छिमेकी मुलुक भारतले आज (सोमबार) ७७ औं गणतन्त्र दिवस भव्य रूपमा मनाउँदै छ । सन् १९५० जनवरी २६ का दिन भारतमा संविधान लागू भएको स्मरणमा प्रत्येक वर्ष यो दिवस मनाइन्छ ।
गणतन्त्र दिवस समारोहका अवसरमा भारतले आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य शक्ति प्रदर्शन गर्दै आएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार आज आयोजना हुने परेडमा हालै गठन भएका सैन्य इकाइहरूका साथै ‘अपरेशन सिन्दुर’ का क्रममा प्रयोग तथा तैनाथ गरिएका प्रमुख हतियार प्रणालीहरूको मोडल पनि प्रदर्शन गरिनेछ ।
यस वर्षको गणतन्त्र दिवस समारोहमा युरोपियन काउन्सिलका अध्यक्ष एन्टोनियो लुईस सान्तोस दा कोस्टा र युरोपियन कमिसनकी अध्यक्ष उर्सुला वान डेर लेयेन प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।
समारोहको औपचारिक अगुवाइ भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले गर्ने बताइएको छ । कार्यक्रम भारतीय समयअनुसार बिहान साढे १० बजे सुरु भई करिब ९० मिनेटसम्म सञ्चालन हुने छ ।
परेड सुरु हुनुअघि करिब १०० जना सांस्कृतिक कलाकारले ‘विविधतामा एकता’ विषयवस्तुमा आधारित सांस्कृतिक प्रस्तुति दिने बीबीसी हिन्दी अनलाइन संस्करणले जनाएको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७७ औं गणतन्त्र दिवसका अवसरमा सामाजिक सञ्जाल एक्समार्फत देशवासीलाई शुभकामना दिएका छन् ।
उनले लेखेका छन्, “भारतको आन, बान र शानको प्रतीक यो राष्ट्रिय महापर्वले तपाईं सबैको जीवनमा नयाँ ऊर्जा र उत्साहको सञ्चार गरोस् । विकसित भारतको संकल्प अझ सुदृढ बनोस्, यही कामना छ ।”