मधेश प्रदेश सरकारको राजनीतिक समीकरण फेरिएसँगै मुख्यमन्त्री कृष्णप्रसाद यादव आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा छन् ।
विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा निर्णयका लागि प्रदेशसभा बैठक दिउँसो १ बजे बोलाइएको छ ।
जनमत पार्टी ले वैशाख २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने अवस्था बनेको थियो ।
यसअघि जेठ १ गतेका लागि बोलाइएको बैठकमा विश्वासको मत लिने तयारी भए पनि सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टि र समर्थन सुनिश्चित नभएकाले प्रक्रिया अघि बढ्न सकेको थिएन । विशेषगरी जनता समाजवादी पार्टी नेपाल ले समर्थनबारे स्पष्ट निर्णय नगर्दा सरकार दबाबमा परेको थियो ।
यता विश्वासको मत लिनुअघि नै मधेश प्रदेशको सत्ता समीकरणमा ठूलो फेरबदल गरिएको छ । मुख्यमन्त्री यादवले जसपा नेपाललाई सरकारबाट बाहिर गर्दै नेकपा एमाले लाई सरकारमा सहभागी गराएका छन् ।
यसक्रममा जसपा नेपालबाट सरकारमा रहेका तीन मन्त्रीलाई पदमुक्त गरिएको छ भने एमालेका मोहम्मद समिर लाई विनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरिएको छ ।
नयाँ समीकरणसँगै अहिले मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच सहकार्य बनेको छ ।
गठबन्धन परिवर्तनपछि मुख्यमन्त्री यादवले जनमत पार्टी र जसपा नेपालबाट सरकारमा सहभागी मन्त्रीहरूलाई राजीनामा दिनसमेत आग्रह गरेका छन् ।