तचाप भइसकेको छ भने चिकित्सकको सल्लाहअनुसार हरेक जाँचमा ब्लड प्रेशर जाँच गर्नुपर्ने हुन्छ । उच्च रक्तचापबाट बच्ने पहिलो उपाय सन्तुलित खानपान हो । जीवनशैलीलाई परिवर्तन गर्नु पर्छ । बोसोयुक्त खानाहरू, धेरै नुनिलो भएको खाना, रातोमासु, भुटेकोे खाना र प्याकिङ्ग गरेको खानाहरूलाई बन्द गर्नु पर्छ । फलफूल र सलादहरू बढी खानु पर्छ । प्रोटिन भएका खाने कुराहरू खानु पर्छ । शारीरिक व्यायम हप्तामा ५ दिन वा दिनको ३० मिनट मर्निङ्ग वाक वा व्यायम गर्नु पर्ने हुन्छ । मोटोपना भएकाहरूले ५ देखि १० प्रतिशत तौल घटाउनुपर्ने हुन्छ । त्यसैगरी नुन दैनिक ५ ग्राम र सोडियम २ ग्रामभन्दा बढी खानु हुँदैन । युवाहरू धुम्रपान, मद्यपान बढी गरिरहेका हुन्छन् । युवाहरूमा उच्च रक्तचापको सम्भावना बढी हुन्छ । धुम्रपान र मद्यपान गर्न छाडेमा उच्च रक्तचापबाट बच्न सकिन्छ । युवाहरूमा ७ देखि ९ घण्टा सुत्न जरुरी हुन्छ । राति लामो समयसम्म उठ्ने मानिसहरूमा बिहान ब्लड प्रेशर बढी हुन्छ । राति राम्रोसँग सुत्नु पर्छ । दैनिक जीवनमा देखिने तनावले ब्लड प्रेशर बढाउँछ । अफिसको तनाव, रोजगारको तनाव र घरमा हुने झै–झगडाले तनाव बढाउँछ । उच्च रक्तचापबाट बच्न तनावलाई व्यवस्थापन गर्नु पर्छ ।
उच्च रक्तचाप भएपछि औषधीले नियन्त्रण गर्न सक्छ ?
उच्च रक्तचाप भएपछि उपचार प्रणाली दुई प्रकारका हुन्छन् । दैनिक जीवनशैलीलाई परिवर्तन गरेर र अर्को औषधीको प्रयोग गर्न सकिन्छ । दैनिक जीवनशैलीलाई परिवर्तन गर्नेभित्र खानपिन, कसरत, तनाव व्यवस्थापन, धुम्रपान,वमद्यपान, १ किलो बजन घटाउँदा १ एमएम एलजी प्रेशर घट्छ भने १० किलो बजन घटाउँदा १० एमएम प्रेशर घट्छ । स्वस्थ्य खानपानले पनि ब्लड प्रेशरलाई नियन्त्रण गर्छ । खानपिनमा सचेत हुँदा १५ देखि २० एमएम ब्लड प्रेशर नियन्त्रण हुन्छ । यदि पे्रशर माथिको १४० र तलको ९० भन्दा माथि छ र उच्च रक्तचाप भएको प्रमाणित भएमा औषधी खान शुरू गर्नु पर्छ । औषधी चलाउनसाथ उच्च रक्तचाप नियन्त्रण हुन पनि सक्छ र नहुन पनि सक्छ । त्यसको लागि नियमित फलोअप गरेर औषधी मिलाएर दिन्छौं । जीवनशैली परिवर्तन गर्नलाई विशेष जोड दिन्छौं ।
उच्च रक्तचापको औषधी सेवन गरेका बिरामीले औषधी छोड्न सक्छ ?
तनाव, खानपान, मोटोपनले गर्दा प्रेशर बढेको छ र औषधी खान शुरू गरेको छ भने चिकित्सकले राखेको लक्ष्यसम्म प्रेशर कम गर्न, मोटोपन घटाउन सकेमा, तनाव व्यवस्थापन, खानपान सुधार गरेमा औषधी केही समयको लागि बन्द गर्न पनि सकिन्छ । जीवनशैली परिवर्तन गरेमा दैनिक व्यायम गरेमा औषधी छुट्न सक्छ ।
अन्त्यमा के सल्लाह दिन चाहनुहुन्छ ?
मानिसलाई प्रेशरको लक्षण देखिन पनि सक्छ । कुनै बेला नदेखिन पनि सक्छ । १८ वर्ष उमेर नघिसकेको छ भने प्रेशर जाँच गर्नुपर्ने हुन्छ । धेरै मानिसहरू अन्य कारणले चिकित्सककोमा जाँदा प्रेशर जाँच गर्दा उच्च रक्तचाप देखिएको छ । स्वास्थ्य संस्थामा गएर परामर्श लिनु पर्छ ।