नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको २५औँ साधारणसभामा पत्रकारिताको विश्वसनीयता, प्रेस स्वतन्त्रता र पेशागत सुरक्षामाथि बढ्दो चुनौतीबारे गम्भीर चिन्ता व्यक्त गरिएको छ । वक्ताहरूले पत्रकारिताको संस्थागत अस्तित्व जोगाउन पेशागत एकता अपरिहार्य रहेको बताएका छन् ।
महासङ्घको केन्द्रीय कार्यालयस्थित सभाहलमा सम्पन्न साधारणसभामा शाखाकी अध्यक्ष शोभा अर्यालको अध्यक्षता तथा शाखाका संस्थापक अध्यक्ष किशोर नेपालको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष किशोर नेपालले पछिल्लो समय पत्रकारिता विभिन्न चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै पत्रकारहरू निष्पक्षता, निर्भीकता र आचारसंहिताप्रति प्रतिबद्ध हुनुपर्ने बताए । सामाजिक सञ्जालको प्रभाव बढे पनि मूलधारका सञ्चारमाध्यमको भूमिका अझै सशक्त र अपरिहार्य रहेको उनको भनाइ थियो ।
“पत्रकारले निष्पक्षता, निर्भीकता र आचारसंहितालाई आत्मसात् गर्न सके मात्र पत्रकारिताप्रतिको जनविश्वास कायम रहन्छ,” उनले भने ।
नेपालले सरकारको विज्ञापन नीति अस्थिर हुँदा निजी सञ्चारमाध्यम आर्थिक संकटमा परेको टिप्पणी गर्दै पत्रकारिताको संस्थागत अस्तित्व जोगाउन पेशागत एकता आवश्यक रहेको बताए । काठमाडौं शाखाले देशभरका पत्रकारलाई नेतृत्वदायी दिशा दिन सक्नुपर्नेमा पनि उनले जोड दिए ।
महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप बढ्दै गएको बताइन् । विभिन्न कानून र सरकारी परिपत्रमार्फत सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने प्रयास भइरहेको आरोप लगाउँदै उनले प्रेस स्वतन्त्रताको पक्षमा महासङ्घ निरन्तर सक्रिय रहेको जानकारी दिइन् ।
उनले अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र पत्रकारितालाई थप मजबुत बनाउन संविधान संशोधनसम्बन्धी सुझावसमेत दिने तयारी भइरहेको बताइन् ।
केन्द्रीय वरिष्ठ उपाध्यक्ष उमिदप्रसाद बागचन्दले नेपाली पत्रकारिता क्रमशः मर्यादित बाटोबाट विचलित हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे । महासङ्घकी पूर्वकार्यवाहक अध्यक्ष बाला अधिकारीले सामाजिक सञ्जाल बन्द हुँदा समेत महासङ्घ प्रभावकारी रूपमा उभिन नसकेको टिप्पणी गरिन् ।
शाखाका पूर्वअध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्वसदस्य शान्तराम बिडारीले पत्रकारिताको पेशागत संरक्षणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । महासङ्घजस्तो मर्यादित संस्थाले सही निर्णय लिन नसके थप संकट निम्तिन सक्ने चेतावनी दिँदै उनले पत्रकार महासङ्घलाई स्वतन्त्र रूपमा अघि बढाउनुपर्ने धारणा राखे ।
अध्यक्ष शोभा अर्यालले आफ्नो कार्यकालमा शाखाले संस्थागत सुदृढीकरण, प्रेस स्वतन्त्रताको रक्षा, पत्रकार क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रका समस्याको समाधानमा सक्रिय भूमिका खेलेको बताइन् ।
उनका अनुसार शाखाले मिडिया बचाउ अभियान, पत्रकार तालीम, रक्तदान कार्यक्रम तथा अन्तरजिल्ला सहकार्यजस्ता कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरेको छ ।
सीमित स्रोतसाधनका बाबजुद शाखाको गरिमा उँचो राख्ने प्रयास गरिएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि पत्रकार हित र संस्थागत विकासका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन् ।