परराष्ट्र मन्त्रालयले इरानमा रहेका तथा इरान भ्रमणको योजना बनाइरहेका नेपाली नागरिकहरूका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ।
आइतबार जारी गरिएको विज्ञप्तिमा पछिल्लो विकसित घटनाक्रमलाई मध्यनजर गर्दै अवस्था सामान्य नहुँदासम्म इरान जाने कुनै पनि योजना नबनाउन मन्त्रालयले अनुरोध गरेको छ। साथै काम, बसोबास वा अन्य प्रयोजनका लागि हाल इरानमा रहेका नेपाली नागरिकहरूलाई सकेसम्म चाँडो सुरक्षित रूपमा स्वदेश फर्किन पनि आग्रह गरिएको छ।
ट्राभल एड्भाइजरीमा भनिएको छ, “पछिल्लो घटनाक्रमलाई मध्यनजरमा राख्दै अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इरान भ्रमण नगर्न अनुरोध गरिन्छ। साथै त्यहाँ बसोबास गर्दै आएका वा कामको सिलसिलामा रहेका नेपाली नागरिकहरूलाई पनि यथाशक्य चाँडो इरान छाड्न सुझाव दिइन्छ।”
त्यसैगरी इरानमा रहेका नेपाली नागरिकहरूलाई कुनै पनि समयमा आपतकालीन रूपमा देश छाड्नुपर्ने अवस्था आउन सक्ने भएकाले राहदानी, परिचयपत्र लगायतका आवश्यक कागजातहरू तयारी अवस्थामा राख्न मन्त्रालयले आग्रह गरेको छ। आवश्यक समन्वयका लागि दोहास्थित नेपाली दूतावास तथा काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
इरानमा डिसेम्बर २८ देखि बढ्दो महँगी, मुद्रास्फीति तथा सरकारको आर्थिक नीतिको विरोधमा प्रदर्शन हुँदै आएको छ। प्रदर्शनका क्रममा धेरै मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाए पनि इरान सरकारले मृतकको आधिकारिक संख्या सार्वजनिक गरेको छैन।
सुरूमा इरानी मुद्राको अवमूल्यन र महँगीविरुद्ध शुरू भएको प्रदर्शन क्रमशः सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको राजीनामाको मागसम्म पुगेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार यसमा अमेरिकाको भूमिकाबारे पनि चर्चा भइरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शन सुरू भएपछि आफू प्रदर्शनकारीको पक्षमा रहेको बताउँदै उनीहरूमाथि गोली चलाइए अमेरिकाले हस्तक्षेप गर्न सक्ने चेतावनी दिएका थिए। यसले प्रदर्शनलाई थप चर्काएको भन्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।
यता इरान सरकारले उक्त विषय आफ्नो आन्तरिक मामिला भएको बताउँदै बाह्य हस्तक्षेप नगर्न चेतावनी दिएको छ। सर्वोच्च नेता खामेनीले हिंसात्मक प्रदर्शनकारीलाई ‘आतंककारी’को संज्ञा दिँदै परिस्थितिलाई नियन्त्रणमा लिन आवश्यक कदम चालिने बताएका छन्।