राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले बुधबार वीरगञ्ज महानगरपालिका–३ छपकैया मा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।
कार्यक्रमका क्रममा कानुले आफ्नो विकास योजना र प्रतिबद्धता सार्वजनिक गर्दै भने, “मसँग पर्साको सर्वाङ्गीण विकासका लागि स्पष्ट एजेन्डा, रोडम्याप र ब्लु–प्रिन्ट छ। निर्वाचित भएको सय दिनभित्रै जिल्ला र क्षेत्रवासीले परिवर्तनको अनुभूति गर्नुहुनेछ।”
उहाँले विगतका निर्वाचित प्रतिनिधिहरूमाथि रोजगारी, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमा पर्याप्त काम नगरेको आरोप लगाउँदै, “आज पनि यो क्षेत्र २० वर्षअघिकै अवस्थामा छ। म निर्वाचित भएपछि यो अवस्था परिवर्तन गर्नेछु।”
कानुले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गर्दै मुस्लिम महिला र युवाहरूका लागि रोजगारीमुखी तथा सीपमूलक तालिम सञ्चालन गर्ने योजना प्रस्तुत गरे।
कार्यक्रममा स्थानीयवासी, विशेषगरी युवा र ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। युवाहरूले कानुको उत्साहपूर्वक स्वागत गर्दै “परिवर्तनका लागि घण्टीमा मत हालौँ” भन्ने नारासमेत लगाएका थिए।
कानुले मतदातालाई रास्वपाको चुनाव चिन्ह ‘घण्टी’मा मतदान गर्न आग्रह गर्दै रास्वपाका सबै उम्मेदवारलाई विजयी गराएर मधेसी समुदायका बालेन्द्र शाह (बालेन) लाई देशकै पहिलो प्रधानमन्त्री बनाउन सकिने दाबीसमेत गरे।