आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल तोकिएकै मितिमा हुने निश्चित भएको छ। फागुन ३ गते (फेब्रुअरी १५) श्रीलंकाको कोलम्बोमा हुने खेल पाकिस्तान सरकारको स्वीकृतिपछि यथावत् रूपमा सम्पन्न हुने भएको हो।
आइतबार लाहोरमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी), पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)बीच भएको त्रिपक्षीय बैठकपछि उत्पन्न अनिश्चितता हटेको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतविरुद्ध खेल्न पाकिस्तानी टोलीलाई अनुमति दिएका हुन्।
पीसीबीका प्रवक्ता आमिर मीरका अनुसार, “आईसीसीको विज्ञप्तिपछि प्रधानमन्त्री शहबाज शरीफले फेब्रुअरी १५ मा भारतविरुद्धको खेल खेल्न निर्देशन दिनुभएको छ।” यसअघि पीसीबी अध्यक्ष मोसिन नक्वीले प्रधानमन्त्रीसँग भेट गरी विषयमा छलफल गरेका थिए।
प्रधानमन्त्री शरीफले यस निर्णयबारे श्रीलंकाका राष्ट्रपति अनुर कुमार दिसानायकेलाई पनि जानकारी गराएका छन्। स्मरणीय छ, श्रीलंका क्रिकेट (एसएलसी) ले भारतविरुद्धको खेल बहिष्कार नगर्न पीसीबीलाई आग्रह गर्दै बहिष्कार भएमा ठूलो आर्थिक क्षति हुने चेतावनी दिएको थियो। साथै, सुरक्षा चुनौतीका कारण पाकिस्तान अन्तर्राष्ट्रिय क्रिकेटबाट अलगिएको समयमा श्रीलंकाले दिएको सहयोगको पनि स्मरण गराएको थियो।
बंगलादेशमाथि कारबाही नहुने
यसैबीच, आईसीसीले भारतमा खेल्न अस्वीकार गरेको विषयलाई लिएर बंगलादेश क्रिकेट बोर्डमाथि कुनै पनि आर्थिक, खेलकुद वा प्रशासनिक प्रतिबन्ध नलगाउने निर्णय गरेको छ। उक्त प्रतियोगितामा बंगलादेशको स्थान स्कटल्यान्डले लिएको थियो।
बीसीबी अध्यक्ष अमिनुल इस्लामले पाकिस्तानलाई भारतविरुद्धको खेल खेल्न आग्रह गर्दै सम्पूर्ण क्रिकेट जगत्को हितका लागि सहभागिता जनाउन अनुरोध गरेका थिए। आईसीसीले बंगलादेशलाई विवाद समाधान समिति (डीआरसी) मा जाने अधिकार सुरक्षित रहेको पनि स्पष्ट पारेको छ।
आईसीसीका अनुसार, बंगलादेशले सन् २०३१ को पुरुष क्रिकेट विश्वकपअघि एउटा आईसीसी प्रतियोगिता आयोजना गर्ने अवसर पाउनेछ। उक्त विश्वकप भारत र बंगलादेशको सह–आयोजनामा हुने तय भइसकेको छ।
यससँगै राजनीतिक र कूटनीतिक अन्योलका बीच पनि भारत–पाकिस्तानबीचको महामुकाबला तोकिएकै तालिकाअनुसार हुने निश्चित भएको छ।