बाराको जितपुर–सिमरा उपमहानगरपालिका–४ मा रहेको घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाले ग्रामीण अर्थतन्त्रलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यो सहकारीलाई स्थापनाकालदेखि नै कोपिला सिंखडाले नेतृत्व गर्दै आएकी छन् । अध्यक्ष सिंखडाले सहकारीलाई सशक्त बनाउदै कृषि, व्यवसाय र पशुपालनका क्षेत्रमा विस्तार गरेकी छन् । यो सहकारीले स्थानीयको आर्थिक सशक्तीकरणमा योगदान दिइरहेको छ । सहकारीको अवस्था, उद्देश्य, चुनौती र नेतृत्व अनुभवबारे अध्यक्ष सिंखडासँग मध्य नेपालले गरेको कुराकानी ः
घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको अवस्था कस्तो छ ?
बि.स. २०७० सालमा ६० जना सदस्य र २० लाख ४ हजार बचतबाट शुरू गरेको आज २ हजारको हाराहारीमा सदस्य र २० करोड रुपैयाँभन्दा बढी कारोबारमा पुगेको छ । सदस्यहरूमध्ये ६५ प्रतिशत महिला र बाँकी पुरुष सदस्य छन् । १ सय १० वटा समूहमार्फत लघुवित्त कार्यक्रम सञ्चालन गर्छौं । सिंगल र समूह दुवै मिसाएर कार्यक्रम चलाउँछौं । अहिले पनि सामाजिक कार्यक्रम शुरू भइरहेको छ । वार्षिक योजना बनाएर नै कार्यक्रम गर्छौं ।
संस्थामा नेतृत्व गर्दा केकस्ता चुनौती आए ?
विशेषगरी वित्तीय कारोवारसँग जोडिएको हुँदा सहकारी सञ्चालन आफैंमा चुनौतीपूर्ण क्षेत्र हो । स्थानीय समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले आलोचना र अपेक्षाहरू उच्च हुन्छन् । महिला नेतृत्वमा मिश्रित समूह सञ्चालन गर्दा शुरूवाती असहजता भए पनि पुरुष सदस्यहरूको साथ र विश्वासले संस्थालाई अगाडि बढाउन मद्दत पुगेको छ । मैले गरेको नेतृत्वलाई आम सदस्यले अत्यन्तै विश्वास गरेको परिणाम नै अहिलेसम्म नेतृत्व गर्ने अवसर पाएकी छु । असहजता सँगसँगै धेरै सहज हुन विश्वास चाहिन्छ । विश्वासलाई जोगाउने चुनौती बढी छ । सहकारीमा आएको बेथितिका कारण अहिले हेर्ने नजर फरक छ । सबैभन्दा ठूलो चुनौती भनेको सदस्यहरूको विश्वास कायम राख्नु र वित्तीय अनुशासन सन्तुलित राख्नु हो । केही सदस्यहरूले ऋणको उचित उपयोग नगर्दा असुलीमा समस्या देखिएको छ । एकातिर कानूनी प्रावधान पालना गर्नुपर्ने, अर्कोतर्फ सदस्यको अवस्था बुझेर लचकता अपनाउनुपर्ने स्थिति रहन्छ ।
सहकारीले कस्तो क्षेत्रमा बढी लगानी गरिरहेको छ ?
सहकारीले मुख्य रूपमा व्यवसाय, कृषि र पशुपालन क्षेत्रमा लगानी गर्दै आएका छौं । सामाजिक आपत् वा परम्परागत कारणले कठिनाइमा परेका सदस्यहरूलाई सानो सहयोग पनि प्रदान गरिन्छ । हाल संस्थाको लगानी १४ करोड र बचत १२ करोड रुपैयाँ रहेको छ भने कुल पूँजी २० करोड रुपैयाँ नाघेको छ । संस्था प्रगतितर्फ नै गइरहेको छ । संस्थाको वार्षिक योजनामा कोरोनापछिको आर्थिक मन्दीले असर पारेको छ ।
यो सहकारी संस्थाको लक्ष्य के छ ?
संस्थाले सदस्यहरूलाई उद्यमशीलतामा उन्मुख गराउने, बचत वृद्धि गर्ने र वित्तीय साक्षरता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । आगामी डेढ वर्षभित्र ३० करोड रुपैयाँभन्दा बढी पूँजी पु¥याउने लक्ष्य छ । प्रत्येक वर्ष ३०० देखि ४०० सदस्यलाई सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम र २५० भन्दा बढीलाई रोजगारमुखी सीप तालिम प्रदान गर्ने योजना रहेको छ । सदस्यलाई व्यावसायिक रुपमा लगानीउन्मूख बनाउने र सदस्यलाई सहकारी हाम्रो हो भन्ने चेतना अभिवृद्धि गराउने काम भइरहेको छ । सदस्यको पैसा संकलन गर्ने र कानून कार्यान्वयनसँगै सदस्यको पैसालाई सुरक्षित राख्ने संस्थाको लक्ष्य हो । सामुदायिक कामहरूलाई पनि निरन्तरता दिन्छौं ।
सहकारीमा आवद्ध हुने प्रक्रिया के छन् ?
सहकारी ऐन र संस्थाको कार्यक्षेत्रभित्र पर्ने इच्छुक नागरिकले निवेदन दिनु पर्छ । समितिबाट स्वीकृति पाएपछि सदस्यता प्राप्त गर्न सकिन्छ। न्यूनतम एक कित्ता शेयर खरिद गरेर सदस्य बन्न सकिन्छ भने अधिकतम एक लाख रुपैयाँसम्म शेयर लगानी गर्न पाइन्छ । खाता खोल्दा शून्य मौज्दातबाट शुरू गर्न सकिन्छ र पछि न्यूनतम ५०० रुपैयाँ राखेर कारोबार गर्न सकिन्छ । मोबाइल बैंकिङ सेवा शुरू भइसकेको छ र बीमाका लागि सिटिजन इन्स्योरेन्ससँग सहकार्य गरिएको छ । अन्य सेवाहरू पनि विस्तार गर्दै जानेछौं ।
तपाईंको नेतृत्वमा सदस्यहरू कत्तिको सन्तुष्ट छन् ?
स्थापना कालदेखि नेतृत्व गरिरहँदा सहकारीका सदस्यहरूसँग तालिममा पनि सहभागी भएकी छु । फिल्डमा जाँदा सबै कारोवारमा सन्तुष्ट नै देखिन्छन् । तर, भन्ने बित्तिकै ऋण नपाउँदा गुनासोहरू त आउँछन् । अधिकांश सदस्य अहिलेसम्मको नेतृत्वसँग सन्तुष्ट छन् ।
सदस्यहरूलाई के सुझाव दिन चाहनुहुन्छ ?
सदस्यहरूले संस्थाप्रति अपनत्व राखिदिनु पर्छ । सदस्यको बचत र लगानी गरिसकेको ऋण निरन्तर गरिदिन अनुरोध गर्छु । संस्थामा सुझाव पेटिका र पुस्तिका छ । मुखले भन्न गाह्रो भएमा लिखित रुपमा सुझाव दिन सक्नु हुन्छ । सदस्यको सुझावअनुसार संस्थाले सीप सिकाउन, व्यावसायिक बनाउन, संस्था र राज्यको कानूनबारेमा जानकारी गराउन सधैं तत्पर रहेको छौं । अन्य खर्च कटाएर पनि सदस्यको लागि लगानी गर्न संस्था प्रतिबद्ध छ ।