आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा नेपाल–भारत र नेपाल–चिन सीमा मतदान हुनुभन्दा ७२ घण्टाअघि बन्द गर्ने निर्णय उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले मंगलबार गरेको छ।
निर्वाचन आयोगमा बसेको बैठकमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयोगका सचिव कृष्ण बहादुर राउत, नेपाल प्रहरी आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरीका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए। बैठकमा सीमा सिलको समयसीमा, मादक पदार्थ बिक्रीमा रोक, तराईको होली पर्व र जनकपुर परिक्रमा मेला व्यवस्थापन, विदेशी नम्बर प्लेटका सवारी साधन रोक्ने उपाय र हिमाली जिल्लामा निर्वाचन सामग्री ढुवानी चुनौतीबारे छलफल भएको थियो।
बैठकमा सहभागी एक अधिकृतले भने, “सीमानामा ७२ घण्टा पूर्वबाट आवागमन बन्द गरिने निर्णय भएको छ। मादक पदार्थ बिक्रीमा रोक लगाउनेबारे आयोगले समय तोकेर विज्ञप्ति प्रकाशन गर्नेछ। हिमाली जिल्लामा मतपेटिका र निर्वाचन सामग्री कसरी लैजाने भन्ने विषयमा पनि तयारी भइरहेको छ।”
त्यस्तै, तराईमा फागुन १९ मा पर्ने होली पर्व र जनकपुरमा हुने परिक्रमा मेलाको व्यवस्थापनबारे पनि विशेष छलफल भएको थियो। भारतको सितमढीबाट जनकपुर आउने करिब ५–१० हजार मानिसको सुरक्षाप्रबन्ध कसरी गर्ने भन्ने विषयमा आयोगले विस्तृत योजना बनाउने तयारी गरेको छ।
निर्वाचन सुरक्षा र सुचारु प्रक्रियाको सुनिश्चितताका लागि आयोगले सीमासम्बन्धी, सामाजिक, सांस्कृतिक र भौगोलिक चुनौतीलाई मध्यनजर राख्दै ठोस योजना तयार गरेको छ।