सरकारले खर्च कटौतीको नाममा सबै तहका सरकारी सूचना तथा विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने निर्णय गरेको भन्दै नेपाल पत्रकार महासंघले देशव्यापी दबाबमूलक अभियान सुरु गरेको छ ।
सोही अभियान अन्तर्गत पर्सा शाखाले वीरगञ्जको मुर्ली बगैचास्थित कार्यालयमा सप्ताहव्यापी हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । अभियानको पहिलो दिन जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूले हस्ताक्षर गर्दै सरकारी निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।
पत्रकार महासंघले उक्त निर्णयले निजी तथा स्वतन्त्र सञ्चारमाध्यमलाई कमजोर बनाउने, प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने तथा सञ्चार क्षेत्रमा असमानता सिर्जना गर्ने भन्दै आपत्ति जनाएको छ ।

अभियानमा सहभागी पत्रकारहरूले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र प्रेसको भूमिका महत्वपूर्ण भएकाले कुनै पनि प्रकारको विभेद स्वीकार्य नहुने उनीहरूको भनाइ छ ।
नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हुने कुनै पनि संकुचनविरुद्ध सबै पत्रकार, सञ्चारकर्मी तथा नागरिकलाई अभियानमा सहभागी हुन आग्रह गरेको छ ।
-1779370643.jpeg)
कार्यक्रम नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, पूर्व अध्यक्ष अनुप तिवारी, प्रेस सेन्टर मधेस प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन नेपाल पर्सा अध्यक्ष शम्भु कुमार सुमन लगायतको उपस्थिति रहेको थियो ।
महासंघले हस्ताक्षर अभियान केही दिनसम्म जारी रहने र संकलित हस्ताक्षर सरकारलाई बुझाइने जनाएको छ ।