जनकपुरस्थित मधेश प्रदेशसभा भवनको ठ्याकै पछाडि छ–मुसहरी (दलित) टोल । ऐलानी जग्गामा कच्ची र केही पक्की घरहरू छन् । मुसहरी टोलमा न कुनै भौतिक विकास पुगेको छ, न त शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको अनुभूति नै गर्न पाएका छन्, यहाँका मुसहरहरूले । सधैं गरिबी, अशिक्षा र अभावले पिल्सिएका मुसहरहरूको भोट लिन चुनावका बेला नेताहरू आइपग्छन् तर, चुनाव सकिएपछि अभाव, दुःख र पीडाको भार थाम्न कोही आउँदैन् ।
‘सबदिन एगो दुगो नेतासब चौक पर अबैहै, चुनाव होतै फगुवामे कहादुन । हमरासभके कोन मतलब कोई आए जाए हमरासभक दशा पुरने है ।’
(आजभोली सधैं एकदुईजना नेताहरू चौकमा आउँछन्, चुनाव हुन्छ रे फागुनमा । तर, हामीलाई के मतलब जो आएपनि हाम्रो दशा उही पुरानो छ ।) गत विहिबार घरमै भेटिएकी उसादेवी सदालाई आसन्न प्रतिनिधिसभाको निर्वाचनको चहलपहलले खासै प्रभावित गर्न सकेको छैन् ।
अर्को घर छ, उसादेवी सदाको । उसाका चार छोराहरू छन् । सबैको विवाह भइसकेको छ । ९ जना नातिनातिनाहरू कोही पनि न त विद्यालय जान्छन्, न उनको परिवारमा कोही पढेलेखेका नै छन् । श्रीमान विन्देश्वर सदा पनि बेरोजगार छन् । ठूलो छोरा मनोज गाडी चलाउँछ र अन्य तीन छोराहरू मजदूरी गर्छन् ।
जनकपुरधाम उपमहानगरपालिका १२ मा पुस्तौंदेखि बस्दै आएकी उसाले हालसम्म तीनवटा चुनावमा भोट हालेको सम्झिन्छिन्, तर अब उनलाई भोटमात्रै एक दिनको चहलपहल होजस्तो लाग्छ । यसले गरीब र विशेष गरि मुसहरबस्तीमा कुनै परिवर्तन ल्याउन नसकेको उसाको ठम्याइ छ । ‘यो भन्दा पहिला पनि भोट दिएकी थिएँ । खै को जित्यो थाहा भएन । मेरो श्रीमानले जुन छापमा भन्नुभयो, त्यसमै भोट हालेँ । पहिला पनि भोट हालेकै हो । तर, यो भोट हालेको दिनपछि के हुन्छ खै हामी त मजदूरी गरेर खानेहरू हौं । हाम्रो लागि न त कसैले कहिल्यै कुनै राहत ल्याइदिएको छ, न त कुनै सहयोग छ ।’
उसका चारजना बुहारीहरू जेठी तुल्फी सदा, अनिता सदा, गुडिया सदा र सुनिता सदामध्ये कसैको पनि नागरिकता बनेको छैन । न त बालबच्चाहरूको जन्मदर्ता नै छ । बुहारीहरू सबैको माइती जनकपुरमै छ । तर, उनीहरूको नागरिकता हालसम्म बन्न सकेको छैन । नागरिकता नै नभएपछि उनीहरूले आफ्नो मतसमेत हाल्न पाउने अधिकार पाएका छैनन् । ‘नागरिकता बनाउन एक दुई पटक सीडीओ आफिस गएकी थिएँ । तर, त्यहाँ सबै काम गराउन पैसा माग्छन् । हामीलाई लेखपढ गर्न आउँदैन् । मेरो श्रीमानलाई पनि आउँदैन आफिसमा बिना पैसाको त कसैले गर्दैन । नागरिकता बनाउन तेत्रो पैसा कहाँबाट आउँछ ? यही हैरानीले हालसम्म नागरिकता बनेन,’ उसाकी बुहारी गुडिया भन्छिन्, ‘भोट माग्न आउनेहरू पनि हाम्रो बस्तीभित्र छिर्दैनन् । टोलको बाहिरै पुरुषहरूसँग भेटेर जान्छन् हामीलाई भेट्न आएको भए म भन्थेँ होला–जसले हाम्रो नागरिकता बनाइदिन्छ हामी त्यसलाई नै भोट दिन्छौं ।’
यो टोलका अधिकांश बुहारी पुस्ता र छोरी पुस्ताहरूसँग नागरिकता छैन । त्यसैकारण उनीहरूले मतदाता परिचयपत्र पनि बनाउन पाएका छैनन् । ‘यी चुनावसभ बरका लोकसभके बात है । हमरासभके देखनिहार कोईनै हई (यो चुनाव जस्ता कुराहरू ठूला मान्छेका हुन् । हामीलाई त हेर्नसमेत कोही आउदँैनन् ।),’ नागरिकताविहीन तुल्फी सदा भन्छिन्, ‘हमरासभके बालबच्चासभके जन्मदर्तानै बना दैहै । नत कहियो कोनो राहत भेटै है नत रोजगारी (हाम्रो छोराछोरीलाई त कसैले जन्मदर्तासमेत बनाइदिएको छैन । हामीले न त कहिल्यै कुनै राहत पाएका छौं नत रोजगारी नै ।’
‘चुनावको बेला भोट माग्न आउने नेताहरू सडकबाट हात जाड्दै हिँड्ने गर्छन् र जितेपछि गाडीमा धुलो उडाउँदै हिड्छन् गरीबहरू त्यही धुलो फाकेर बस्नुबाहेक केही काम नै छैन्,’ जनकपुरधाम उपमहानगरपालिका– २५ लोहना घर भएकी ५५ वर्षिय अनुपिया सदा भन्छिन्, ‘पहिला पनि चुनाव आउँदा नेताहरू मिठो बोली बोलेर हाम्रो मुसहरी छिर्ने गर्छन् । जितेपछि यो गर्छु, त्यो गर्छु भनेर भन्छन् । तर, जितेर गएपछि केही हुँदैन । हाम्रो अवस्था झनै खराब भएको छ । मेरो त सरकारी कोटाबाट घर बनाइदिन्छु भनेर सबै लेखेर लगेको थियो । तर, केही दिएन भएको घर पनि उजाडेर अहिले हामी छाप्रोमा बस्न बाध्य भएका छौं । यस्ता नेताहरूलाई किन भोट दिने ?’
धनुषा— ३ निर्वाचन क्षेत्रमा पर्ने यी बस्तीहरूकै भोटबाट जितेका नेताहरू पटकपटक मन्त्री बने । ०७४ सालमा तत्कालीन राजपाबाट राजेन्द्र महतोले चुनाव जिते । त्यसअघि कांग्रेसले लगातार जित्ने गरेको थियो । ०४८ मा महेन्द्रनारायण निधिले जितेको यो क्षेत्र निधीको निधनपछि छोरा विमलेन्द्र निधीको गढ बन्यो । ०६४ को पहिलो संविधानसभा र ०७० को दोस्रो संविधानसभामा निधी यसै क्षेत्रबाट विजयी भए । पार्टी र सरकारको नीति निर्माण तहमै पुगे । निधीले गृह र शिक्षाजस्ता प्रभावशाली मन्त्रालयको नेतृत्व पनि सम्हाले । ०७९ को निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी थिइन् । उनी पनि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको पद सम्हालेकी थिइन् । तर, आफ्नो क्षेत्रका मुसहर र दलितहरूको उत्थान तथा विकासका लागि खासै काम गर्न सकेकी छैनन् ।
हाल, यस क्षेत्रबाट कांग्रेसका विमलेन्द्र निधी, एमालेकी जुली महतो र रास्वपाका मनिष झालगायतका उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।
‘दलितका लागि बनेका कानून र संविधानमा भएको व्यवस्था नै विभेदकारी छ,’ दलित अधिकारकर्मी विनोद महरा भन्छन्, ‘दलित समुदाय सधैं पछाडि पर्नुको कारण हो–यस समुदायबाट नेता जन्मिन नसक्नु । नेता नै नभएपछि मुसहर, चमार, डोम, हलखोर, मेस्तरलगायतका अतिविपन्न र दलित वर्गको आवाज मूलधारमा कसले ल्याइदिने हो ? उनीहरूको भोटमात्रै प्रयोग हुँदै आएको छ ।’