नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)को उपचारका लागि २४ घण्टाभित्र झण्डै डेढ करोड रुपैयाँ संकलन भएको छ। दाहिने घुँडामा गम्भीर चोट बोकेकी उनले सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा)बाट अपेक्षित सहयोग नपाएको गुनासो गर्दै सोमबार आर्थिक सहयोगको आह्वान गरेकी थिइन्।
उनको आह्वानपछि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी तथा विदेशी माध्यममार्फत करिब ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ। उपचारका लागि करिब एक करोड रुपैयाँ आवश्यक पर्ने बताइएको थियो। पर्याप्त रकम जुटिसकेपछि साम्बाले दुवै खातामा थप सहयोग रकम नपठाइदिन आग्रह गरेकी छन्।
उनले भनेकी छन्, “मेरो उपचारका लागि पर्याप्त सहयोग जुटिसकेको छ। साथ, विश्वास र मायाका लागि सबैमा हार्दिक धन्यवाद। यो चोटले मलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि थकाएको थियो। तर तपाईंहरूको साथले फेरि उठ्ने साहस दिएको छ। म अझ मजबुत भएर फर्कनेछु, नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु।”
अष्ट्रेलियामा सञ्चालन भइरहेको महिला ए–लिग प्रतियोगिताका क्रममा गत पुस तेस्रो साता उनी गम्भीर घाइते भएकी थिइन्। न्युजिल्यान्डको क्लब वेलिङ्टन फिनिक्सबाट खेल्दै आएकी साम्बाको दाहिने घुँडाको अगाडिको क्रुसिएट स्नायु (एसीएल) पूर्ण रूपमा च्यातिएको छ। ब्रिस्बेन रोअरविरुद्धको खेलमा विपक्षी टोलीकी गोलरक्षकसँग ठोक्किँदा उनी घाइते भएकी थिइन्। चिकित्सकका अनुसार मैदानमा पुनः फर्कन कम्तीमा ९ देखि १२ महिना लाग्नेछ।
यसअघि पनि चोटका कारण लामो समय मैदानबाहिर रहेकी साम्बाले २०७८ सालमा कतारमा शल्यक्रिया गराएकी थिइन्। यसपटक पनि कतारमै उपचार गर्ने उनको योजना छ। न्युजिल्यान्डस्थित क्लबको बिमाले कतारमा उपचार खर्च नबेहोर्ने भएकाले उनले एन्फासँग सहयोगको अपेक्षा गरेकी थिइन्।
साम्बा युरोपको शीर्ष पाँच लिगमध्ये एकमा खेल्ने पहिलो नेपाली खेलाडी हुन्। फ्रान्सको महिला फुटबल क्लब एन अवाँ गुइनगाम्पबाट दुई सिजन खेलेकी उनले युरोपेली लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान पनि बनाएकी छन्। भारतको महिला लिगमा गोकुलम केरल एफसीबाट १० खेलमा २९ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्दै टोलीलाई उपाधि दिलाएकी थिइन्। भारतमा तीन सिजन खेल्दा तीनै सिजन उपाधि जित्दै २४ खेलमा ६० गोलको कीर्तिमान पनि बनाएकी छन्।
दक्षिण एसियाकै उत्कृष्ट अग्रपंक्तिका खेलाडीमध्ये गनिने साम्बा हाल घरेलु लिगमा एपीएफ क्लबबाट खेल्छिन्। चोटसँग संघर्ष गरिरहेकी उनले दृढ संकल्प व्यक्त गर्दै भनेकी छन्, “देशका लागि, तपाईंहरूको विश्वासका लागि, म अवश्य फर्कनेछु।”