वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र केही मासु पसलहरूले बाख्राको मासुलाई खसी वा बोकाको मासु भनी झुक्याएर बिक्री गरेको पाइएपछि वीरगञ्ज महानगरपालिका ले कडा कदम चालेको छ।
उपभोक्ताबाट प्राप्त जनगुनासोका आधारमा महानगरपालिकाको पशु सेवा शाखाले सूचना जारी गर्दै यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। महानगरले सबै मासु व्यवसायी तथा विक्रेतालाई पारदर्शिता कायम गर्न कडा निर्देशन दिएको छ।
महानगरद्वारा जारी सूचनामा बिक्री गरिने मासुको सही पहिचान स्पष्ट रूपमा खुलाउनुपर्ने, कुनै पनि किसिमको गलत सूचना वा भ्रामक प्रचार नगर्नुपर्ने तथा मिसावटजन्य गतिविधि पूर्ण रूपमा रोक्नुपर्ने उल्लेख छ।
त्यस्तै, उपभोक्ताको अधिकार संरक्षण र खाद्य स्वच्छता कायम गर्नु व्यवसायीहरूको अनिवार्य दायित्व भएको स्मरण गराउँदै व्यापारिक आचारसंहिताको पालना गर्न आग्रह गरिएको छ।
महानगरपालिकाले सूचनाको उल्लंघन गरी गैरकानुनी कार्य गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।
पशु चिकित्सक डा. सुदिपकुमार शर्माद्वारा हस्ताक्षरित उक्त सूचनामा सबै सरोकारवालालाई निर्देशन पालना गर्न अनुरोध गरिएको छ।
यसैगरी, निगरानी प्रभावकारी बनाउन भेटेरिनरी अस्पताल, उद्योग वाणिज्य संघ, खाद्य तथा गुण नियन्त्रण शाखा र नगर प्रहरी इकाईलाई समेत जानकारी (बोधार्थ) पठाइएको महानगरले जनाएको छ।
