झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले आफ्नो चुनावी बाचा पत्र सार्वजनिक गरेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धामा उत्रिएका बालेनले दमकमा निर्माण गरिएको भ्युटावर सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन्।
उनको बाचा पत्रमा उल्लेख छ, “दमक सभागृह र भ्युटावर लगायतका योजनाहरू उच्चतम नागरिक उपयोगिताका साथ सञ्चालनमा ल्याइनेछ।” करोडौं लगानीमा निर्माण भएको भ्युटावर लामो समयदेखि सञ्चालनमा नआउँदा आलोचनाको विषय बन्दै आएको छ।
बालेनले संविधानको परिपालना गर्दै संघीय संसदमा सक्रिय भूमिका निर्वाह गर्ने, आवश्यक कानुन निर्माण तथा संशोधनमार्फत कार्यान्वयनलाई नागरिकमैत्री बनाउने प्रतिबद्धता जनाएका छन्। संघीय सांसदको हैसियतले बेथिति र भ्रष्टाचारविरुद्ध अग्रपंक्तिमा उभिने उनको घोषणा छ। “राष्ट्रिय नीति तथा बजेटमा झापा–५ का विकासका मुद्दाहरू सशक्त रूपमा उठाउनेछु,” उनले बाचा पत्रमा उल्लेख गरेका छन्।
संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै विकास योजनाको प्रभावकारी अनुगमन गर्ने, स्थानीय जनताको आवाज संसदमा निरन्तर उठाउने तथा नेपाल सरकार र जेनजीबीच भएका सम्झौताहरू पारदर्शी रूपमा कार्यान्वयन गराउने उनको अर्को प्रतिबद्धता छ। साथै, स्थानीय तथा प्रदेश सरकारका योजनाहरू संघीय तहबाट छिटो र परिणाममुखी रूपमा कार्यान्वयन हुने वातावरण सिर्जना गर्ने उनले बताएका छन्।
संविधानले सुनिश्चित गरेका गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरणजस्ता आधारभूत अधिकार व्यवहारमा कार्यान्वयन गर्न आवश्यक कानुन र बजेट सुनिश्चित गर्ने उनको प्रतिबद्धता छ। “राष्ट्रहित विपरीत कुनै पनि सम्झौता गर्ने छैन। सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउनेछु,” उनले उल्लेख गरेका छन्।
शिक्षा क्षेत्रमा उनले विशेष प्राथमिकता दिएका छन्। गरिब तथा विपन्न परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, काठमाडौं महानगरमा लागू गरिएको ‘शिक्षामा सीप’ कार्यक्रम झापामा पनि विस्तार गर्ने, गौरीगञ्जस्थित ऐतिहासिक त्रिभुवन पुस्तकालय पुनर्निर्माण गरी डिजिटल अध्ययन अनुसन्धान केन्द्रका रूपमा सञ्चालन गर्ने, कोशी आयुर्वेद प्रतिष्ठान स्थापना गर्ने तथा कमल (लखनपुर) स्थित प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालन गर्ने योजना उनले अघि सारेका छन्।
त्यस्तै, दमक बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याउने, सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, प्रयोगशाला र पुस्तकालय स्थापना गर्ने, विद्यालय छाड्ने दर शून्यमा झार्ने, फरक क्षमता भएका बालबालिकाका लागि नीतिगत सुधार गर्ने, पाठ्यक्रममा स्थानीय भाषा र लिपि समावेश गर्ने तथा दमक–१० स्थित साइन्स पार्क व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका छन्।
पूर्वाधार तथा विकासतर्फ उनले विराट बुद्ध पार्क निर्माण सम्पन्न गर्ने, रतुवा र मावा खोलामा तटबन्ध निर्माण गरी कटान–डुबान नियन्त्रण गर्ने, दमकलाई पूर्वी नेपालको ‘आईटी हब’ का रूपमा विकास गर्ने, कन्काई–रतुवा सिँचाइ योजना विस्तार गर्ने तथा प्रत्येक पालिकामा ‘श्रम बैंक’ अवधारणा लागू गर्ने योजना अघि सारेका छन्।
कृषि क्षेत्रमा गौरादह कृषि भण्डारण केन्द्र स्थापना, गौरादह कृषि क्याम्पसलाई अनुसन्धान केन्द्रका रूपमा विकास, गौरीगञ्ज भन्सार व्यवस्थित सञ्चालन तथा दमक अस्पताललाई पहिलो चरणमा ३०० शैयाको अस्पतालमा स्तरोन्नति गर्ने प्रतिबद्धता छ। ग्रामीण तथा सीमावर्ती क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र विस्तार गर्ने उनले बताएका छन्।
खेलकुद प्रवर्द्धनका लागि दमक गोल्डकपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विकास गर्दै झापा–५ को अर्थतन्त्र, पर्यटन र खेलकुद क्षेत्रमा टेवा पुर्याउने योजना पनि उनले सार्वजनिक गरेका छन्।
राजनीतिलाई पेशा नभई सेवा बनाउने प्रतिबद्धता दोहोर्याउँदै बालेनले मतदाताको विश्वासलाई काममा रूपान्तरण गर्ने बताएका छन्। “मेरो राजनीति सेवा, इमानदारीता र परिणाममा आधारित हुनेछ,” उनको भनाइ छ।