एसईईको नतिजा सार्वजनिक भएसँगै देशभर कक्षा ११ को भर्ना अभियान सुरु भएको छ । औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा परिचित वीरगञ्जमा भने यसपटक व्यवस्थापन शिक्षाप्रति विद्यार्थीको आकर्षण उल्लेखनीय रूपमा बढेको देखिएको छ । व्यापार, उद्योग, बैंकिङ, भन्सार, यातायात, होटल व्यवसाय, सूचना प्रविधि तथा उद्यमशीलताको केन्द्रका रूपमा विकसित भइरहेको वीरगञ्जमा व्यवस्थापन शिक्षा अब केवल एक विषयगत धारमा सीमित नरही भविष्य निर्माणको आधारका रूपमा स्थापित हुन थालेको शिक्षाविद्हरू बताउँछन् ।
नेपाल–भारत व्यापारको मुख्य प्रवेशद्वार मानिने वीरगञ्जले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । देशकै प्रमुख भन्सार कार्यालय, सुख्खा बन्दरगाह (ड्राइ पोर्ट), उद्योग कलकारखाना, बैंक तथा व्यापारिक प्रतिष्ठानहरूको केन्द्रका रूपमा रहेको यस सहरमा व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीका लागि व्यावहारिक अवसर पनि अन्य शहरको तुलनामा बढी रहेको जानकारहरूको भनाइ छ । यही कारण पछिल्ला वर्षमा एसईई उत्तीर्ण विद्यार्थी तथा अभिभावकको रोजाइमा व्यवस्थापन संकाय प्रमुख बन्दै गएको छ ।
एक समय थियो, जब एसईईपछि विज्ञान पढ्न सकेमात्र राम्रो विद्यार्थी भन्ने सामाजिक धारणा बलियो थियो । तर, अहिले समय बदलिएको छ । विद्यार्थीहरू आफ्नो रुची, करिअरको सम्भावना तथा आर्थिक अवसरलाई हेरेर विषय छनोट गर्न थालेका छन् । यही परिवर्तनले व्यवस्थापन शिक्षालाई लोकप्रिय बनाएको हो । व्यवस्थापन अध्ययनले विद्यार्थीलाई केवल लेखा वा व्यवसायमात्र सिकाउँदैन, यसले नेतृत्व क्षमता, सञ्चारकला, आर्थिक सोच, निर्णय क्षमता तथा व्यवहारिक व्यवस्थापन सीप विकास गर्ने व्यवस्थापन विषयमा लामो समय अध्यापनको अनुभव भएका सहायक प्राध्यापक इन्दुशेखर मिश्रको भनाइ छ ।
ग्लोबल बिजनेश कलेजवीरगञ्ज उद्योग वाणिज्य संघसँग आबद्ध व्यवसायीहरूका अनुसार अहिले बजारमा दक्ष व्यवस्थापक, अकाउन्टेन्ट, मार्केटिङ अफिसर, बैंकिङ जनशक्ति तथा उद्यमशील सोच भएका युवाको माग तीव्र रूपमा बढिरहेको छ । यही कारण धेरै अभिभावकले आफ्ना छोराछोरीलाई व्यवस्थापन धारतर्फ प्रोत्साहित गरिरहेको संघका अध्यक्ष हरि गौतमको भनाइ छ । ‘विशेषगरी बैंकिङ तथा वित्त, चार्टर्ड एकाउन्टेन्सी, होटल व्यवस्थापन, डिजिटल मार्केटिङ, उद्यमशीलता, विदेश अध्ययजस्ता क्षेत्रका कारण व्यवस्थापन शिक्षा अझ आकर्षक बन्दै गएको हो,’ गौतमले भने ।
वीरगञ्जलाई नेपालको आर्थिक राजधानीसमेत भन्ने गरिन्छ । यहाँ साना–ठूला उद्योग, व्यापारिक प्रतिष्ठान, यातायात कम्पनी, आयातनिर्यात व्यवसाय, बैंक तथा वित्तीय संस्था ठूलो संख्यामा सञ्चालनमा छन्। दैनिक हजारौं मानिस व्यापार तथा व्यवसायसँग प्रत्यक्ष जोडिएका छन् । यस्तो शहरमा व्यवस्थापन शिक्षा केवल सैद्धान्तिक नभई व्यवहारिक अध्ययनको माध्यम बन्न सक्ने सम्भावना अत्यधिक रहेको शिक्षाविद्हरू बताउँछन् ।
वीरगञ्ज कलेजअन्य शहरमा विद्यार्थीले पुस्तकमा व्यापार पढ्ने भए पनि वीरगञ्जमा उनीहरूले प्रत्यक्ष रूपमा उद्योग सञ्चालन, बजार व्यवस्थापन, बैंकिङ प्रणाली, आयात–निर्यात प्रक्रिया, भन्सार प्रशासन तथा व्यापारिक नेटवर्कजस्ता विषय नजिकबाट बुझ्ने अवसर पाउने दाबी संघका उपाध्यक्ष माधव राजपाल बताउँछन् ।
स्थानीय उद्योगीहरूका अनुसार भविष्यमा वीरगञ्जलाई आधुनिक व्यावसायिक शिक्षा केन्द्रका रूपमा विकास गर्न सकिने ठूलो सम्भावना छ । यदि कलेजहरूले उद्योग तथा व्यापारिक संस्थासँग सहकार्य गरेर इन्टर्नसिप, प्रोजेक्ट वर्क तथा व्यवहारिक प्रशिक्षण शुरु गरे विद्यार्थीले अध्ययनकै क्रममा रोजगारीउन्मुख सीप हासिल गर्न सक्नेछन् ।
वीरगञ्जका अधिकांश +२ कलेजहरूका अनुसार पछिल्ला पाँच वर्षमा व्यवस्थापन धार रोज्ने विद्यार्थीको संख्या निरन्तर बढिरहेको छ । विज्ञान पढ्न आवश्यक खर्च, दबाब तथा सीमित सिटका कारण पनि धेरै विद्यार्थी व्यवस्थापनतर्फ आकर्षित भएका छन् । तर, शिक्षाविद्हरू भन्छन, ‘व्यवस्थापन रोज्नु बाध्यता होइन, अहिले यो अवसर बनेको छ ।’ व्यवस्थापन पढेका विद्यार्थीले पछि बैंकिङ, बीमा, उद्योग, होटल, सूचना प्रविधि, सरकारी सेवा, उद्यमशीलता तथा विदेशी विश्वविद्यालयसम्मका क्षेत्रमा प्रवेश गर्न सक्ने भएकाले यसको दायरा फराकिलो रहेको उनीहरूको भनाइ छ ।
विशेषगरी अंग्रेजी भाषा, कम्प्युटर तथा प्रस्तुतीकरण सीपमा राम्रो आधार तयार हुने भएकाले विदेश अध्ययनका लागि पनि व्यवस्थापन धार उपयोगी मानिन्छ । वीरगञ्जमा पछिल्ला वर्षमा विदेश अध्ययनप्रतिको आकर्षण पनि तीव्र रूपमा बढेको छ । विशेषगरी अष्ट्रेलिया, क्यानडा, जापान, बेलायत तथा अमेरिका जाने विद्यार्थीमध्ये धेरैले +२ तहमा व्यवस्थापन अध्ययन गरेका हुन्छन् । अंग्रेजी भाषामा सहजता, व्यवसाय तथा अर्थतन्त्रको आधारभूत ज्ञान, प्रस्तुतीकरण सीप तथा कम्प्युटर ज्ञानले विदेश अध्ययनमा सहयोग पुग्ने शैक्षिक परामर्शदाताहरू बताउँछन् ।
एसईईको नतिजा सार्वजनिक भएसँगै अहिले वीरगञ्जका कलेजहरूमा भर्ना अभियान तीव्र बनेको छ । सामाजिक सञ्जाल, होर्डिङ बोर्ड, छात्रवृत्ति योजना तथा प्रवेश परीक्षामार्फत विद्यार्थी आकर्षित गर्ने प्रतिस्पर्धा देखिन्छ । वीरगञ्जमा व्यवस्थापन अध्ययनका लागि चर्चामा रहेका कलेजहरूमध्ये वीरगञ्ज पब्लिक कलेज, वीरगञ्ज कलेज, ग्लोबल बिजनेश कलेज, एपेक्स मेनेजेमन्ट कलेज, सेन्ट जेभियर्स कलेज अफ साइन्स एण्ड मेनेजेमन्ट, सिद्धार्थ कलेज प्रमुख मानिन्छन् ।
यी संस्थाहरूले व्यवस्थापन शिक्षासँगै कम्प्युटर शिक्षा, प्रस्तुतीकरण कला, नेतृत्व विकास तथा व्यवहारिक शिक्षामा जोड दिने दाबी गरेका छन् । कतिपय कलेजहरूले छात्रवृत्ति परीक्षा, जीपीए आधारित छूट तथा अतिरिक्त कक्षामार्फत विद्यार्थी आकर्षित गर्ने प्रयास गरिरहेका छन् ।
शिक्षकहरूका अनुसार अहिले विद्यार्थी र अभिभावक केवल नाम चलेको कलेजभन्दा पनि शैक्षिक वातावरण, अनुभवी शिक्षक, अतिरिक्त कक्षा, कम्प्युटर तथा प्रस्तुतीकरण सीप, शुल्क संरचना, नतिजा र अनुशासनजस्ता पक्षलाई आधार बनाएर कलेज छनोट गर्न थालेका छन् ।
यद्यपि व्यवस्थापन शिक्षा लोकप्रिय बन्दै गए पनि केही चुनौती अझै देखिन्छन् । व्यवहारिक शिक्षाको अभाव, अनुभवी शिक्षकको कमी, अत्यधिक व्यवसायीकरण, विज्ञापनमुखी प्रतिस्पर्धा तथा कमजोर करिअर परामर्शजस्ता समस्या अझै कायम रहेको अभिभावकहरूको गुनासो छ । कतिपय कलेजले केवल भर्ना संख्या बढाउने उद्देश्यमा ध्यान दिने तर गुणस्तरीय शिक्षामा अपेक्षित सुधार गर्न नसकेको आरोप पनि लाग्ने गरेको छ ।
शिक्षाविद्हरूका अनुसार अहिलेको व्यवस्थापन शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुन हुँदैन । बजारले व्यवहारिक सीप भएका विद्यार्थी खोजिरहेको छ । त्यसैले कलेजहरूले सार्वजनिक प्रस्तुतीकरण, डिजिटल सीप, नेतृत्व विकास, उद्यमशीलता, व्यवसाय योजना निर्माण, इन्टर्नसिप तथा वित्तीय साक्षरताजस्ता पक्षमा पनि ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । वीरगञ्जमा उद्योग तथा व्यापारिक वातावरण भएकाले यहाँका कलेजहरूले उद्योग भ्रमण, बैंकिङ अवलोकन तथा व्यवसायिक प्रशिक्षणलाई पाठ्यक्रमसँग जोड्न सके व्यवस्थापन शिक्षा अझ प्रभावकारी बन्न सक्ने जानकारहरूको भनाइ छ ।
वीरगञ्ज व्यापारिक शहर भएकाले यहाँ व्यवस्थापन शिक्षा उद्यमशीलतासँग प्रत्यक्ष जोडिन सक्छ । अहिले धेरै युवाले आफ्नै व्यवसाय सुरु गर्ने सोच बनाउन थालेका छन् । विशेषगरी अनलाइन व्यवसाय, खुद्रा व्यापार, डिजिटल सेवा, होटल तथा रेस्टुरेन्ट, आयात–निर्यात तथा स्टार्टअप क्षेत्रमा युवा सक्रिय हुन थालेका छन् । व्यवस्थापन शिक्षाले यस्ता क्षेत्रमा आवश्यक आधारभूत ज्ञान दिने भएकाले यसको महत्व अझ बढेको उद्योगीहरूको भनाइ छ ।
शिक्षाविद्हरूका अनुसार यदि वीरगञ्जका कलेजहरूले आधुनिक व्यवस्थापन शिक्षा, डिजिटल सीप, उद्योगसँगको सहकार्य तथा व्यवहारिक प्रशिक्षणलाई प्राथमिकता दिन सके यो शहर व्यवस्थापन शिक्षाको राष्ट्रिय केन्द्र बन्न सक्ने सम्भावना छ । ‘नेपालको आर्थिक गतिविधिको केन्द्रका रूपमा रहेको वीरगञ्जमा व्यवस्थापन शिक्षाको बजार अझ फराकिलो बन्ने देखिन्छ । उद्योग, व्यापार, बैंकिङ तथा उद्यमशीलतासँग प्रत्यक्ष सम्बन्ध भएकाले यहाँ अध्ययन गर्ने विद्यार्थीले भविष्यमा अवसरको कमी नहुने अपेक्षा गरिएको छ,’ मिश्रको भनाइ छ ।
एसईईपछि विद्यार्थी जीवनको नयाँ यात्रा शुरु हुन्छ । यही मोडमा धेरै विद्यार्थीले आफ्नो भविष्यको आधार तय गरिरहेका हुन्छन् । वीरगञ्जजस्तो औद्योगिक तथा व्यापारिक शहरमा व्यवस्थापन शिक्षा केवल शैक्षिक विकल्पमात्र नभई आर्थिक, व्यावसायिक तथा उद्यमशील भविष्य निर्माणको माध्यम बन्दै गएको देखिन्छ । आकर्षक विज्ञापन वा भीडको प्रभावमा होइन, विद्यार्थीको रुचि, क्षमता, लक्ष्य तथा गुणस्तरीय शैक्षिक वातावरणलाई आधार बनाएर कलेज छनोट गर्नु आवश्यक रहेको शिक्षाविद्हरूको सुझाव छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३ ११:३३