चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेर मात्रै सीमित नबस्ने भन्दै नेपाली कांग्रेसले आज आफ्ना एजेन्डामाथि खुला प्रश्नोत्तर कार्यक्रम आयोजना गरेको छ। दलहरू प्रश्नबाट भाग्ने होइन, सामना गर्नुपर्छ भन्ने सन्देशका साथ कांग्रेसले नागरिकलाई सिधै प्रश्न सोध्न आह्वान गरेको हो।
नेपाली कांग्रेसले बुधबार जनकपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिज्ञापत्रको विस्तृत जानकारी आज दिउँसो १ बजेदेखि काठमाडौंस्थित राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न’ कार्यक्रममा प्रस्तुत गरिनेछ।
कार्यक्रममा पार्टी सभापति गगनकुमार थापाले देश तथा विदेशबाट प्रविधिमार्फत आउने प्रश्नहरूको प्रत्यक्ष जवाफ दिने कार्यक्रम तय गरिएको छ। कार्यक्रम स्थलमा उपस्थित सहभागीहरूबाट समेत प्रत्यक्ष प्रश्न लिने र त्यसको उत्तर सभापतिले दिने व्यवस्था मिलाइएको छ।
सभापति थापाले नागरिकलाई कार्यक्रममा सहभागी भई आफ्ना जिज्ञासा राख्न आग्रह गर्दै भनेका छन्, “राजनीतिक दलहरू जबाफदेही हुनुपर्छ। प्रश्नबाट भाग्ने होइन, प्रश्नको सामना गर्न सक्नुपर्छ। तपाईंका प्रश्नको प्रत्यक्ष उत्तर दिन हामी राष्ट्रिय सभागृहमा हुनेछौँ।”
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार प्रविधिको प्रयोगमार्फत संसारभरिबाट प्रत्यक्ष रूपमा प्रश्न सोध्न सकिने र त्यसको जवाफ सभापतिले तत्काल दिने व्यवस्था गरिएको छ।
कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने अवसर पाए आगामी पाँच वर्षमा गर्ने कामको खाका प्रतिज्ञापत्रमार्फत सार्वजनिक गरिसकेको छ। ‘भिजन टेन’ अन्तर्गत समेटिएका योजना र प्रतिबद्धताबारे नागरिकले आज सिधै सभापति थापासँग प्रश्न गर्न पाउनेछन्।
नेपालको राजनीतिक इतिहासमा चुनावी घोषणापत्रबारे नागरिकले प्रत्यक्ष प्रश्न गर्ने र सम्बन्धित दलका शीर्ष नेताले सार्वजनिक रूपमा जवाफ दिने अभ्यास पहिलोपटक हुन लागेको दाबी कांग्रेसको छ।
उक्त कार्यक्रम सयौँ सञ्चारमाध्यममार्फत प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ।