निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारहरूको चुनावी खर्च पारदर्शी बनाउन कडा कदम चालेको छ । आयोगले अब उम्मेदवार मात्र होइन, उनीहरूको एकाघरका परिवार सदस्यहरूको बैंक खातासमेत निगरानीमा राख्न थालेको छ ।
निर्वाचन सम्बन्धी सम्पूर्ण खर्च अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था हुँदाहुँदै पनि अधिकांश उम्मेदवारले नगद तथा बैंकिङ प्रणाली बाहिरबाट खर्च गरेको पाइएपछि आयोगले यस्तो निर्णय गरेको हो । आयोगले आचारसंहितामै निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्न र सोही खातामार्फत सम्पूर्ण खर्च गर्न निर्देशन दिएको थियो ।
शुक्रबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहेका आयुक्त सगुन शमशेर जबराले निर्देशन अवज्ञा गर्ने उम्मेदवारमाथि प्रचलित कानूनअनुसार कडा कारबाही गरिने स्पष्ट पारे ।
उनका अनुसार उम्मेदवारको चुनावी खर्चको अनुगमन जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत भइरहेको छ । सहायक प्रमुख जिल्ला अधिकारीले निर्वाचन सामग्रीमा भएको खर्चको अनुगमन गर्ने तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका अधिकृतले सम्बन्धित जिल्लाका उम्मेदवारहरूको वित्तीय अवस्थाको निगरानी गर्ने व्यवस्था गरिएको छ । यस सम्बन्धमा नेपाल राष्ट्र बैंकलाई समेत पत्राचार गरिएको आयोगले जनाएको छ ।
आयुक्त जबराले उम्मेदवारले पुरानै बैंक खाता प्रयोग गरी खर्च गरेको पाइएमा उम्मेदवार र परिवार सदस्यको खाताको कारोबारमाथि निगरानी बढाइने बताए । निर्देशन उल्लंघन भए आचारसंहिता उल्लंघन तथा निर्वाचन कसुरसम्बन्धी कानुन अन्तर्गत कारबाही गर्दै आवश्यक परे ब्ल्याकलिस्टमा समेत राख्न सकिने चेतावनी उनले दिए ।
आयोगले सबै उम्मेदवार तथा राजनीतिक दललाई आचारसंहिताको पूर्ण पालना गर्न, निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेको छ ।