सुदिपराज पाठक
प्रहरी उपरिक्षक, पर्सा तथ्यमा आधारित सूचना प्रवाह जरुरी
पर्सा जिल्ला विविध धर्म, समुदाय र सांस्कृतिक परम्पराको संगमस्थलको रूपमा परिचित छ । यस्तो सामाजिक संरचनामा स्थायी सामाजिक स्थिरता र न्यायपूर्ण सार्वजनिक सुरक्षित वातावरण निर्माणका लागि धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्नु आधारभूत पूर्वशर्त हो । यसका लागि प्रथमतः संवादमा आधारित सहकार्यले धार्मिक संस्था, स्थानीय अगुवा तथा समुदायसँग नियमित समन्वय र परामर्श प्रक्रियाले सम्भावित गलत बुझाइ वा द्वन्द्वको जोखिम पहिचान र न्यूनीकरण गर्न मद्दत पु¥याउँछ । संवाद संयन्त्र सुदृढ हुनु सामाजिक विश्वास निर्माणका लागि आवश्यक आधार हो । दोस्रो, सूचना प्रवाहको पारदर्शिता र भ्रामक सामग्रीको नियन्त्रण आवश्यक छ । डिजिटल प्रविधिको तीव्र विस्तारसँगै असत्य सूचना वा अफवाहका कारण साम्प्रदायिक संवेदनशीलता बढ्ने सम्भावना देखिन्छ । यस दृष्टिले तथ्यमा आधारित सूचना प्रवाह, सचेतना सन्देश तथा प्रचलित कानूनी प्रावधानअनुसार नियमनात्मक कदम प्रवर्तन गर्न अपरिहार्य मानिन्छ । कानुनी प्रक्रियामा निष्पक्षता र समान व्यवहार उत्तिकै महत्वपूर्ण पक्ष हो । संवेदनशील विषयमा सकारात्मक कानूनी हस्तक्षेप आवश्यक हुन्छ । यो निष्पक्ष, शीघ्र र प्रमाण–आधारित हुनु पर्छ । यस्तो व्यवहारले समुदायमा विश्वास र सुरक्षावोध अभिवृद्धि गर्दछ । जसले दीर्घकालीन सामाजिक सद्भावलाई सुदृढ बनाउँछ । त्यस्तै, समुदाय–प्रहरी सहकार्य चाहिन्छ । धार्मिक पर्व, सांस्कृतिक कार्यक्रम, जुलुश तथा विशेष अवसरहरूको व्यवस्थापनमा समुदायको सक्रिय सहभागिता र प्रहरीको संस्थागत समन्वय महत्वपूर्ण रहन्छ । सहकार्यको यो ढाँचा सुरक्षात्मक तयारी, जोखिम पूर्वानुमान तथा संवेदनशील परिस्थितिको स्थापनमा प्रभावकारी देखिन्छ । धार्मिक साम्प्रदायिक सद्भावका लागि निरन्तर संवाद, कानूनी सरोकार, पारदर्शी सूचना व्यवस्थापन र सहकार्यकेन्द्रित सुरक्षात्मक संरचनाद्वारा हासिल हुने सामाजिक सम्पत्ति हो । यसको संरक्षण र प्रवद्र्धनमा प्रहरी प्रशासनले आफ्नो संवैधानिक तथा संस्थागत दायित्वअनुरूप निरन्तर योगदान दिइरहेको छ ।
तबरेज अहमद
नेता जसपा, नेपाल
दीर्घकालीन सद्भावको लागि साझा उत्तरदायित्व
धार्मिक साम्प्रदायिक सद्भाव कायम राख्न विशेषगरी नेपालका बहुसांस्कृतिक र बहुधार्मिक शहरहको सामाजिक यथार्थलाई ध्यानमा राखेर संवेदनशील प्रयास आवश्यक हुन्छ । वीरगञ्ज ऐतिहासिक रूपमा हिन्दू, मुस्लिम, बौद्ध, सिखलगायत विभिन्न धर्मावलम्बीहरू मिलेर बसोबास गरेको व्यापारिक र सांस्कृतिक केन्द्र हो, जहाँ आपसी निर्भरता, साझा जीवनशैली र पारस्परिक सम्मानले सद्भावको आधार तयार गरेको छ । यस्तो सन्दर्भमा सबैभन्दा पहिला आपसी सम्मान र सहिष्णुताको संस्कार बलियो बनाउनु जरुरी हुन्छ । प्रत्येक धर्म, संस्कार र परम्पराको आफ्नै मूल्य र महत्व हुन्छ भन्ने बुझाइ समाजका सबै तहमा फैलिनु पर्छ । विद्यालय, मदरसा, गुरुकुल तथा अन्य शैक्षिक संस्थाहरूमा नैतिक शिक्षा, सहअस्तित्व र नागरिक चेतनाको पाठ समावेश गरेर बालबालिकादेखि नै सद्भावको भावना विकास गर्न सकिन्छ । धार्मिक पर्व, जुलुस र सांस्कृतिक कार्यक्रमहरूको व्यवस्थापन आपसी सहकार्य र संवादमार्फत हुनु पर्छ । वीरगञ्जमा विभिन्न धार्मिक पर्वहरू नजिकनजिक पर्ने भएकाले समय, स्थान र ध्वनि व्यवस्थापनमा स्थानीय प्रशासन, धार्मिक अगुवा र समुदायबीच समन्वय आवश्यक हुन्छ । जसले अनावश्यक तनावलाई रोक्न मद्दत गर्छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालको जिम्मेवार प्रयोग पनि अत्यन्त महत्वपूर्ण छ, किनकि अफवाह, घृणात्मक अभिव्यक्ति र भ्रामक सूचना छिटो फैलिन सक्छन् । यस्ता सामग्रीलाई नियन्त्रण गर्न कानूनी संयन्त्रसँगै समुदायस्तरको सचेतना अभियान सञ्चालन गर्नु आवश्यक हुन्छ । सामाजिक संवाद र सहभागितामूलक कार्यक्रमहरू अन्तरधार्मिक छलफल, युवा तथा महिला समूहको संयुक्त पहल र सामुदायिक सेवा कार्यले आपसी विश्वास बढाउँछन् । वीरगञ्जजस्तो व्यापारिक शहरमा आर्थिक सहकार्य र साझा विकासका अवसरहरू सिर्जना गर्दा समुदायबीचको दूरी घट्छ र साझा हितको भावना बलियो हुन्छ । कुनै विवाद वा घटना उत्पन्न भएमा त्यसलाई तत्काल राजनीतिकरण वा धार्मिक रंग नदिई स्थानीय तहमा नै संवाद र मेलमिलापबाट समाधान गर्ने संस्कार विकास गर्नु पर्छ । कानूनको निष्पक्ष कार्यान्वयन, मानव अधिकारको सम्मान र सबै नागरिकलाई समान व्यवहार गर्ने राज्यको प्रतिबद्धताले धार्मिक साम्प्रदायिक सद्भावलाई दिगो बनाउँछ । सहिष्णुता, संवाद र साझा उत्तरदायित्वका माध्यमबाट दीर्घकालीन सद्भाव कायम राख्न सकिन्छ ।
हरि पन्त (अध्यक्ष)
रास्वपा, पर्सा
विद्यालयस्तरमै सदभाव शिक्षा जरुरी
धार्मिक र साम्प्रदायिक सद्धभाव कायम राख्न सर्वप्रथम त एक अर्काको धर्मप्रति सम्मानको भाव राख्नु पर्छ । समाजका धार्मिक सदभावना भड्काउने गलत तत्वहरूको पहिचान गरी कानूनको घेरामा ल्याउनु पर्छ । आफ्नो धर्मको विषयमा कहीँकतै बोलिरहँदा अरूको धर्मको अपमान गर्नु हुन्न । धार्मिक द्वन्द अत्यन्तै संवेदनशील सामाजिक विषय भएकोले यसलाई भड्किन नदिन विद्यालयस्तरमै सामाजिक सदभाव शिक्षा भनेर छुट्टै विषयको अध्ययन र अध्यापन र गराइनु पर्छ ।
रविन्द्र श्रेष्ठ (अध्यक्ष)
वीरगञ्ज जेसीज सम्मान नै धार्मिक सद्भावको आधार
धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सर्वप्रथम धार्मिक सम्प्रदाय के हो भन्ने कुरा बुझ्न आवश्यक छ । धार्मिक सम्प्रदाय त्यो हो जसले विभिन्न धर्म, संस्कृति र परम्पराहरूको माध्यमबाट सामाजिक सद्भाव, सम्मान र मेलमिलापको भावना सिर्जना गर्दछ । प्राचीनकालदेखि नै नेपालमा विभिन्न जातजाती, धर्म, संस्कृती र परम्पराहरू कायम रहँदै आएको छ । नेपालको इतिहास र वर्तमान अवस्था तथा व्यस्ततालाई मध्यनजर गर्दै सामाजिक शिक्षा, बाल मनोविज्ञान, एकअर्काप्रति आदर, सद्भाव, सम्मान र मेलमिलापको भावनाप्रति ध्यान दिन आवश्यक छ । यसको अभावमा भित्री मनमा नकारात्मक भावना जन्मिन सक्ने भएकाले सकारात्मक भावना विकास गर्न आवश्यक छ । हालको अवस्थामा सामाजिक सञ्जाल र विद्युतीय उपकरणहरुको दुरुपयोग, गलत सूचना, अफवाहजस्ता कुराहरुले समाजमा द्वन्द्व र विभाजन ल्याइरहेका छन् । तसर्थ, यस्ता गैरजिम्मेवार गतिविधिहरुबाट टाढा रहनु आवश्यक छ र यस्ता कुरालाई रोक्न जरुरी छ । परिवारमा सद्भाव, एकअर्कालाई सम्मान गर्ने, मित्रता र सहयोगको भावना विकास गर्नका लागि बालमनोविज्ञानलाई बुझेर बालबालिकादेखि नै सकारात्मक परिवर्तनको भावना जागरूक गर्न व्यवहारिक रुपमा लागु गर्न आवश्यक छ । एकअर्कालाई सम्मान गर्ने र सबै धर्म र परम्पराप्रति सम्मान देखाउनु नै धार्मिक सद्भावको आधार हो । गलत सूचना, भ्रम, अफवाहजस्ता कुराहरूबाट सचेत रही मानिसहरुलाई सही जानकारी र शिक्षाले प्रभावित गर्नुपर्छ र सकारात्मक सोच विकास गर्नुपर्छ । सहकार्य, मेलमिलाप र समन्वयको भावना विकास गरी समाजमा शान्ति र स्थिरता ल्याउन सबै मिलेर प्रेम र सद्भावको वातावरण सिर्जना गर्दा नै धार्मिक र सामाजिक सद्भाव कायम राख्न सकिन्छ ।
सरिता रम्तेल सिंह
स्थानीय, वीरगञ्ज
सहअस्तित्वको भावना विकास गर्नु पर्दछ
धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न समाजका सबै तहका व्यक्तिहरूले सचेत र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ । सबैभन्दा पहिले, एकअर्काको धर्म, संस्कार र विश्वासप्रति सम्मान जनाउनु अनिवार्य छ । आफ्नै धर्मप्रति आस्था राख्नु स्वाभाविक हो, तर अरूको धर्मलाई अपहेलित गर्ने, होच्याउने वा गलत ढंगले चित्रण गर्ने कार्यले द्वन्द्व सिर्जना गर्छ । त्यसैले यस्तो व्यवहारबाट टाढा रहनु पर्छ । समाजमा संवाद र सहअस्तित्वको भावना विकास गर्नु अत्यन्त महत्वपूर्ण छ । विभिन्न धर्म र संस्कृतिका मानिसहरूबीच नियमित संवाद, सांस्कृतिक आदानप्रदान र सामूहिक कार्यक्रममा सहभागिताले आपसी बुझाइ बढाउँछ । यसले गलत धारणाहरू हटाउन मद्दत पु¥याउँछ र सहिष्णु वातावरण सिर्जना गर्छ । शिक्षाको भूमिका पनि यस विषयमा महत्वपूर्ण छ । विद्यालय र समुदायमा सहिष्णुता र एकतासम्बन्धी शिक्षा दिनु पर्छ । यसले बाल्यकालदेखि नै सद्भावको भावना विकास गर्छ । बालबालिकामा यस्तो चेतना जागृत हुँदा भविष्यमा समाजमा आपसी सम्मान र सौहार्द कायम रहन्छ । कानून र राज्यको भूमिका पनि उतिकै महत्वपूर्ण छ । धार्मिक घृणा फैलाउने गतिविधिलाई रोक्न कडा कानूनी व्यवस्था लागू गर्नुपर्छ । मानवता धर्मभन्दा माथि रहने विश्वास आत्मसात गर्न सके धार्मिक साम्प्रदायिक सद्भाव दिगो रूपमा कायम रहन्छ । एकअर्कालाई प्रतिस्पर्धी होइन, सहयात्रीका रूपमा हेर्नु नै शान्त र समृद्ध समाजको आधार हो ।