राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले गम्भीर घुँडाको चोटका कारण जटिल शल्यक्रियाका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्।
पछिल्ला सात हप्तादेखि चोटका कारण मैदानबाहिर रहेकी भण्डारीले आफ्नो एसीएलमा हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर क्षति पुगेको जानकारी दिएकी छन्। यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वको पहलमा उपचार व्यवस्थापन सहज भएको उल्लेख गर्दै उनले यसपटक भने वाचा अनुसारको सहयोग नपाएको बताएकी छन्।
उनका अनुसार सुरुमा क्लबको पहलमा शल्यक्रियाको मिति तय गरिएको भए पनि एन्फाले आफ्नो तर्फबाट पहल गर्ने जनाएपछि प्रक्रिया रोकिएको थियो। तर पछि एन्फा नेतृत्वबाट प्रशासनिक सहयोग सम्भव नभएको र अधिकतम पाँच लाख रुपैयाँ नगद सहयोग गर्न सकिने जानकारी दिइएको उनले बताइन्। यसले उपचार प्रक्रिया थप ढिलाइ भएको उनको गुनासो छ।
हाल उनी आवद्ध क्लबले न्युजिल्यान्डमै उपचार गर्न तयार रहेको जनाए पनि सावित्राले अघिल्लो पटक जस्तै कतारको ‘अस्पेटार’ अस्पतालमै उपचार गराउने इच्छा व्यक्त गरेकी छन्। उनका अनुसार शल्यक्रिया र करिब ७–८ महिना पुनःस्थापनाका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने प्रारम्भिक अनुमान छ। क्लबबाट प्राप्त बीमा रकम अपुग हुने भएपछि उनले समर्थकसमक्ष सहयोगको अपिल गरेकी हुन्।
विदेशमा रहेकाले सरकारी निकायमार्फत पनि सहयोगको पहल भएको भए पनि प्रक्रिया अपेक्षाअनुसार अघि नबढेकाले शल्यक्रिया ढिलाइ गर्ने अवस्था नरहेको उनले उल्लेख गरेकी छन्।
“मैले सधैं देशका लागि शत प्रतिशत दिएको छु। इजरायल होस् या फ्रान्स, न्युजिल्यान्ड र अष्ट्रेलियामा खेल्दा पनि नेपालकै नाम बोकेको महसुस गरेको छु,” उनले भनिन्, “यो मेरो करियरकै सबैभन्दा कठिन लडाइँ हो। थाकेको हो, हारेको छैन।”
भण्डारीले नेपालमा रहने समर्थकलाई क्यूआर कोड वा बैंकमार्फत र विदेशमा रहनेलाई अनलाइन लिंकमार्फत सहयोग गर्न अनुरोध गरेकी छन्। पुनः राष्ट्रिय टोलीको जर्सी लगाएर मैदान फर्कने दृढ अठोट व्यक्त गर्दै उनले सन्देश दिएकी छन्— “जय नेपाल!”