लायन्स क्लब अफ सेन्ट्रलसिटी र सानो पाइला संस्थाको संयुक्त आयोजनामा बालबालिकामा मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच, आत्मविश्वास तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
वीरगञ्जस्थित नवदीप एकेडेमीमा आयोजित कार्यक्रममा कक्षा ३ र ४ मा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा बालबालिकालाई मानसिक स्वास्थ्यका साथै ‘गुड टच’ र ‘ब्याड टच’ सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो ।

प्रशिक्षकहरूले सुरक्षित र असुरक्षित व्यवहारबारे सरल र खुला रूपमा जानकारी गराउँदै कुनै असहज अवस्था आएमा तत्काल अभिभावक, शिक्षक वा विश्वासिला व्यक्तिलाई जानकारी गराउन आग्रह गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले समेत खुलेर आफ्ना जिज्ञासा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि डिजी लायन रामबिहारी पाण्डेलाई लायन्स क्लब अफ सेन्ट्रलसिटीकी अध्यक्ष लायन सुशीला साहले फूलमाला, खादा, सम्मानपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरेकी थिइन् ।
सो अवसरमा बोल्दै पाण्डेले बालबालिकाको मानसिक स्वास्थ्य र सुरक्षा आजको समाजको महत्वपूर्ण विषय भएको उल्लेख गर्दै विद्यालयस्तरबाट यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन हुनु सकारात्मक कदम भएको बताए । उनले बालबालिकालाई आत्मविश्वासी, सचेत र सुरक्षित बनाउन अभिभावक, विद्यालय र समाज सबैको साझा जिम्मेवारी रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा लायन सुनिल कुमार गुप्ता, गुडी जोशी, दिगम्बर गुप्तालगायत समाजसेवी तथा लायन्सकर्मीहरूको सहभागिता रहेको थियो । वक्ताहरूले मानसिक स्वास्थ्यलाई अझै पनि समाजमा खुला रूपमा छलफल नगरिने विषयका रूपमा हेरिने भएकाले विद्यालय तहबाटै जनचेतना फैलाउन आवश्यक रहेको बताए ।
उनीहरूले बालबालिकालाई मानसिक रूपमा स्वस्थ, आत्मबलयुक्त र जिम्मेवार नागरिक बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राखेका थिए ।
सानो पाइला संस्थाका राजकुमार तामाङ, काजल झा तथा रेखा कुर्मीले मानसिक स्वास्थ्यसम्बन्धी प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा बालबालिकालाई मानसिक स्वास्थ्यको महत्व, सकारात्मक सोच, आत्मसम्मान, भावनात्मक सन्तुलन तथा दैनिक जीवनमा अपनाउनुपर्ने व्यवहारिक पक्षबारे जानकारी गराइएको आयोजकले जनाएको छ ।

लायन्स क्लब अफ सेन्ट्रलसिटीकी अध्यक्ष सुशीला साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबकी सचिव लायन कविता खड्काले गरेकी थिइन् । आयोजक संस्थाले आगामी दिनमा पनि विद्यालयस्तरमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।


