राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय पर्साले सोमबार विद्युतीय कारोबार ऐन, २०६३ र राज्यविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालय पर्साका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्ताका अनुसार अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा अघि बढाइएको हो । प्रहरीका अनुसार सर्वोच्च अदालतको आदेशअनुसार अनुसन्धान प्रक्रिया पूरा गरी प्रतिवेदन पेश गरिएको थियो ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले जेठ ८ गते प्रसाईंलाई हिरासतमा राख्न थप म्याद नलिन आदेश दिएको थियो । साथै अनुसन्धान सकिएमा मुद्दा दर्ता गर्न वा नसकिएमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पनि निर्देशन दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदिपराज पाठकका अनुसार सर्वोच्चको आदेशअनुसार अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइएको हो । उनले भने, ‘सर्वोच्चको आदेशअनुसार हामीले प्रतिवेदन बुझाएका हौं ।’
प्रसाईंलाई प्रहरीले जेठ ४ गते पक्राउ गरेको थियो । उनलाई पहिलो पटक तीन दिन र दोस्रो पटक चार दिनका लागि म्याद थप गरिएको थियो । सो समयावधि सकिएपछि मुद्दा दर्ता गरिएको हो ।
प्रहरीले प्रसाईंलाई उनका अभिव्यक्तिसँग सम्बन्धित विषयमा पटक–पटक पक्राउ गर्दै आएको छ ।