पर्सा क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद हरि पन्तले आफ्नो निर्वाचन क्षेत्रका जनताको गुनासो र समस्या सुन्नका लागि निजी सचिवालय कार्यालय सञ्चालनमा ल्याएका छन्।
वीरगन्ज महानगरपालिका वडा नम्बर ८ मा स्थापना गरिएको उक्त कार्यालयको उद्घाटन सांसद पन्तले बिहीबार स्वयं गरेका हुन्। चुनाव जितेपछि सांसदहरू राजधानीमै केन्द्रित भई जनताबाट टाढा हुने प्रवृत्तिलाई अन्त्य गर्न आफूले क्षेत्रमै कार्यालय स्थापना गरेको उनले बताए।
सांसद पन्तले आफू काम विशेषले वीरगन्जमै रहँदा जनतालाई कुनै समस्या वा कठिनाइ परे तत्काल सहयोग पुर्याउने उद्देश्यले सुदिश प्रजापति को नेतृत्वमा १५ सदस्यीय सचिवालय टोली गठन गरिएको जानकारी दिए। उक्त टोलीलाई केही दिनमै पूर्णता दिई सबै सदस्यहरूको नाम र मोबाइल नम्बर सार्वजनिक गरिने उनले बताए।
उनले अब जनताले प्रत्यक्ष रूपमा परिवर्तनको अनुभूति हुने गरी काम गर्न सबै सरकारी कार्यालयहरूलाई निर्देशन दिइसकेको उल्लेख गर्दै, कतै बिना कारण ढिलासुस्ती भए सचिवालयमा सम्पर्क गर्न नागरिकलाई आग्रह गरेका छन्।
उद्घाटन कार्यक्रममा तुलसा पौडेल, दिलीप कुर्मी, राम आर्या, अमन आलम, गौतम श्रेष्ठ लगायतका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। साथै युवराज पटेल, दीपेन्द्र मण्डल, रामबाबु सिंह, महबुब आलम, सगीर अन्सारी, विशाल कुमार, सुमित चौरसिया, राजु गुप्ता, दिनेश गुप्ता, राम लामा र कृष्ण पासवानलगायतको पनि सहभागिता रहेको थियो।