नेकपा (एमाले) का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले पर्सा–१ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. ११ र १४ को रानीघाट, श्रीपुर, बहुवरी क्षेत्रमा आज घरदैलो तथा जनता दर्शन कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।
उम्मेदवार यादवले आफ्ना दुई अघिका संसदीय कार्यकालका उपलब्धि र क्षेत्रीय विकासका पहलहरूको मूल्यांकन गर्दै मतदातालाई “कामका आधारमा मतदान गर्नुहोस्” भनेर आग्रह गरे। उनले भने, “१० वर्षअघि पर्सा–१ को अवस्था सम्झनुहोस्। सडक, विद्यालय, विवाह भवन, खेलमैदान, मसान घाट, मन्दिर र मस्जिदहरूको हालत के थियो? निर्वाचित भएपछि भएका विकासहरू तपाईंहरूले आफैं देख्न सक्नुहुन्छ।”
उनी आफैंलाई क्षेत्रको हरेक टोल र समस्या–समाधानमा जानकार उम्मेदवारका रूपमा प्रस्तुत गर्दै थपे, “मलाई यस क्षेत्रको प्रत्येक टोलको पूर्ण जानकारी छ। तर अन्य उम्मेदवारलाई यहाँका टोलहरूको नामसमेत थाहा नहुन सक्छ।”
यादवले नेकपा (एमाले) को राष्ट्रियता मजबुत पार्ने, आर्थिक समृद्धि ल्याउने र समाजवाद उन्मुख विकासको एजेन्डालाई आफ्नो व्यक्तिगत प्रतिबद्धताका रूपमा ग्रहण गरेको बताए। साथै उनले चुनावी मौसममा मात्र जनतासँग आउने उम्मेदवारहरूलाई पनि पहिचान गर्न आग्रह गर्दै भने, “पाँच वर्षमा एक पटक मत माग्न आउनेहरूले क्षेत्रको विकास गर्न सक्दैनन्। म सधैं जनताको सुख–दुखमा साथी बनेर बस्छु।”
कार्यक्रममा नेकपा (एमाले) की केन्द्रीय सदस्य निर्मला देवकोटा, पूर्व केन्द्रीय सदस्य अरविन्द सिंह, जिल्ला उपाध्यक्ष सुन्दर कुर्मी लगायतको उपस्थिती रहेको थियो।