बाराको परवानीपुर गाउँपालिकामा आमा–छोराको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
बुधबार बिहान करिब २ बजेअघि परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडी टोलमा ५२ वर्षीया सुमित्रा देवी र उनका ३२ वर्षीय छोरा रामेश्वर मण्डलको धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनामा धर्मेन्द्र महतो नाम गरेका एक पुरुषलाई पक्राउ गरिएको बारा प्रहरी प्रमुख (एसपी) नरेन्द्र कुँवरले जानकारी दिए।
घटनामा उनको संलग्नता देखिएकाले पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान थालिएको एसपी कुँवरले बताए।
यसअघि प्रहरीले मृतक रामेश्वरकी श्रीमती तथा सुमित्राकी बुहारी २८ वर्षीया मनिता देवीलाई पनि पक्राउ गरिसकेको छ।
प्रहरीका अनुसार गएराति एक व्यक्ति घरभित्र पसेर अन्धाधुन्ध रूपमा धारिलो हतियार प्रहार गरेका थिए। घटना हुँदा सुमित्राको घरमा कुल ८ जना परिवारका सदस्य रहेका थिए।
घटनामा सुमित्राका श्रीमान जगरूक मण्डल, छोरी किरणदेवी र बुहारी मनिता देवी घाइते भएका छन्। तीमध्ये जगरूकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको परवानीपुरकै एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार मनिता देवी राति शौचालय जान निस्कँदा सुमित्रा देवी पनि सँगै बाहिर निस्किएकी थिइन्। सोही क्रममा सुमित्राको घरबाहिर शौचालय नजिकै हत्या भएको र उनको शव त्यहीँ भेटिएको प्रहरीले जनाएको छ।
रामेश्वर मण्डलको शव भने घरभित्र फेला परेको थियो। घटनामा मनिता देवी सामान्य घाइते रहेको र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।