पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका तर्फबाट उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज महानगरपालिका वडा नम्बर–२० अपौनी र हारपतगञ्ज क्षेत्रमा भेटघाट, संवाद, घरदैलो तथा कोणसभा कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले मधेस आन्दोलन र जेन्जि आन्दोलनका क्रममा निर्दोष युवाहरूको हत्या भएको स्मरण गर्दै त्यसका लागि नेपाली कांग्रेस, नेकपा एमालेलगायत ठूला दलहरू जिम्मेवार रहेको आरोप लगाए। उनले ती दलहरूले वीरगन्ज र पर्साको समग्र विकासप्रति सधैँ बेइमानी गर्दै आएको र वीरगन्जलाई केवल राजस्व असुल्ने साधनका रूपमा मात्र प्रयोग गरेको बताए।
सरार्फले वीरगन्जप्रति गरिएको विभेदको अन्त्य गर्दै यहाँका नागरिकलाई न्याय दिलाउन आफू निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले देश र मधेसको राजनीतिक, सामाजिक तथा आर्थिक निकासका लागि स्पष्ट र उत्कृष्ट दृष्टिकोण (भिजन) जनमत पार्टी र पार्टी अध्यक्ष डा. सिके राउतसँग मात्र रहेको दाबी गरे।
आगामी निर्वाचनमा परिवर्तनका लागि हर्न छापमा मतदान गर्न उनले आम मतदातासमक्ष अपिल गरे।
कार्यक्रममा जनमत पार्टीका नेताहरू विध्या गुप्ता, रम्भा मिश्र, भुपेन्द्र साह, डा. मनोज कुमार, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मञ्जय शर्मा, सुमित सिंह, अञ्जना गुप्ता, बबिता पुडासैनी, नरेश राम, सत्युग साहलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।