आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी सरगर्मी तीव्र बनेको छ। यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि कूल ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये १८ जना विभिन्न राजनीतिक दलका उम्मेदवार छन् भने बाँकी स्वतन्त्र उम्मेदवार रहेका छन्।
जेन–जी विद्रोहपछि बदलिएको राजनीतिक परिवेश र ताजा जनमतको खोजीबीच हुन लागेको यस निर्वाचनमा पर्सा–२ मा पुराना अनुभवी नेता र नयाँ अनुहारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।
नेपाली कांग्रेसले यस क्षेत्रबाट पुनः प्रभावशाली नेता तथा पूर्वमन्त्री अजयकुमार चौरसियालाई उम्मेदवार बनाएको छ। निवर्तमान सांसदसमेत रहेका चौरसिया २०७९ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । विरासत जोगाउने चुनौतीसहित उनी अहिले घरदैलो अभियानमा सक्रिय छन् ।
यता जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थापित उद्योगपति अशोक टेमानीलाई उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धालाई विकास र व्यावसायिक एजेन्डातर्फ केन्द्रित गर्ने प्रयास गरेको छ। टेमानीको उम्मेदवारीले चुनावी समीकरणलाई थप रोचक बनाउने आँकलन गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुशील कुमार कानुलाई मैदानमा उतारेको छ। २०७९ को स्थानीय तह निर्वाचनमा जसपाबाट वीरगञ्ज महानगरपालिका–१० का वडाध्यक्षमा निर्वाचित कानुले यसपटक रास्वपामार्फत युवा र परिवर्तनको एजेन्डा अघि सारेका छन्। त्यस्तै नेकपाले पर्सा क्षेत्र नम्बर–२ बाट मनोज चौधरीलाई उम्मेदवार बनाएकाे छ ।
त्यसैगरी नेकपा एमालेले रिमा यादवलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पूर्वसांसद विना कुमारी जैसवाल प्रतिस्पर्धामा हुनुहुन्छ। पर्सा क्षेत्र नम्बर–१ मा महिला उम्मेदवार शून्य रहेको अवस्थामा क्षेत्र नम्बर–२ मा भने एमाले र राप्रपाले महिला नेतृत्वलाई अघि सारेर समावेशी प्रतिस्पर्धाको सन्देश दिएका छन्।
अनुभवी नेताको अनुभव र नयाँ शक्तिको उत्साहबीच पर्सा–२ का मतदाता कसको पक्षमा उभिन्छन् भन्ने विषय चासोका साथ हेरिएको छ। विशेषगरी जेन–जी विद्रोहपछिको जनमत र युवा मतदाताको झुकाव नै यस क्षेत्रको अन्तिम नतिजा निर्धारण गर्ने निर्णायक कारक बन्ने देखिन्छ।