आगामी २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले मतपत्र, मतपेटिका लगायत आवश्यक निर्वाचन सामग्रीहरू विभिन्न जिल्लामा पठाउन थालेको जनाएको छ।
निर्वाचन सुरक्षामा खटिने प्रहरीहरू सडकमा परिचालन भइसकेका छन् भने अन्य सुरक्षा निकायले पनि आवश्यक तयारीलाई सुदृढ बनाएको बताएका छन्। यसैक्रममा प्रधानमन्त्री सुशीला कार्की पछिल्ला केही दिनदेखि निर्वाचन तयारी र सुरक्षाको अवस्थाबारे बुझ्न विभिन्न जिल्ला र प्रदेशको भ्रमणमा छिन्।
सुरूमा हिमाली जिल्लाको अवस्थाबारे जानकारी लिएकी प्रधानमन्त्री कार्की हाल प्रदेशस्तरमा पुगेर वस्तुस्थितिको समीक्षा गरिरहेकी छिन्। भ्रमणमा उनका प्रमुख स्वकीय सचिव आर्दशकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावल पनि सहभागी छन्।
शनिबार प्रधानमन्त्री कार्कीको टोली लुम्बिनी प्रदेश मा रहेको छ। त्यसअघि शुक्रबार टोली पोखरा हुँदै मुक्तिनाथ मन्दिर सम्म पुगेको थियो। पोखरामा उनले सुरक्षा निकायका अधिकारीहरूसँग घनिभूत छलफल गर्दै निर्वाचनका क्रममा उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा जोखिमप्रति सजग रहन निर्देशन दिएकी थिइन्।
छलफलमा सहभागी एक सरकारी अधिकारीका अनुसार, प्रधानमन्त्रीले स्पष्ट रूपमा निर्वाचन तयारीमा पूर्ण रूपमा जुट्न निर्देशन दिएकी छिन्। सुरक्षा निकायले मतदाता, उम्मेदवार, मौसम अवस्था तथा हिमाली–पहाडी जिल्लाको सुरक्षाबारे जानकारी गराएको थियो।
गण्डकी प्रदेश मा १८ लाख मतदाता र ३१४ उम्मेदवार रहेका छन्। प्रदेशभर १ हजार २९९ मतदानस्थल छन्, जसमध्ये हिमपात भए ४५ मतदानस्थल प्रभावित हुनसक्ने सुरक्षा निकायले ब्रिफिङ गरेको थियो। हालसम्म भने ती क्षेत्रमा कुनै समस्या नरहेको जानकारी दिइएको छ।
उच्च हिमाली क्षेत्रमा हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै यसपटक निर्वाचन सामग्री थप गरिएको छ। उच्च उचाइमा प्रयोग हुने औषधि तथा पोर्टेबल स्वास्थ्य सामग्री समेत व्यवस्थापन गरिएको बताइएको छ।
प्रधानमन्त्री कार्कीले केही समूहले निर्वाचन बिथोल्ने प्रयास गर्न सक्ने संकेत गर्दै सबै सुरक्षा निकायलाई चनाखो रहन आग्रह गरेकी छिन्। “विभिन्न समूहहरू चुनाव बिथोल्न सकिन्छ कि भनेर सक्रिय छन्। बहिष्कार भन्ने कुरा पेशाजस्तै बन्न थालेको छ,” उनले भनेको उद्धृत गर्दै एक अधिकारीले जानकारी दिए।
प्रधानमन्त्रीले सबै राजनीतिक दल उत्साहपूर्वक निर्वाचनमा लागेको देखेर आफू सन्तुष्ट भएको पनि बताइन्। साथै पछिल्ला समय सक्रिय भएका राजावादी समूहहरूको गतिविधिप्रति सतर्क रहन निर्देशन दिएकी छिन्। विशेषगरी मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका गतिविधिमाथि निगरानी राख्न सुरक्षा निकायलाई आग्रह गरिएको छ।
“केही व्यक्ति र संस्थालाई मूलधारमा ल्याउने प्रयास गरियो। तर धर्मको नाममा अराजक गतिविधि बढेपछि अवस्था सामान्य बनाउन सरकार बाध्य छ,” प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गरिएको छ।
गण्डकीमा छलफल सम्पन्न गरेपछि लुम्बिनी पुगेकी प्रधानमन्त्री कार्कीले शनिबार बुटवलमा पनि सुरक्षा अवस्थाबारे समीक्षा गरेकी छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा सरकार र सुरक्षा निकायले तयारीलाई तीव्र बनाएका छन्।