आगामी फागुन २१ गते हुने मतदानलाई सुरक्षित, शान्त र भयरहित बनाउन मतदानको सात दिनअघि देखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्ण निषेध लगाइएको छ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को दफा ३ बमोजिम मतदानको सात दिनअघि देखि लागु हुने गरी निर्णय गरेको हो। यसअनुसार फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसारमा पनि रोक लाग्नेछ।
निर्वाचन आयोगका अनुसार, निर्वाचन आचारसंहिताको पालना सुनिश्चित गर्न गृह मन्त्रालयले सबै जिल्ला प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिएको छ। जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्र परिचालन गरी निषेधित कार्य हुन नदिने र उल्लङ्घन भए तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउने व्यवस्था गरिएको छ।
मतदानको दिन सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक हुनेछ। यसमा अत्यावश्यक सेवा, कूटनीतिक नियोगका सवारीसाधन र पास प्राप्त सवारी बाहेक अन्य सवारी नचल्नेछन्। अत्यावश्यक सेवामा एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकाय, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका साधन समावेश छन्।
निर्वाचन सुरक्षा समितिले लागू गरेको यो कडा कदमले मतदातालाई सुरक्षित, व्यवस्थित र भयरहित वातावरणमा मतदान गर्न सकिने सुनिश्चित गर्ने लक्ष्य राखिएको निर्वाचन आयोगले जनाएको छ।