मध्यक्रमको स्थिरता र धैर्यको प्रतीक आरिफ शेखले आइसिसी टी–२० विश्वकप २०२६ मा पहिलो पटक नेपाली टोलीको हिस्सा भएर आफ्नो उपयोगिता प्रमाणित गर्ने अवसर पाउने भएका छन्।
नेपाली एकदिवसीय टोलीमा निरन्तर अवसर पाएका आरिफ शेखले टी–२०मा आफ्नो स्थान बनाउन चुनौतीपूर्ण यात्रा तय गरेका छन्। “एकदिवसीय खेलाडीको ‘ट्याग’ तोड्न मैले टी–२०मा खेल शैली अनुकूलन गर्नुपर्यो,” आरिफले बताए। संकटमा विकेट टिकाउने क्षमताले उनलाई टोलीमा खोजिने पहिलो खेलाडी बनाएको छ।
अक्टोबर ४, १९९७ मा वीरगञ्जमा जन्मिएका आरिफले क्रिकेटको प्रारम्भिक अभ्यास घरपरिवारकै प्रेरणामा सुरु गरे। उनका भाइ आसिफसँगै क्रिकेट वातावरणमा हुर्कँदा दुवै दाजुभाइले राष्ट्रिय टोलीसम्मको यात्रा तय गरे।
आरिफले २०७१ सालमा क्षेत्र नं. २ वीरगञ्जका लागि ६ खेलमा २६२ रन र ११ विकेट लिएर राष्ट्रिय चर्चा पाएका थिए। त्यसपछि उनलाई राष्ट्रिय टोलीका तत्कालिन प्रशिक्षक पुबुदु दसानायकले राष्ट्रिय टोलीमा समावेश गरे। यु–१९ स्तरमा प्रभावशाली खेल प्रदर्शन गर्दै उनी मलेसिया र युएईमा राष्ट्रिय टोलीका अवसरमा परे।
टी–२० डेब्यू भने उनले २०१८ मा नेदरल्याण्ड्सविरुद्ध लर्ड्समा गरेका थिए। त्यसपछि नेपाल प्रिमियर लिग, विश्वकप छनोट र सुदूरपश्चिम रोयल्समा शानदार प्रदर्शन गर्दै आफूलाई टी–२०मा स्थिर खेलाडीको रूपमा प्रस्तुत गरे।
आरिफ शेखको खेल शैली संयमित र धैर्यवान रहेको छ। संकटमा रन बनाउने क्षमतासँगै मध्यम गति बलिङले उनलाई बहुप्रयोगी मध्यक्रम ब्याटर बनाएको छ। आइसिसी टी–२० विश्वकप २०२६मा पनि उनको भूमिका टोलीको सफलता सुनिश्चित गर्न निर्णायक बन्ने देखिन्छ।
वीरगञ्जका आरिफ र आसिफ शेख नेपाली क्रिकेट इतिहासमा टी–२० विश्वकपमा खेलेका पहिलो दाजुभाइ बन्ने छन्। त्यसैले यो विश्वकप आरिफका लागि व्यक्तिगत प्रदर्शन र टोलीका लागि योगदान दुवैको अवसर रहेको छ।