पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले शहीद दिवसको अवसरमा मधेस आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
शुक्रबार वीरगञ्जको घण्टाघरस्थित मधेसी शहीद स्मारक पार्कमा आयोजित कार्यक्रममा उम्मेदवार कानुले मधेस आन्दोलनका शहीद धर्मराज सिंह, दिलीप चौरसिया, शोहन साह कलवार, भोलाप्रसाद तेली, दिनानाथ साह गोढ, शत्रुधन पटेल र आशीष रामको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
श्रद्धाञ्जली कार्यक्रममा बोल्दै कानुले शहीद दिवसको अवसरमा समेत मधेस केन्द्रित दलहरूको पर्याप्त चासो नदेखिएको टिप्पणी गर्दै मधेस आन्दोलनका शहीदहरूले मधेसी समुदायका लागि गरेको बलिदान आफ्नो मन–मस्तिष्कमा सधैं ताजा रहेको बताए। उनले भने, “यी शहीदहरूले मधेसीका अधिकार, पहिचान र सम्मानका लागि ज्यानको आहुति दिएका हुन्, त्यसैले म आज यहाँ आएर उनीहरूलाई श्रद्धाञ्जली अर्पण गर्न आएको हुँ।”
कानुले विगतका हरेक मधेस आन्दोलनमा आफ्नो सक्रिय सहभागिता रहेको स्मरण गर्दै मधेस आन्दोलनका शहीदहरूको बलिदानकै कारण आज मधेसी समुदायले अपमान र विभेदको सट्टा पहिचान र सम्मान प्राप्त गरेको उल्लेख गरे। “यी शहीदहरूलाई म कहिल्यै बिर्सिन सक्दिन, उनीहरूले देखाएको बाटोमा हिँड्ने प्रयास सधैं गर्नेछु,” उनले भने।
यस अवसरमा कानुले मुलुकमा भएका हरेक राजनीतिक परिवर्तन, आन्दोलन र विद्रोहका क्रममा ज्यानको आहुति दिएका सम्पूर्ण शहीदहरूप्रति पनि श्रद्धाञ्जली व्यक्त गरेका छन्।